शुक्लाफाँटाका ज्येष्ठ नागरिकलाई भत्ता बुझ्न सास्ती « Khabarhub

शुक्लाफाँटाका ज्येष्ठ नागरिकलाई भत्ता बुझ्न सास्ती


१५ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकावासी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्नकै सास्ती खेप्नु परेको छ । दसैँमा भत्ता नपाएका उनीहरूलाई तिहारका बेला नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको भत्ताको रकम उपलब्ध गराएको हो । 

वडा कार्यालयमार्फत ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको भत्ताको रकम ज्येष्ठ नागरिकले टाढाको बैंक पुगेर बुझ्नु परेको गुनासो गरेका छन् । शुक्लाफाँटा–८ का ८० वर्षीय विरु साउदले बैंकमा लाइनमा बसेर भत्ताको रकम बुझ्नु परेको गुनासो गरे।

‘तीन सय रुपैंया अटो भाडा तिरेर बैंकमा पुग्यौँ,’ उनले भने, ‘निकै भीड हुँदा लाइनमा बस्नु पर्‍यो, यसअघि वडा कार्यालयमा लाइनमा नबसीकनै भत्ताको रकम पाइन्थ्यो, अहिले निकै अप्ठेरो भयो ।’ भत्ताको रकम बुझ्नका लागि अटो भाडा छिमेकीसँग सापटी मागेर बैंकसम्म पुगेका ८५ वर्षीय शेरबहादुर साउदले ज्येष्ठ नागरिकलाई सहज रुपमा सेवा दिनुपर्नेमा उल्टो सास्ती दिने कार्य गरिएको बताए। 

‘घरदैलोमै सेवा दिन्छौँ भन्थे, ज्येष्ठ नागरिकलाई सम्मान गर्छौं भन्थे’, उनले भने, ‘केही वर्ष वडामै भत्ता बुझ्ने व्यवस्था गरे पनि एका एक अहिले चाडपर्वका बेला तीन सय बढी भाडा तिरेर भत्ता बुझ्न बाध्य पारे ।’

सबैभन्दा बढी सास्ती भत्ता बुझ्नका लागि अपाङ्गता भएका व्यक्तिहरूले खेप्नु परेको छ । ह्विल चेयरमा समेत बस्न नसक्ने अपाङ्गता भएका व्यक्तिहरूलाई घरका सदस्यहरूले बोकेर भत्ता बुझ्नका लागि बैंकसम्म पुर्‍याएका छन् ।

वडामा पुगेर भत्ताको रकम नदिने भएपछि बोकेर बैंकसम्म ल्याउनु परेको अपाङ्गता भएका व्यक्तिहरूको भनाइ थियो । नगरपालिका–११ मा भने बैंकले टोलटोलमा पुगेर भत्ताको रकम वितरण गरे पनि अन्य वडाका ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिहरुले बैंकसम्म नै धाउनु परेको थियो । पूर्वनगर प्रमुख दिलबहादुर ऐरले मानवीय दृष्टिले पनि ज्येष्ठ नागरिकलाई घर दैलोमै सेवा पुर्‍याउनुपर्ने बताए। 

ज्येष्ठ नागरिकलाई सहज रुपमा सेवासुविधा दिनुपर्ने भए पनि उल्टै सास्ती दिने कार्य क्षमायोग्य नरहेको उनको भनाइ छ । आफ्नो कार्यकालमा वडा वडा र टोलटोलमा पुगेर भत्ताको रकम दिने कार्य गरिएको उल्लेख गर्दै उनले ज्येष्ठ नागरिकलाई टाढाको बैंकसम्म पुर्‍याउने कार्य न्यायोचित नभएको बताए। नगरपालिकाका १२ वटै वडामा दुईवटा बैंकमार्फत सामाजिक सुरक्षाअन्तर्गतको भत्ताको रकम वितरणको कार्य हुँदै आएको थियो ।

हाल त्यही कार्य गर्ने जिम्मा नगरपालिकाले सम्झौता गरी नौवटा बैङ्कलाई दिएको छ । जनशक्तिको अभावमा बैंकले वडामा पुगेर भत्ताको रकम दिन नसकिने बताएपछि ज्येष्ठ नागरिकले बैंकसम्म पुग्नु परेको नगरपालिकाका जनप्रतिनिधिहरुको भनाइ छ । 

नगरपालिकाबाट ज्येष्ठ नागरिक (अन्य) दुई हजार छ सय २९, ज्येष्ठ नागरिक तीन सय १६, एकल महिला तीन सय ३२, विधवा नौ सय ८४, पूर्ण अपाङ्गता एक सय २३, अति अशक्त अपाङ्गता दुई सय ६२, दलित बालबालिका पाँच सय २९ गरी पाँच हजार दुई सय ४५ जनाले भत्ताको रकम बुझ्दै आएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  १२ : ३० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित