झापामा चितुवा आतङ्कको त्रास « Khabarhub

झापामा चितुवा आतङ्कको त्रास


१८ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–२ र ४ मा दैनिकजसो चितुवाले बाख्रा मार्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन् ।

दिनभरि चिया बगान, पारिवारिक निजी वनमा लुक्ने उक्त चितुवाले साँझ परेपछि स्थानीयवासीका खोरबाट बाख्रा, सुँगुर मारेर खाने गरेको मेचीनगर–२ का वडाध्यक्ष दीपक बरालले जानकारी दिए । विगत लामो समयदेखि हात्ती र बाँदरको आतङ्क खेपिरहेको बाहुनडाँगीले पछिल्लो १५ दिनयता चितुवाको थप आतङ्क खेप्नुपरेको उनले बताए ।

“हात्तीको नियमित आतङ्क, बाँदरको अस्वाभाविक बिगार खेपिरहेका हामीले फेरि चितुवाको पनि सामाना गर्नुपरिरहेको छ”, वडाध्यक्ष बराल भन्छन्, “प्रत्येक दिन खोरबाट बाख्रा, सुँगर तानेर खाइरहेको छ । अब बालबालिका कसरी जोगाउनु भन्ने चिन्ता छ ।”

हालसम्म दुई दर्जनभन्दा बढी खसीबाख्रा र सुँगर मारेर चितुवाले खाइसकेको छ । स्थानीय चिया बगानमा कार्यरत श्रमिक, बिहान बेलुका बाटो हिँड्ने व्यक्ति र स्कुले बालबालिका चितुवाको सम्भावित आक्रमणले त्रसित रहेको उनले बताए । “अहिलेसम्म खसीबाख्रा मात्र मारिरहेको छ”, उनले भने, “चितुवाले कुनै पनि बेला बालबालिका, बाटो हिँड्ने र बगानमा काम गर्ने मानिसलाई आक्रमण नगर्ला भन्न सकिने अवस्था छैन ।” मानवीय क्षतिको समेत त्रास बढेकाले चितुवालाई नियन्त्रणमा लिन फलामे खोरमा पासो थापिएको उनले जानकारी दिए ।

उनले डिभिजन कार्यालय झापा, जीवजन्तुका क्षेत्रमा काम गरिरहेका सङ्घसंस्था र व्यक्तिहरूलाई तत्काल यस क्षेत्रमा रहेको चितुवा नियन्त्रणमा पहल गरिदिन सामाजिक सञ्जालमार्फत अपिलसमेत गरेका छन् । उनले यस क्षेत्रमा दुई वा सोभन्दा बढी बयस्क चितुवा रहेको दाबी गरे ।

दुई महिनाअघि मेचीनगर–४ बाहुनडाँगीमा समेत चितुवा स्थानीयवासीको एक दर्जन खसीबाख्रा मारेको थियो । कनकाईस्थित जामनुखाडी सामुदायिक वनबाट फलामे खोर ल्याएर पासो थापे पनि हालसम्म चितुवा नियन्त्रणमा लिन नसकेको वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए ।

डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले चितुवाले पशु चौपाय मार्ने खाने गरेता पनि मानवीय क्षति नभएको बताए। उनले चितुवा हिँडिरहने जनावर भएका कारण इलाम झापाको सीमावर्ती क्षेत्रमा बस्ने गरेको हुनसक्ने बताए ।

सात वर्षअघि पनि यही क्षेत्रमा चितुवा देखापरेको थियो । त्यसबेला खोरमा पारेर चितुवालाई नियन्त्रणमा लिइएको वडाध्यक्ष कार्कीले बताए । बाहुनडाँगी नजिकै सीमावर्ती भारतीय क्षेत्रमा वन्यजन्तु आरक्षण केन्द्र भएको हुँदा त्यहाँबाट कहिलेकाहीँ जङ्गली जनावर डुल्दै आइपुग्ने गर्छन् । विगतमा निगाले बाघ र गौरी गाईसमेत बाहुनडाँगीमा फेलापरेका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  ९ : ४० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित