देवीटार–घर्तीछाप–सोलाभञ्ज्याङ सडक कालोपत्र हुँदै « Khabarhub

देवीटार–घर्तीछाप–सोलाभञ्ज्याङ सडक कालोपत्र हुँदै


२६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रका विकट महाभारत गाउँपालिका र खानीखोला गाउँपालिका हुँदै मकवानपुरको झुरझुरे भएर बागमती प्रदेश राजधानी हेटौँडा जोड्ने सडक कालोपत्र गर्न सुरु गरिएको छ । ‘जनमुक्ति मार्ग’ निर्माणका क्रममा मङ्गलबारदेखि काभ्रेको घर्तीछाप खण्डको सडक कालोपत्र सुरु गरिएको हो ।

विकट डाँडापारि क्षेत्रलाई प्रदेश राजधानीसँग जोड्ने मुख्य सडक सञ्जाल ‘जनमुक्ति मार्ग’ सडकखण्ड अन्तर्गत महाभारतको देवीटार–घर्तीछाप–सोलाभञ्ज्याङअन्तर्गत घर्तीछापको डबली उकालोमा ढलानको काम थालनी गरिएको हो ।

पूर्वाधार विकास कार्यालयका इञ्जिनियर भूपेन्द्र कोइरालाले सडकको घुम्ती र उकालोमा गरेर एक हजार ८०० मिटर ढलानको काम सम्पन्न गरिसकेको र आजदेखि कालोपत्रको काम थालनी गरेको बताए ।

उक्त सडकखण्डअन्तर्गत देवीटार–घर्तीछाप–गोकुले सडकखण्डको करिब नौ किलोमिटरको काम अहिलेसम्ममा ६५ प्रतिशत भौतिक प्रगति र ५२ प्रतिशत आर्थिक प्रगति भएको उनको भनाइ छ । सडकखण्डका लागि सन्तोषी धर्म एस जेभीले ३९ करोड ७४ लाख ५५ हजारमा ठेक्का प्राप्त गरी निर्माण कार्य अगाडि बढाइरहेको र २०८२ चैत मसान्तसम्ममा सकाउनुपर्ने सम्झौता रहेको छ ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार वडा नम्बर ६ को देवीटारस्थित बनखुखोलादेखि वडा नम्बर ८ को घर्तीछापसम्मको सडकखण्डमा ढलान र कालोपत्रको कामले तीव्रता लिइरहेको छ । खण्ड–खण्डमा विभाजन गरी भइरहेको निर्माण कार्यले राम्रो गति लिइरहेको र काम पनि सन्तोषजनक रुपमा भइरहेको जिम्बाले बताए ।

उनका अनुसार देवीटारदेखि सोला भञ्ज्याङसम्मको एउटा खण्ड, सोला भञ्ज्याङदेखि गोकुले–छोटेसाहन अर्को खण्ड, छोटेसाहन–सिक्रेदोभान–भोर्लेनी अर्को खण्ड र तीनखुट्टे–बुढाखानी–रजबास अर्को खण्ड गरी काम अगाडि बढिरहेको छ ।

सडकखण्डको डाँडापारिस्थित महाभारत र खानीखोला गाउँपालिका हुँदै मकवानपुरको झुरझुरे जोड्ने सडकखण्डअन्तर्गत देवीटार–घर्तीछाप–गोकुले–छोटेसाहन–तालढुङ्गा खण्डको महाभारतको घर्तीछापस्थित सोला भञ्ज्याङमा २०८० साल पुस ६ गते तत्कालीन प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले संयुक्तरुपमा शिलान्यास गरेका थिए ।

अध्यक्ष जिम्बाका अनुसार तीनखुट्टे–बुढाखानी–रजबास अर्को खण्डअन्तर्गतको १७ किलोमिटरमा करिब तीन किलोमिटरको ढलानको काम सम्पन्न भइरहेको र कालोपत्र गर्ने काम मात्रै बाँकी रहेको छ । सो सडकखण्डको सबैभन्दा पहिलोपटक करिब पाँच वर्ष अगाडि ठेक्का भएर काम थालनी गरेको तीनखुट्टे–घ्याब्रिङ–देवीटारको काम भने अझै सम्पन्न भएको छैन । पटकपटक म्याद थप गरे पनि काम सम्पन्न नगरेपछि समयमा काम सम्पन्न गर्नका लागि पालिकाले प्रदेश सरकारलाई ध्यानाकर्षण गराइरहेको गाउँपालिकाले जनाएको छ ।

पछिल्लो समय बीपी राजमार्गदेखि पिन्थली–रजबासको खण्ड ठेक्का आह्वान भइसकेको छ । ती सबै खण्ड गरी बीपी राजमार्गको पिन्थलीदेखि महाभारत–खानीखोला हुँदै मकवानपुरको झुरझुरे मदन भण्डारी लोकमार्गसम्मको सडकखण्ड सम्पन्न भएपछि जिल्ला सदरमुकाम धुलिखेलबाट प्रदेश राजधानी हेटौँडा आवतजावतका लागि सहज हुनुका साथै सो राजमार्गले जिल्लाको डाँडापारि भेगका नागरिकलाई सहजता हुने आशा गरेका छन् । विकट गाउँमा पनि फराकिलो सडक निर्माण भई कालोपत्र हुन थालेपछि यहाँका नागरिक खुसी भएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  १२ : ३४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित