बालेनको देश दौडाहा : रास्वपाले राख्यो रविको पनि फोटो « Khabarhub

बालेनको देश दौडाहा : रास्वपाले राख्यो रविको पनि फोटो


१५ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वी नेपालको यात्रा सकेर यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह सुदूरपश्चिमको यात्रामा छन् ।

झापा क्षेत्र नम्बर ५ मा दुई दिन रहेपछि पहाडको यात्रा गरेका उनी तीन दिनअघि काठमाडौं ओर्लिएका थिए ।

आफू काठमाडौं आएपछि बालेन्द्रले रास्वपाका अन्य नेतालाई होइन, श्रीमती सविना काफ्लेलाई झापा ५ को घरदैलोमा पठाएका छन्।

उता आफू भने दुई दिनदेखि लुम्बिनी प्रदेश हुँदै सुदूरपश्चिमको यात्रामा छन् । अहिले उनी कैलालीबाट छिरेर पहाडी जिल्ला बझाङ-बाजुरा पुगेका छन् ।

उनको यात्राको बीचमा रास्वपा सभापति रवि लामिछाने भने गुमनाम जस्तै देखिए । ५ माघमा बालेन्द्रसँगै जनकपुरमा देखिएका उनी त्यसयता न चितवनमा देखिए न काठमाडौंकै सार्वजनिक कार्यक्रममा ।

अचानक मंगलबार उनी बिरामी परेको खबर आयो । खुट्टामा चोट लागेकाले उनी अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार रहेको खबर सचिवालयले सार्जनिक गर्‍यो ।

रवि गुमनाम रहेका बेला बालेन्द्र एक्लै देश दौडाहामा छन् । झापाबाट फर्किएर सुदूरपश्चिम निस्किनुअघि उनी पार्टी केन्द्रीय कार्यालय गएनन् । बरू आफ्ना सहयोगी कुमार बेनको ज्वागलस्थित घरलाई सम्पर्क स्थान तोकेर भेटघाट केन्द्र बनाए ।

त्यसपछि माघ १२ मा नेपालगञ्ज उत्रिएका उनी त्यहाँ हुँदै सुदूरपश्चिम छिरे । काठमाडौं महानगरपालिकामा हुँदाका सहयोगी र नेकपा एमालेको अनेरास्ववियुको अध्यक्षबाट हटाइएका सुजन कडारियाका भाइ सुशीललाई समेत साथमा लिएर उनी अहिले सुदूरपश्चिमको यात्रामा छन् ।

काठमाडौं महानगरमा हुँदा बिरलै सार्वजनिक स्थानमा देखिने उनी यतिबेला जिल्ला जिल्लामा सेलेब्रिटी बनेका छन् । बिरलै सार्वजनिक कार्यक्रममा जाने उनी जिल्ला जिल्ला पुग्न थालेपछि हेर्न आउनेको पनि भिड लाग्न थालेको छ।

जनकपुर पुग्दा सुरू भएको भिड अहिले हरेक जिल्लामा बाक्लो देखिन थालेको छ। रास्वपा कार्यकर्तासँगै उनलाई हेर्न आउने अन्य दलका कार्यकर्ता र सर्वसाधारणको संख्या पनि बाक्लो छ ।

उनी पनि सेलेब्रिटी शैलीमा कारको सनरुफबाट बाहिर निस्किएर हात हल्लाउँदै अभिवादन गरिरहेका देखिन्छन् । कतै सनरुफबाटै फ्लाइङ किससमेत दिन भ्याइरहेका छन् ।

देश दौडाहामा एक्लै निस्किएका उनका कार्यक्रमबारे रास्वपाले दिनदिनै जानकारी दिने गरेको छ। तर बुधबारसम्म उनको मात्रै तस्बिर राखेर कार्यक्रम तालिका दिने गरेको रास्वपाले बिहीबारदेखि रविको पनि तस्बिर जोड्न थालेको छ।

बालेनको एकल सक्रियताले रविलाई खतरा महसुस गराएको चर्चाबीच उनको सचिवालयले अब दुईजना शीर्ष नेताको तस्बिर राख्न थालेको हो ।

बिहीबार सार्वजनिक गरिएको बालेन्द्रको कार्यक्रम तालिकाको पोस्टरमा रविले अभिवादन गर्दै गरेको फोटो अगाडि राखिएको छ। त्यसपछि मात्रै बालेन्द्र पछि पछि हिँडिरहेको फोटो रास्वपाले उक्त पोस्टरमा राखिएको छ।

‘वरिष्ठ नेता बालेन्द्र साह (बालेन) जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ नाम दिएर रास्वपाले रविलाई प्राथमिकता दिँदै कार्यक्रम तालिकाको पोस्टर राखेको हो ।

रवि अस्पतालमा रहँदा बालेन बिहीबार बझाङ, बाजुरा हुँदै अछामको साँफेबगर र मंगलसेनको कार्यक्रममा सहभागी हुने तालिका रास्वपाले सार्वजनिक गरेको छ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  १ : ०३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित