मौलिक र वास्तविक मूल्याङ्कनबाट मात्र राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छ : प्रधानसेनापति « Khabarhub

मौलिक र वास्तविक मूल्याङ्कनबाट मात्र राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छ : प्रधानसेनापति


२ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षाको प्रमुख उद्देश्य राज्य शक्तिका संयन्त्रहरूको समन्वयात्मक उपयोगबाट राष्ट्रहित प्रवर्द्धन गर्नु रहेको बताएका छन् ।

सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा आजदेखि सुरु भएको दशौँ समूहको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम उद्घाटन समारोहमा उनले त्यसका लागि सुरक्षाका नवीनतम अवधारणाबारे जानकार रहनु अति आवश्यक भएको बताए ।

प्रधानसेनापति सिग्देलले भने, ‘राष्ट्रिय सुरक्षाको अवधारणा समय क्रमसँगै परिमार्जन र परिष्कृत हुँदै बहुआयामको सुरक्षा वातावरणको विकास भइरहेको छ । त्यसका लागि राष्ट्रिय सुरक्षाको आधार, क्षेत्र, अभ्यास र विषयवस्तुका सवालमा सबै सरोकारवालाबीच साझा सोच आवश्यक छ ।’

राजनीतिक, आर्थिक, सामाजिकलगायत समग्र मानवीय र वातावरणीय सुरक्षा चिन्तालाई सुरक्षा अवधारणाले समेटेको बताउँदै उनले मुलुक सुहाउँदो सुरक्षा र प्रतिरक्षा नीति तर्जुमा गर्न उच्चस्तरीय तालिमका अवसरमा हुने स्वतन्त्र, निष्पक्ष बहस, अनुसन्धान र विश्लेषण फलदायी हुनसक्ने धारणा राखे । 

सहभागीहरुबीच साझा अवधारणा विकास, आपसी सहयोग र समन्वयका क्षेत्रहरू पहिचान हुने विश्वास व्यक्त गर्दै प्रधानसेनापति सिग्देलले विभिन्न निकायबाट हुने सुरक्षासम्बन्धी नीति निर्माण, निर्णय र त्यसको कार्यान्वयन सहजता हुने बताए ।

सुरक्षासम्बन्धी अवधारणा देशको परिस्थितिअनुसार कसरी लागू गर्ने भन्ने कुरा अत्यन्त महत्त्वपूर्ण पक्ष भएको बताउँदै उनले नेपालको सुरक्षा आयामका विशेषता विशिष्ट र मौलिक प्रकृतिका भएको उल्लेख गरे ।

प्रधानसेनापति सिग्देलले भने, ‘हाम्रो भूगोल, अर्थतन्त्र, जनसङ्ख्या, स्रोतसाधन आदिलाई विचार गरी सुधार्नुपर्ने कमजोरी, सम्भावना र चुनौतीको विश्लेषण गरिनुपर्छ । आफ्नो मौलिक र वास्तविक धरातलमा उभिएर मूल्याङ्कन गर्नुपर्छ । त्यो भएमा मात्र राष्ट्रिय सुरक्षालाई प्रभावकारी बनाउन सकिन्छ ।’

त्यस अवसरमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गालले राष्ट्रिय सुरक्षा, राष्ट्रियहित र राष्ट्रिय स्वार्थको संरक्षण र संवर्द्धन प्रत्येक मुलुकको पहिलो र प्राथमिक जिम्मेवारीभित्रको विषय भएको बताए ।

उनले सुरक्षा मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग अन्योन्याश्रित रूपमा जोडिएको तथा सुशासन र विकास निर्माणको पूर्वशर्त भएको विचार प्रकट गरे । 

सचिव दङ्गालले भने, ‘भरपर्दो सुरक्षा प्रबन्ध नभई नागरिकलाई भयरहित वातावरणमा जीवनयापन गर्नसक्ने अवस्था सुनिश्चित गर्न सकिँदैन भने अर्कातर्फ सुशासनलाई संस्थागत गर्न, राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्न र देशमा विकास निर्माणका कार्यलाई सहज रूपमा अघि बढाउन पनि असम्भव हुन्छ ।’

सुरक्षा आफैँमा एक गतिशील, बहुआयामिक, अन्तरसम्बन्धित र बहुनिकायसँग सरोकार राख्ने विषय भएकाले सुदृढ राष्ट्रिय सुरक्षाका लागि राज्यका सम्बन्धित निकायबीच निरन्तर संवाद, समन्वय र सहकार्य हुनु आवश्यक रहेको उनको भनाइ छ ।

कलेजका निमित्त शिक्षाध्यक्ष सहायकरथी मनोज थापाले राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउने सन्दर्भमा आन्तरिक तथा बाह्य सुरक्षा चुनौती तथा तिनलाई सम्बोधन गर्न तथा समग्र राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ बनाउन राज्यका अङ्गहरूबीच समन्वय र सहकार्यको आवश्यकताबारेमा केन्द्रित रही अनुभव आदानप्रदान गरिने जानकारी दिए ।

खासगरी नीति निर्माण तहमा काम गर्ने राष्ट्रसेवकका लागि राष्ट्रियहित र राष्ट्रिय सुरक्षाका विभिन्न विषयमा गहिरो बुझाइको आवश्यकता महसुस भई विसं २०७२ देखि सुरु गरिएको तालिम हालसम्म २२२ जनाले पूरा गरिसकेका छन्। रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा सञ्चालित उक्त तालिम दुई साताको हुनेछ । 

दसैँ समूहमा नेपाल सरकारका प्रथम श्रेणीका १० भन्दा बढी अधिकृतसहित सुरक्षा, नेपाल राष्ट्र बैंक, त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय समाचार समिति(रासस)सहितका सञ्चारकर्मीको सहभागिता छ । 

तालिममा राष्ट्रिय सुरक्षाका आधारभूत विषय, राष्ट्रिय सुरक्षाको अवधारणा र गतिशीलता, राष्ट्रिय सुरक्षालाई गम्भीर रूपमा असर पार्ने आन्तरिक तथा बाह्य तत्त्वलगायत क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा आएको परिवर्तन र बदलिँदो भूराजनीतिक सम्बन्धहरू र त्यसले नेपालजस्ता साना राष्ट्रलाई पार्ने प्रभावलगायतका विषयमा ज्ञान दिइने पाठ्यक्रममा उल्लेख छ । 

सुरक्षा केबल भूमि र सिमानाको मात्र रक्षा नभएर राजनीतिक, आर्थिक, सामाजिक, वातावरणीय सबै पक्षको सुरक्षा, प्राकृतिक तथा मानव सम्पदाको संरक्षण, खाद्य सुरक्षा, विपद्को प्रभावकारी व्यवस्थापन, देशभित्रका जनशक्तिलाई उचित रोजगारीको सुरक्षा, मानवअधिकारको संरक्षण, राष्ट्रिय मूल्यमान्यता तथा राष्ट्रिय संस्कृतिको संरक्षण र संवर्द्धन पनि भएको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  ४ : १२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित