स्याङ्जाको तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता « Khabarhub

स्याङ्जाको तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा जनसङ्ख्याको घट्दो दरलाई रोक्नका लागि तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता गर्ने भएको हो ।

पछिल्लो समयमा जनसङ्ख्या घट्दै जाँदा दीर्घकालीन रुपमा जनसङ्ख्या सन्तुलनमा राख्न समस्या हुने भएकाले गाउँपालिकाले यस्तो कदम चालेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । 

‘गाउँपालिकाभित्र जनसङ्ख्या घट्दो क्रममा छ, घट्दै जाँदा कालान्तरमा गाउँमा मानिसको सङ्ख्या निक्कै कम हुन सक्छ’, उनले भने, ‘जनसङ्ख्याको घट्दो दरलाई रोक्न, परिवारलाई सन्तानप्रतिको सकारात्मक प्रेरणा दिन तथा दीघकालीन जनसङ्ख्या सन्तुलनमा राख्न र पोषणमैत्री स्थानीय शासन कार्यान्वयनको उद्देश्यसहित अगाडि बढेका हौँ ।’

गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कार्यविधि २०८२ स्वीकृत गरेर कार्यविधिमा तोकिएको मापदण्ड पूरा गर्ने परिवारलाई आर्थिक सहायता गर्ने तयारीमा जुटेको उनले बताए । 

गाउँपालिकाले स्वीकृत गरेको कार्यविधिअनुसार गाउँपालिकाभित्र स्थायी बसोबास गर्दै आएका परिवारबाट चालु आर्थिक वर्षको साउनभन्दा पछाडि तेस्रो सन्तान जन्माएको परिवारले आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ ।

पछिल्लो समय एक वा दुई सन्तानमात्रै जन्माउने र अर्कोतर्फ गाउँबाट सहरतर्फ बसाइँ सर्ने गरेका कारण पनि गाउँ रित्तिँदै जान थालेका छन् । ‘गाउँपालिकाले कार्यविधिअनुसार तीन सन्तान जन्माउने परिवारलाई प्रतिमहिना रु चार हजारका दरले आर्थिक सहायता गर्छ’, उनले भने, ‘प्रतिपरिवार दुई वर्षसम्म पोषण तथा सन्तानप्रतिको सकारात्मक प्रेरणास्वरुप आर्थिक सहायता गर्ने भएको हो ।’

तीन सन्तान जन्माउने परिवारले कार्यविधिमा तोकिएबमोजिमको ढाँचामा निवेदन, नागरिकताको प्रतिलिपि, तीनवटै सन्तानको जन्मदर्ताको प्रतिलिपि, विवाह दर्ताको प्रतिलिपि, बसाइँ सरी आएकाको हकमा बसाइँसराइको प्रतिलिपि आवश्यक पर्नेछ । जन्मिएको सन्तान नेपाल सरकारको सूचीकृत स्वास्थ्य संस्थामा जन्मिएको हुनुपर्ने उल्लेख छ । त्यसले गर्दा सूचिकृत स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउनेको सङ्ख्यामा पनि वृद्धि हुने उनले बताए । रासस
 

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १ : ४१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित