खोटाङमा सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय « Khabarhub

खोटाङमा सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय


२ जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित दम्कुमा ८० घर स्थानीयको बसोबास छ । एक घर तामाङ र ७९ घर राई जातिको बसोबास रहेको दम्कुमा हरेक सामाजिक काम सबै एकताबद्ध भएर गर्दै आएका छन् । 

सानातिना विकासे कामका लागि सरकारको मुख नताक्ने बानी परेका उनीहरूको बीच गाउँमा कालिका आधारभूत विद्यालय सञ्चालनमा छ । कक्षा ८ सम्म अध्ययन/अध्यापन हुने यस विद्यालयमा यो शैक्षिकसत्रका लागि ६२ विद्यार्थी भर्ना भएका छन् । 

गाउँपालिकाबाट यसै वर्ष कक्षा ८ सम्म सञ्चालनको अनुमति पाएको विद्यालयमा अध्ययन गर्न भर्ना भएका विद्यार्थीलाई संस्कारसहितको गुणस्तरीय तथा व्यावहारिक शिक्षा उपलब्ध गराउन स्थानीय कसिएका छन् । विसं २०३६ मा स्थापना गरिएको यस विद्यालयमा बाल विकास केन्द्रदेखि कक्षा २ सम्म अङ्ग्रेजी माध्यमको पढाइ हुन्छ । 

विद्यार्थी अभावमा १२ वर्षअघि दुईवटा प्राथमिक तहको विद्यालय समायोजन गरेर सञ्चालन गरिएको कालिका आधारभूत विद्यालयमा प्रत्येक शैक्षिक सत्र क्रमशः बढाउँदै लगेर कक्षा ८ सम्म नै अङ्ग्रेजी माध्यम लागू गर्ने लक्ष्य राखिएको छ ।

विसं २०७० मा स्थानीय जनता प्राथमिक विद्यालय र कालिका प्राथमिक विद्यालयबीच समायोजन गरेर कालिका आधारभूत विद्यालय बनाइएको यस विद्यालयलाई यसै शैक्षिक सत्रदेखि पूर्ण आवासीयसमेत बनाइएको छ । 

चन्दा सङ्कलन गरेर जुटाइएको रकमले आवासीय बनाइएको विद्यालयमा पूर्ण आवासीय भएर अध्ययन गर्नका लागि १४ छात्र तथा २० छात्रा भर्ना भएका छन् । कक्षा २ भन्दामाथिका विद्यार्थीलाई पूर्ण आवासीय रुपमा अध्यापन गराउने लक्ष्य राखिएको यस विद्यालयमा साना बालबालिकालाई अनिवार्य गरिएको छैन ।  

छात्रछात्राका लागि छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाइएको विद्यालयका लागि आवश्यक सिरक, डसना, तन्ना र सिरानी गाउँपालिकाले उपलब्ध गराएको छ । आवासका लागि आवश्यक पर्ने फर्निचर, भान्छाका सामग्री तथा रासन भने विद्यालय प्रशासन आफैँले उपलब्ध गराएको जनाइएको छ । 

पूर्ण आवासीय अध्ययनका लागि भर्ना भएका छात्रछात्राका लागि एक/एक महिला तथा पुरुष शिक्षक तोकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर राईले जानकारी दिए । उनीहरूका लागि खान तथा बस्ने व्यवस्थासहित थप रु तीन/तीन हजार भत्ता उपलब्ध गराउने निर्णय गरिएको जनाइएको छ । 

साधारण तरिकाले सञ्चालन हुँदै आएको सामुदायिक विद्यालयलाई पूर्ण आवासीय बनाउने अभियान सुरु गरेको छोटो समयमा नै रु नौ लाख १४ हजार सहयोग प्राप्त भएको आर्थिक सङ्कलन समितिका संयोजक विशाल राईले जानकारी दिए ।  विभिन्न व्यक्ति तथा संस्थाबाट सङ्कलन गरिएको रकमबाट सञ्चालन गरिएको आवासीय विद्यालय बिहीबार गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठ, उपप्रमुख कौशिला गुरुङ र प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीले औपचारिक उद्‌घाटन गरे ।  

सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको अवस्थामा कालिका आधारभूत विद्यालयलाई पूर्ण आवासीय बनाएपछि यस वर्षमात्रै २२ नयाँ विद्यार्थी थपिएको प्रधानाध्यापक टीकाराम राईले जानकारी दिए । ‘साधारण तरिकाले सञ्चालन हुँदै आएको विद्यालयलाई आवासीय बनाएर संस्कारसहितको गुणस्तरीय तथा व्यावहारिक शिक्षा उपलब्ध गराउने योजना बनाएका छौँ, यो अभियानमा सबैको साथ र सहयोग प्राप्त भएको छ’, उनले भने, ‘पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएको छ, यसलाई रोक्न हामीले विद्यालयलाई पूर्ण आवासीय बनाएका हौँ, विद्यालयले सुरु गरेको अभियानमा सबैको साथ पाइएको छ ।’ –रासस

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  २ : ०९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित