रेशमले कारबाही तयारी गरेपछि अर्कैलाई कार्यवाहक दिएर रञ्जिताले भनिन्, ‘म बिरामी भएँ’ « Khabarhub

रेशमले कारबाही तयारी गरेपछि अर्कैलाई कार्यवाहक दिएर रञ्जिताले भनिन्, ‘म बिरामी भएँ’


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीभित्र देखिएको विवाद अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गर्ने तहसम्म पुगेको छ।

संरक्षक रेशम चौधरीले आइतबार दिउँसोका लागि डाकेको केन्द्रीय समिति बैठकबाट कारबाही गर्ने सूचना पाएसँगै विधानले दिएको अधिकार उपयोग गर्दै रञ्जिताले पोखराका शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाएकी हुन् ।

यसअघि नै नाउपाका बहुमत सदस्यहरूले रञ्जितालाई केन्द्रीय समिति बैठक डाक्न मागसहित २४ घण्टे अल्टिमेटम दिएका थिए । यदि बैठक डाकेर पछिल्लो समय उठेका विषयमा चित्त बुझ्दो जवाफ नदिएमा बहुमतले कारबाही गरेर हटाउने चेतावनी उनीहरूले दिएका थिए ।

उता रेशम आफैंले पनि ८ साउनमा फेसबुक पेजमा १५ मिनेट लामो भिडियो सन्देश जारी गर्दै पोखरास्थित लिची बगानको जग्गा हडप्न घुस डिल गरेकोसहितका विषयमा पार्टी बैठक राखेर चित्त बुझ्दो जवाफ दिन माग गरेका थिए । तर रञ्जिताले रेशमको माग अनुसार बैठक डाक्नुको साटो बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर आफू कारबाहीबाट जोगिने कोसिस गरेकी हुन् ।

‘मेरो स्वास्थ्य अवस्था बिग्रिएको छ । त्यसैले मैले पार्टीलाई समय दिन सक्ने अवस्था रहेन । यस विषम परिस्थितिमा नागरिक उन्मुक्ति पार्टीको विधान २०७८ को धारा २० को उपधारा (९) बमोजिम यस पार्टीको वरिष्ठ नेता शिव वास्तोलालाई मेरो अनुपस्थितिमा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नका लागि यो पत्रमार्फत् तोकिएको छ’, उनले भनेकी छन्, ‘तपाईंले पार्टीको विधानको अधिनमा रही अध्यक्षका रुपमा सम्पूर्ण अधिकार तथा कर्तव्य निर्वाह गर्नु हुनेछ।’

उनले बाँस्तोलाले पार्टीका गतिविधिलाई सफलतापूर्वक अगाडि बढाउने भन्दै आफू भने विश्राममा रहेको उल्लेख गरेकी छन् । ‘मेरो स्वास्थ्यमा सुधार नभएसम्म वा अर्को व्यवस्था नभएसम्म यो जिम्मेवारी निरन्तर रहनेछ’, उनले भनेकी छन्, ‘यस अवधिमा तपाईंबाट पार्टीको हित र एकता कायम राख्दै काम गरिनेछ भन्ने अपेक्षा राखेको छु ।’

रञ्जिताविरुद्ध संरक्षक रेशमले बहुमत केन्द्रीय सदस्यहरू जुटाएपछि नागरिक उन्मुक्ति संकटमा परेको छ । रञ्जिताले कार्यवाहक दिने क्रममा आफूमाथि हुने सम्भावित कारबाही छल्न यो चलाखी अपनाएकी हुन् ।

‘उनलाई आइतबार बस्ने केन्द्रीय समितिको बैठकले कारबाही गर्ने सम्भावना थियो । तर अध्यक्षको जिम्मेवारी अर्कालाई दिएर उनले आफूलाई जोगाउने कोसिस गरेकी छन्’, नाउपाका एक नेताले भने, ‘पार्टी बैठकले निर्णय गरेर कारबाही गरिएको पत्र निर्वाचन आयोगमा बुझाउनुअघि नै रञ्जिताले कार्यवाहक अर्कैलाई दिएकी छन् । कानुनी रुपमा जोगिन उनले यो चलाखीपूर्ण लिएकी हुन् ।’

कानुनी रुपमा जोगिन रञ्जिताले चलाखी गरेर कार्यवाहक दिएको अवस्थामा रेशमले भने पार्टी अध्यक्षमा अर्कै नेतालाई ल्याउने तयारी गरेका छन् । स्रोतका अनुसार उनले गंगा चौधरी वा बुवा कुलवीर चौधरीलाई अध्यक्षमा ल्याउने कोसिस गरेका छन् ।

रेशमले ८ साउनमा अध्यक्षसमेत रहेकी श्रीमती रञ्जितामाथि लागेको घुस डिल आरोपबारे पार्टी बैठकमा आएर जवाफ दिन भनेका थिए ।

पोखरास्थित लिची बगानको जग्गा व्यक्तिका नाममा लैजान बिचौलियासँग घुस डिल गरेको अडियो भाइरल भइरहेका बेला रेशमले रञ्जितालाई केन्द्रीय समिति बैठकमा उपस्थित भएर जवाफ दिन आग्रह गरेका थिए । तर रञ्जिताले उक्त बैठक फेस नगर्ने निर्णयसहित कार्यवाहक नै बास्तोलालाई दिएर आफू आराम गर्न बसेको उल्लेख गरेकी छन् ।

‘मैले बोलाएको बैठक होइन भनेर अध्यक्ष पन्छिन सक्नुहुन्न। बैठक किन बोलाइयो भनेरश्न गर्न सकिन्छ, तर त्यसबाट भाग्न मिल्दैन’, उनले भनेका थिए, ‘तपाईं अध्यक्ष भएपछि हरेक सदस्य तपाईंको परिवार हो। उनीहरूसँग प्रतिशोधको भावना राख्नु गलत कुरा हो।’

उनले बोलाइएको बैठक वैधानिक नभएको भन्दै अध्यक्ष श्रेष्ठ भाग्ने प्रयास गरिरहेको पनि उल्लेख गरेका थिए । नभन्दै रञ्जिताले आइतबार अर्कैलाई कार्यवाहक दिएर आफू पार्टी बैठकमा नआउने निर्णय लिएकी हुन् ।

उनले कास्कीको पोखरास्थित लिची बगैँचाको सरकारी जमिन व्यक्तिको नाममा हत्याउने प्रयोजनका लागि घुस लेनदेनको डिलमा मुछिएको भन्दै रञ्जितासँग जवाफ मागेका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ४ : २१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित