तिहारमा छैन लोडसेडिङको डर, ‘ढुक्कले बत्ती बाल्नुस्, घर उज्यालो बनाउनुस्‌’ « Khabarhub

तिहारमा छैन लोडसेडिङको डर, ‘ढुक्कले बत्ती बाल्नुस्, घर उज्यालो बनाउनुस्‌’

तिहारकै बेला २०० मेगावाट बिजुली भारत निर्यात


१५ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यमपञ्चकको दोस्रो दिन आज देशभर उल्लासका साथ कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदैछ । तिहार सुरु भएसँगै काठमाडौं उपत्यकासहित मुख्य शहर झिलिमिली छन् ।

हिन्दू नेपालीहरूको दोस्रो महान पर्व तिहारका बेला घर तथा मन्दिरहरूमा पूजाआजा तथा दीपावली गर्ने चलन छ । तिहार मनाउन भेला भएकाहरूले साँझ घर–घरमा मैनबत्ती तथा पालामा दीप बाल्ने गर्दछन् ।

बदलिँदो प्रविधिअनुसार अहिले शहरमा अधिकांशले विद्युतीय अर्थात् झिलिमिली बत्ती अत्यधिक बाल्ने गरेका छन् । घरायसी प्रयोजनका लागि बल्ब बाल्ने, पानी तताउने, भात पकाउने, टीभी हेर्ने र मोटर चलाउनेलगायत काममा विद्युत नै आवश्यक पर्छ ।

दैनन्दिन जीवन सहज बनाउन विविधि क्षेत्रमा प्रयोग हुँदा विद्युत माग बढ्ने गरेको छ । खासगरी तिहारका बेला आम ग्राहकले विद्युतीय सामान बढी प्रयोग गर्छन् । सोहीकारण नौ वर्ष अघिसम्म विशेषगरी तिहारका बेला आम नागरिकले लोडसेडिङ भोग्नुपर्थ्यो ।

तर, नेपाल विद्युत प्राधिकरणको नेतृत्व सम्हालेलगत्तै कुलमान घिसिङले विद्युत लोड व्यवस्थापन गरी २०७३ को तिहारलाई झिलिमिली बनाइदिए । उज्यालोको पर्व तिहारमा नागरिकले बिजुली कुर्दै निष्पट्ट अँध्यारो भोग्नुपर्ने स्थिति हट्यो ।

उनै घिसिङ अहिले पनि प्राधिकरणका प्रबन्ध निर्देशक छन् । विद्युत उपलब्धताका हिसाबले देशलाई उज्यालो युगतिर अघि बढाएका घिसिङले हाँकेको प्राधिकरणका अधिकारीहरू भन्छन्, ‘तिहारमा लोडसेडिङ हुन दिँदैनौँ, बिजुली पुगेका ठाउँमा ढुक्कले बत्ती बाल्नुस्, घर उज्यालो बनाउनुस् ।’

यतिखेर आवश्यक पर्ने बिजुली स्वदेशमै उत्पादन भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले बिजुली जडानदेखि महशुल समेत उठाउने गरेको छ । विद्युत आपूर्ति र वितरणको जिम्मा पनि प्राधिकरणकै हो । प्राधिकरणका अनुसार यसपालिको तिहारमा खपत हुने बिजुली स्वदेशकै उत्पादनबाट परिपूर्ति हुनेछ ।

चाडपर्वको बेला भएकाले यतिखेर अधिकांश उद्योग/कलकारखाना पनि बन्द छन् । उद्योगमा करिब एक हजार मेगावाट विद्युत खपत हुँदै आएकोमा अहिले ती उद्योग बन्द छन् । जसकारण विद्युत बचत अवस्थामा छ ।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले विगतका दीपावलीमा बिजुली लोड बढी आउने गरे पनि पछिल्ला तिहारमा १८०० देखि दुई हजार मेगावाट हाराहारीमा लोड आउने गरेको बताए । त्योभन्दा बढी बिजुली खपत हुने अवस्था आए पनि समस्या नहुने घोषको भनाइ छ ।

घोषका अनुसार गार्हस्थतर्फ अत्यधिक बिजुली खपत हुने तिहारका बेला पनि विद्युत उपलब्धता चाहिनेभन्दा बढी भएको छ । बचत करिब २०० मेगावाट बिजुली भारतलाई बेचिएको उनले जानकारी दिए ।

‘तिहार बेला पनि हामी बिजुलीमा सरप्लसमै छौं । हामीहरूले चाडबाडमा पनि बिजुली निर्यात नै गरिरहेका छौं,’ उनले भने, ‘करिब २०० मेगावाट बिजुली अहिले पनि निर्यात भइरहेको छ ।’

प्रवक्ता घोषले ग्राहकहरूलाई तिहारका बेला ढुक्कले बिजुली प्रयोग गर्न आग्रह गरेका छन् । उनले भने, ‘दीपावलीका अवसरमा सम्पूर्ण ग्राहकले ढुक्कले बिजुली बाल्न सक्नुहुन्छ, कतै लोडसेडिङ हुनेछैन ।’

हाल औद्योगिक र घरेलु ग्राहक गरी प्राधिकरणसँग ३० लाखभन्दा बढी ग्राहक छन् । प्राधिकरणका अनुसार अहिले कुल जडित क्षमता करिब ३२०० मेगावाट पुगिसकेको छ । करिब ९८ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको छ । आगामी दुई वर्षभित्र सम्पूर्ण नेपालीको पहुँचमा बिजुलीको सेवा पुर्‍याउने सरकारको लक्ष्य छ ।

क्षतिग्रस्त जलविद्युत आयोजना अझै बनेनन्

गत असोज १० गतेदेखि निरन्तर परेको वर्षाका कारण चलेको बाढीपहिरोका कारण देशभित्र सञ्चालित ठूला क्षमताका जलविद्युत आयोजनासमेत प्रभावित बने । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान) का अनुसार बाढीपहिरोका कारण करिब तीनदर्जन आयोजनामा क्षति पुग्दा ११०० मेगावाट बिजुली राष्ट्रिय प्रणाली बाहिर छ ।

अहिले पनि क्षतिग्रस्त ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना पुनःनिर्माण भई सञ्चालनमा आउन सकेको छैन । अहिले पनि हजार मेगावाटभन्दा बढी बिजुली राष्ट्रिय ग्रीडभन्दा बाहिर नै रहेको प्राधिकरणको दाबी छ ।

४५६ मेगावाटको अपर तामाकोशी, २२.१ मेगावाटको तल्लो हेवाखोला, २२ मेगावाटको माण्डु हाइड्रोपावरलगायत तीन दर्जन आयोजनामा बाढीपहिरोले क्षति पुर्‍याउँदा विद्युत उत्पादन रोकिएको हो । कतिपय प्रसारणलाइनमा समेत क्षति पुग्दा विद्युत प्रवाह रोकिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ४ : ५४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित