गण्डकीमा नेकपाले गर्‍यो सामूहिक रोपाइँ « Khabarhub

गण्डकीमा नेकपाले गर्‍यो सामूहिक रोपाइँ


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– उत्पादनमा आधारित समाजवादको लक्ष्य लिएको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले गण्डकीका विभिन्न जिल्लामा गरी झन्डै १५ बिगाहामा सामूहिक रोपाइँ गरेका छन् । एकमहिने उत्पादन अभियानअन्तर्गत कास्की, बागलुङ, स्याङ्जा, गोरखा, म्याग्दीलगायतका जिल्लामा सामूहिक रोपाइँ गरिएको नेकपा गण्डकी प्रदेश इन्चार्ज उमा भुजेलले जानकारी दिए । 

उनका अनुसार नेकपाले गत असार १० देखि यही साउन १० गतेसम्म अत्यावश्यकबाहेक पार्टीका अन्य कामलाई थाती राखी सबै तहका नेता तथा कार्यकर्ता उत्पादनमा जोडिने निर्णय गरेको थियो । पार्टीको सोही नीतिअनुसार महासचिव नेत्रविक्रम चन्दलगायत देशभरका नेताकार्यकर्ता अहिले रोपाइँमा व्यस्त रहेको प्रदेश इञ्चार्ज भुजेलले बताए। उनका अनुसार कास्कीको पोखरा महानगरपालिका–१४ छिनेडाँडामा एक बिगाहा क्षेत्रफलमा रैथाने जेठोबुढो धान रोपिएको हो । 

छिनेडाँडामा रहेको परम्परागत घरसहित १४ रोपनी जग्गा भाडामा लिई नेकपाले केही वर्ष अघिदेखि कृषि उत्पादन गर्दै आएको छ । पार्टीको प्रदेश कार्यालय पनि सोही स्थानबाट सञ्चालित रहेको इञ्चार्ज भुजेलले बताए। लमजुङ र गोरखा जिल्ला पार्टी कमिटीको संयुक्त पहलमा गोरखाको पालुङटार नगरपालिका–३ स्थित भडारथोक, तल्लोसेरा फाँटको ४५ रोपनी क्षेत्रफलमा रोपाइँ गरिएको इञ्चार्ज भुजेलले जानकारी दिए । 

यसैगरी, आइतबार बागलुङको बागलुङ नगरपालिका–१२ अमलाचौरको कमेरेमा रहेको भैरवस्थान गुठीको सात रोपनी खेतमा रोपाइँ गरिएको नेकपाका पोलिटब्यूरो सदस्य एवं बागलुङ जिल्ला इञ्चार्ज आजाद केसीले जानकारी दिए । 

‘पूजा सञ्चालनका लागि चाहिने धान गुठीलाई दिने र बाँकी आम्दानी पार्टीले लिने गरी रोपाइँ गरिएको छ’, उनले भने, ‘जिल्ला तहका नेताकार्यकर्ता गरेर हामी ३५ जना जति रोपाइँमा खटियौँ ।’ 

समृद्धिका लागि उत्पादनमा जोडिने पार्टीको नीतिअनुसार सामूहिक रोपाइँ गरिएको इञ्चार्ज केसीले बताए। 

उनका अनुसार नेकपाले बागलुङको निसीखोला गाउँपालिकाको देवीस्थानमा कागती र सुन्तलाखेती तथा ढोरपाटन नगरपालिका–९ मा टिमुर र दाँते ओखरको खेती गरेको छ । मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ वटै जिल्लाका नेताकार्यकर्ता कृषि उत्पादनमा जोडिएको सो पार्टीले जनाएको छ । पोखराको छिनेडाँडामा गरिएको आलुखेतीबाट गत हिउँदमा झन्डै रु तीन लाख बराबरको आम्दानी भएको नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका कार्यालय सचिव विकिरण क्षेत्रीले जानकारी दिए । अकबरे खुर्सानी पनि बाहिर निर्यात गर्नेगरी उत्पादन भइरहेको कार्यालय सचिव क्षेत्रीको भनाइ छ । 

देशका विभिन्न ठाउँमा व्यावसायिक कृषि उत्पादनसँग जोडिएको नेकपाले केही महिनाअघि काठमाडौँमा ‘सी व्यापार केन्द्र’समेत सञ्चालनमा ल्याएको थियो । उक्त व्यापार केन्द्रबाट कृषिजन्य वस्तुको उत्पादन तथा वितरण हुँदै आएको छ । गत वर्ष पोखरामा उत्पादन भएको तीन क्विन्टल जेठोबुढोको धान पनि उक्त केन्द्रमा बिक्रीका लागि पठाइएको थियो । 

पार्टी महासचिव चन्द आफैँ कृषिकर्ममा जोडिएर नेता–कार्यकर्ता र सर्वसाधारण किसानलाई व्यावसायिक उत्पादनतिर प्रेरित गरेको पोलिटब्यूरो सदस्य केसीले बताए। 

‘मुलुको समृद्धिका लागि सामूहिक उत्पादन प्रणालीमा जोडिनुपर्ने पाटीको नीति र सिद्धान्तको व्यावहारिक कार्यान्वयनका लागि हामी व्यावसायिक कृषिकर्ममा जोडिएका हौँ’, उनले भने, ‘भूगोल र मौसमअनुसारको अन्नबाली र तरकारीखेती गरिएको छ ।’

प्रदेश इञ्चार्ज भुजेलले कृषि उत्पादनमा प्रत्यक्ष रुपमा नेता–कार्यकर्ता खट्ने गरेको बताए ।

 ‘प्रदेश कार्यालयबाट कृषि उत्पादनमा दैनिक रुपमा जोडिने साथीहरु सात-आठ जना हुनुहुन्छ’, उनले भने, ‘आवश्यक पर्दा काममा सघाउन बाहिरबाट पनि आउनुहुन्छ ।’

इञ्चार्ज भुजेलका अनुसार तनहुँको बन्दीपुर, नवलपुर, म्याग्दी, बागलुङ, गोरखा, लमजुङलगायत जिल्लामा नेकपाका नेता–कार्यकर्ता कृषि उत्पादनमा जोडिएका छन् । व्यावसायिक कृषिमा नेपालको भविष्य जोडिएकाले त्यसतर्फ समाजलाई आकर्षित गर्न पार्टीलाई उत्पादन कार्यमा संलग्न गराइएको उनको भनाइ छ । 

कृषि उत्पादनको क्षेत्र विस्तार गर्दै जाने र किसानलाई पनि जोड्ने पार्टीको योजना रहेको इञ्चार्ज भुजेलले बताए। सामूहिक उत्पादन अभियानले व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्ने र राजनीतिक दलहरुप्रतिको दृष्टिकोण पनि बदलिने नेकपाका नेता कार्यकर्ताको विश्वास छ । 
 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ४ : ५५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित