मनसुनमा निरन्तर घट्दै पर्यटक आगमन  « Khabarhub

मनसुनमा निरन्तर घट्दै पर्यटक आगमन 


१४ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– घुमफिरका लागि ‘अफसिजन’ मानिने मनसुनमा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमनमा गिरावट आएको छ । गत जेठमा ३४ हजार दुई सय ३० विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा साउनमा जम्मा पाँच हजार सात सय १० पर्यटक आएका छन् ।

गत असारमा कूल १० हजार सात सय ६८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा रविन कडरियाले बताए। असोज लागेपछि पदयात्राका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्ने उनको भनाइ छ । ‘वर्षात्को याम पदयात्राका लागि अनुकूल नहुने हुँदा पर्यटक आगमन घटेको हो’, प्रमुख कडरियाले भने, ‘मनसुन पदयात्राका लागि पनि गन्तव्य पहिचान र प्रवर्द्धनको काम भइरहेकाले पछि यस याममा पनि पर्यटक आकर्षित हुन सक्छन् ।’ असारदेखि भदौसम्मको यामलाई पर्यटन क्षेत्रका लागि ‘अफसिजन’का रूपमा लिने गरिएको उनले बताए ।

आयोजना प्रमुख डा कडरियाका अनुसार अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि असोजदेखि मङ्सिर र चैतदेखि जेठसम्मको समय उत्तम मानिन्छ । सोही याममा पर्यटक आगमन उल्लेख्य रूपमा बढ्ने गरेको छ । (एक्याप)को तथ्याङ्क अनुसार गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र भित्रिएकामा सबैभन्दा बढी चैत महिनामा ३५ हजार दुई सय ६५ विदेशी पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए ।

गत आवमा एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक सो क्षेत्रमा आएका थिए । आव २०७९/८० को तुलनामा झण्डै ५० हजार बढी पर्यटक गत आवमा भित्रिएका थिए । सो आवमा दक्षिण एसियाली मुलुकका ८९ हजार सात सय ७७ र अन्य मुलुकका ८२ हजार सात सय ३३ गरी कुल एक लाख ७२ हजार पाँच सय १० पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए ।

मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेको आयोजना प्रमुख डा कडरियाले बताए । ‘एक्याप’ले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर मुस्ताङ, मुस्ताङलगायतका ठाउँ छिर्ने आन्तरिक पर्यटकको सङ्ख्या यकिन नै गर्न नसकिने आयोजनाले जनाएको छ ।

यहाँको अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्यस्थलले पर्यटकलाई लोभ्याउने गरेको छ । सात हजार ६ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् ।

अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भाव्यता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । हिमशृङ्खलासहितका आकर्षक गन्तव्य स्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिन्छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिने पर्यटक पथप्रदर्शक दिवस गुरुङले बताए  ।

प्रकाशित मिति : १४ भदौ २०८१, शुक्रबार  ४ : ४४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित