बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका « Khabarhub

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५ गतेको बाढीले गोरखाको तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको स्थानमा स्थानीयको सक्रियतामा प्रभावित क्षेत्रमा पूर्वाधार निर्माणलगायतका कामबाट जनजीवन सामान्य बनाउने कार्य तीव्ररुपमा भइरहेको छ । 

 स्थानीयवासी र गाउँपालिकाको सक्रियतामा बाढी प्रभावित क्षेत्रमा अहिले पनि अस्थायी पुल निर्माण तथा बाटो मर्मतको काम भइरहेको छ । त्यस्तै स्थानीयकै सक्रियातामा १५ दिनदेखि बन्द रहेको चुम उपत्यका सडक आइतबारदेखि अस्थायी रुपमा खुलेको छ । 

स्यार खोलामा चारवटा काठे पुल निर्माण गरी चुम उपत्यकामा मानिस तथा खच्चड आवतजावत गर्न सक्ने बनाएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए। बाढीले चुमनुब्री गाउँपालिका–६ स्थित सर्दीभिरको क्यान्टिभर पुल बगाउँदा चुम उपत्यका आवतजावत ठप्प बनेको थियो । 

जिल्ला प्रशासन कार्यालय गोरखाबाट प्राप्त विवरणअनुसार बाढीले चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाको एकसय आठवटा घर–गोठमा क्षति पुगेको छ । यस्तै, छ वटा झोलुङ्गे पुल, दुईवटा मोटरेबल पुल, एउटा बेलिब्रिज, यारु र सर्दीमा रहेका दुईवटा क्यान्टिलिभर पुल बाढीले बगाएको प्रशासन कार्यालयको विवरणमा उल्लेख छ । घटनाको १६ दिन बित्दा प्रभावित क्षेत्रका बासिन्दा बाढीबाट सिर्जित घाउ निको पार्नमा चाडपर्व नभनी स्थानीय अहोरात्र खटिएका छन् ।

‘चुम उपत्यका जाने अर्को वैकल्पिक बाटो पनि थिएन त्यसैले स्थानीयहरुको सक्रियतामा बाढी गएको भोलिपल्टदेखि नै बाटो सफा गर्ने र काठेपुल बनाउने काम सुरु भएको थियो’, उनले भने, ‘लगातार १५ दिनसम्म स्थानीय बासिन्दा जुटेर स्यार खोलामा चारवटा काठे पुल बनाएपछि चुमउपत्यका जाने बाटो खुलेको हो ।’
 
गाउँपालिकाले सेना र गोरखा सडक आयोजनासँग समन्वय गरेर अवरुद्ध बेनिघाट–आरुघाट–लार्के सडक सञ्चालनमा ल्याउने कामसमेत गरिरहेको उनले बताएका छन् । बूढीगण्डकीको बाढीले क्षतिग्रस्त बेनिघाट, आरुघाट, लार्के सडक कालोभिरसम्म सुचारु हुने अवस्थामा पुगेको छ । गोरखा सडक योजना कार्यालयले लगातार १५ दिन काम गरेर कालोभिरसम्म सुचारु गर्न लागेको कार्यालयका सूचना अधिकारी आशिक रिजालले जानकारी दिए । 

उनका अनुसार आर्खेतबाट दोभानसम्मको खण्ड सडक योजना कार्यालयले र दोभानबाट सल्लेरीसम्मको खण्ड नेपाली सेनाले खुलाउनका लागि काम गरिरहेका छन् । गोरखा सडक योजना कार्यालयले बाढीको भोलिपल्टदेखि नै सडक खुलाउने काम गर्न थालेको थियो । 

नेपाली सेनाले भने चुमनुब्रीको सल्लेरीबाट जगत बगरसम्म सडक खुलाउने प्रयास गरिरहेको छ । सो खण्डमा सडक मर्मतको काम जटिल रहेको सेनाको सडक निर्माण कार्यदलले जनाएको छ ।

डेढ किलोमिटर खण्डमा बाढीले थुपारेको पाँच फिटभन्दा गहिरो लेदो पन्छ्याउन अझै केही दिन लाग्ने कार्यदलका प्रमुख सेनानी रामसागर यादवले जानकारी दिए । मान्छे, खच्चड र मोटरसाइकल भने केही दिनभित्र पाङसिङसम्म पुग्न सक्ने उनले बताए। चुमनुब्री र धार्चे गाउँपालिकासँग समन्वय र सहकार्य गरी काम गरिएको सडक योजना कार्यालय र नेपाली सेनाले जनाएको छ । 

यसअघि धार्चे र चुमनुब्री गाउँपालिकाले स्थानीयवासीलाई खटाएर मान्छे हिँड्न सक्ने पैदलबाटो खुलाइसकेको छ । उङ्गिलुङ पहिरोपछि आएको स्यारखोलाको बाढीले बगाएको बाटो मर्मत गरी गाउँ जोड्ने बाटो बनाउन स्थानीयबासी रातदिन खटेका छन् । 

बाढीले धार्चे गाउँपालिका–३ दोभानबाट वडा नं १ हुल्चुक जोड्ने बेलिब्रिज र झोलुङ्गे पुल बगाएपछि स्थानीयहरुले त्यहाँ काठे पुल निर्माण गरेका छन् । सोमबार मात्र त्यहाँ काठे पुल निर्माणको काम सम्पन्न गरी आवतजावत सुचारु भएको हो । 

बाढी गएको केही दिनभित्रै धार्चेका स्थानीयहरुले वडा नं ३ खोर्लाबेशीदेखि तातोपानीसम्म जाने बाटोसमेत निर्माण गरेका थिए । खोर्लावेशीदेखि केरौँजासम्म बिजुलीको तार टाँगेर खाद्यान्न ढुवानी गर्ने काम समेत भएको थियो । 

स्थानीय युवाको सक्रियतामा खोलोबेँसीदेखि जगतसम्मको सडकमा बाढीले ल्याएको लेदो तथा गेग्रान हटाएर मान्छे र खच्चड हिँड्ने सक्ने बाटो समेत तयार भएको छ । तत्कालको समस्या टार्न त्यस क्षेत्रमा ड्रोनमार्फत खाद्यान्न ढुवानी गर्ने काम समेत भएको धार्चेका अध्यक्ष लक्ष्मण गुरुङले बताए। यस्तै, बाढीले बिग्रिएको सिर्दिबास उहिया साना जलविद्युत आयोजना चारदिनमा नै सुचारु भयो । 

 बाढीले बगाएको आरुघाटको पुल पनि छ दिनमा मर्मत सम्पन्न भएको थियो । बाढीले बगाएको केही भाग तत्काल सुचारु गर्न बेलिब्रिज जोडेर आवतजावत सुचारु गरिएको हो । गोरखा र धादिङ जोड्ने सो पुललाई गोरखा सडक योजना कार्यालय र नेपाली सेनाले संयुक्त रुपमा मर्मतसम्भार गरेको हो । सोमबारदेखि त्यहाँ टिपरलगायत ठूला सवारीसाधनसमेत आवतजावत भएको छ । 

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  १२ : ४१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित