‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’ « Khabarhub

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए । विद्यालय परिसरमा उत्सवपूर्ण सजावट पनि गरिएको थियो । सबै शिक्षक र विद्यार्थीहरू भेला भए । ‘वान, टु थ्रि’ भनेपछि ‘केक’ काटियो । सबै विद्यार्थीले ताली ठोके । विद्यार्थीहरूले बेलुन फुटाए । सिठी फुके । होहल्लासहित रमाइलो गरे ।
     
त्यहाँ कुनै शिक्षक वा विद्यार्थीको ‘वर्थ डे’ थिएन । न त कुनै शिक्षकको बढुवा भएको वा कुनै विद्यार्थीले पुरस्कार जितेको उत्सव नै थियो । विद्यालयमा गुरू पूर्णिमा विशेष कार्यक्रम सञ्चालित थियो ।
     
विद्यार्थीले प्रधानाध्यापक नारायणप्रसाद गौतमलाई खादा लगाइदिए । अनि गौतमसहित सबै शिक्षकलाई केक खुवाउन थाले । शिक्षकहरूलाई उनीहरुले सम्मान गरे । सांस्कृतिक कार्यक्रम पनि भयो ।
     
नियमित कक्षामा ‘बोर’ मान्ने विद्यार्थीहरू पनि आजको गुरू पूर्णिमाको सांस्कृतिक कार्यक्रममा सक्रिय र उत्साहपूर्वक सहभागी भए । उनीहरु बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विद्यालयमै गुरूहरूका साथ रमाइलो वातावरणमा थिए।
     
सो विद्यालयका बाल क्लबको अध्यक्ष रहेकी कक्षा ९ की राममाया जैसीले भने, ‘हामीले आफैँ व्यवस्थापन गरेर कार्यक्रम गर्‍यौँ । नाचगान र रमाइलो भयो । गुरूहरुको सम्मान गर्‍यौँ  । केक पनि काटियो ।’ केक काट्नु त नेपाली संस्कृति हो र ? भन्ने प्रश्नमा विद्यार्थी जैसीले समयअनुसार केकलाई पनि समेटिएको प्रतिक्रिया दिए ।  
     
छ सय ५० विद्यार्थी र २६ शिक्षक रहेको रानीदेवी माविका प्रधानाध्यापक गौतमले विद्यार्थीको संयोजनमा सांस्कृतिक कार्यक्रमसहित गुरू पूर्णिमा मनाइएकामा खुसी व्यक्त गरे। 
     
‘पछिल्लो समय विद्यार्थीहरूमा गुरुहरुप्रति सम्मान गर्ने भावना बढेको हो कि भन्ने देखिएको छ । यो सकारात्मक पक्ष हो । संस्कारयुक्त शिक्षाको नाराका साथ विगत तीन वर्षदेखि जोड दिँदै आएकामा त्यसको सकारात्मक प्रभाव परेको छ । पहिला पहिलाका गुरू पूर्णिमामा भन्दा यस पटक विद्यार्थीको उपस्थिति राम्रो भयो । खर्च पनि उनीहरूले आफै उठाएर गरे । विद्यार्थी जागरुक भएका हुन् भन्ने अनुभूति भएको छ ।’
     
गुरु पूर्णिमाः गुरुप्रति सम्मानका साथै संस्कारको मौलिक पर्वका रुपमा लिइन्छ। गुरु पूर्णिमालाई विद्यालयमा केवल औपचारिक समारोहका रूपमा होइन, गुरु–शिष्य परम्पराको जीवन्त अभ्यासका रूपमा मनाउनुपर्नेमा पछिल्लो समय आधुनिक र पश्चिमा संस्कृतिको प्रभावले तडकभडकपूर्ण कार्यक्रम पनि देखिने गरेको छ । गुरुप्रतिको सम्मान भनेको औपचारिकता मात्रै पनि होइन, अन्तरमनको सम्मान हो ।
     
वैदिक परम्पराअनुसार महर्षि वेदव्यासको जन्मजयन्तीका रूपमा मनाइने गुरु पूर्णिमाले ज्ञान, अनुशासन, संस्कार र चरित्र निर्माणको महत्वलाई स्थापित गर्दछ । गुरुबाट केवल विषयगत ज्ञान मात्र नभई जीवन जिउने कला, नैतिकता र जिम्मेवारी सिक्ने दिनका रूपमा यसको विशेष महत्व रहेको मानिन्छ ।
     
विद्यार्थीले आफ्ना शिक्षकप्रति सम्मान व्यक्त गर्दै विद्यालय परिसर सरसफाइ, पुस्तकालय व्यवस्थापन, वृक्षरोपण, अध्ययन–अभियान, नैतिक शिक्षा तथा सेवा–भावका गतिविधिमा सहभागी पनि गर्न सक्छन् ।
     
नेपाल संस्कृत विश्वविद्यालयका वाल्मिकी विद्यापीठका उपप्राध्यापक खगेन्द्र नेपाल पुस्तान्तरणसँगै गुरु पूर्णिमाको ढाँचा परिवर्तन आएको स्वीकार गर्नुहुन्छ । सहरिया क्षेत्रमा गुरु पूर्णिमालाई ‘टिचर्स डे’ भन्न थालिएको छ । आज गुरु पूर्णिमा मात्रै भएकाले यसलाई त्यहीरुपमा मनाइदिनुपर्छ भने हामीले आफ्नो ठाउँबाट वकालत गरिरहेको उपप्राध्यापक नेपालले बताए । 

विश्व शिक्षक दिवस अक्टोबर ५ तारिखमा मनाइन्छ । परम्परागत रुपमा गुरु पूर्णिमा मनाउँदा श्लोक र कविताबाट आरम्भ गरेर वास्तविक रुपमा सम्मानभाव प्रकटसहित गुरु पूर्णिमा मनाउनुपर्ने उनको भनाइ छ।  
     
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका  अध्यक्ष काशी दङ्गालले विभिन्न सन्दर्भमा सिकाउने गुरुहरुलाई श्रद्धा व्यक्त गर्ने, स्मरण गर्ने, राम्रा कुरालाई पछ्याउने दिनका रुपमा विद्यार्थी र शिक्षकले आजको दिनलाई मनाउनुपर्ने बताए । सुनसरीको जनता मावि व्यवस्थापन समितिका अध्यक्ष दङ्गालले हाल आफ्नो जिल्लामा बन्द भएकाले गुरु पूर्णिममा मनाउन नपाइएको बताए ।
    
मध्यबानेश्वरस्थित एम्बिसन एकेडेमीका प्रिन्सिपल विष्णुकुमार घिमिरेले गुरु पूर्णिमाको दिनले गुरु–शिष्य सम्बन्धको ऐतिहासिक पृष्ठभूमि र महत्व सम्झाउने तथा  परम्परागत रूपमा विद्यार्थीले गुरुबाट आशीर्वाद लिने, गुरुका अनुभव सुन्ने, आफूले सिकेका विषयप्रति आत्मसमीक्षा गर्ने तथा आगामी दिनमा अझ अनुशासित र जिम्मेवार बन्ने प्रतिबद्धता व्यक्त गर्ने अभ्यासलाई प्राथमिकता दिन प्रेरित गर्नुपर्ने बताए । उनले त्यही भावका साथ आफ्ना विद्यार्थीहरुले आजको उत्सव मनाएको बताए।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ६ : ५७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित