धमाधम चीन छाड्दै खेलौना कम्पनी « Khabarhub

धमाधम चीन छाड्दै खेलौना कम्पनी


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ठूलो प्राविधिक कम्पनी, कपडा कम्पनी र जुत्ताचप्पल कम्पनीपछि अब खेलौना उत्पादन गर्ने कम्पनीहरुले चीन छाड्न थालेका छन् । श्रमिकको ज्याला र भूराजनीतिक तनाव बढ्दै जाँदा चीनबाट खेलौना कम्पनीहरु धमाधम दक्षिण तथा दक्षिणपूर्वी एसिया सर्न थालेका छन् ।

ड्रागनबल, तामागोत्ची, एनिमी हिरोजजस्ता सामग्रीको उत्पादन गर्ने जापानको बन्डाई कम्पनीले हालै चीनबाट बाहिरिने तयारी थालेको छ ।रोयटर्सका अनुसार अब यस कम्पनीले चीनबाट आफ्नो उत्पादनलाई थाइल्याण्ड र अरु पूर्वी एसियाली मुलुकतर्फ सार्ने तयारी गरेको छ ।

त्यस्तै, खेलौना र मनोरञ्जन सामग्रीको अर्को ठूलो उत्पादक हास्ब्रोले पनि आफ्नो उत्पादनलाई चीनबाट भियतनाम, मेक्सिको र दक्षिण एसियाली मुलुकमा विस्तार गर्नेबारे विचार गरिरहेको छ ।

बार्बी डल, हट ह्विल्स, मेगा ब्लकजस्ता खेलौनाको उत्पादन गर्ने माटेलले पनि आफ्नो उत्पादन प्रक्रियाको ठूलो हिस्सालाई चीनबाट मेक्सिको र क्यानाडातर्फ स्थानान्तरण गरिसकेको छ । वाल स्ट्रिट जर्नलका अनुसार यस कम्पनीले सन् २०१९ मा नै चीन र इण्डोनेशियामा आफ्नो कारखाना बन्द गरिसकेको छ ।

विश्वका ७० प्रतिशत खेलौना चीनमा मात्रै उत्पादन हुँदै आएको छ । यस्ता खेलौनामा परम्परागत खेलौना, विद्युतीय खैलौना, मेकानिकल र प्लाष्टिक एवम् काठबाट बनेका खेलौना पर्छन् । चीनको ग्वाङ्डोङ प्रान्तको डोङग्वान औद्योगिक सहरलाई विश्वकै खेलौना उत्पादन गर्ने ‘हब’ मानिन्छ । यहाँमात्रै ४ हजारभन्दा धेरै खेलौना उत्पादकहरु सक्रिय छन् ।

यद्यपि पछिल्लो ५ वर्ष (सन् २०१९–२०२४) मा चीनमा खेलौना उत्पादनको स्तरमा शून्य दशमलब ३ प्रतिशतले गिरावट आएको आईबीआईएस वल्र्डले जनाएको छ । युरोपेली र अमेरिकी बजारमा चीनमा निर्मित खेलौनाको माग घट्नु यसको सबैभन्दा ठूलो कारण हो ।

सन् २०२३ को पहिलो ७ महिनामा अमेरिका र युरोपेली बजारमा बिक्री हुनेमध्ये ७९ प्रतिशत खेलौना चीनमा उत्पादन गरिएका हुन्थे । यसको तुलनामा सन् २०१९ मा युरोपेली र अमेरिकी बजारमा बिक्री हुनेमध्ये ८२ प्रतिशत खेलौना चीनमा उत्पादन हुने गरेको थियो ।

यद्यपि अमेरिका चीन व्यापार युद्ध, बढ्दो उत्पादन लागत र सुस्त विश्व अर्थतन्त्रका कारण चिनियाँ खेलौना उत्पादनकर्ताको व्यापार खस्केको छ । केबल ४ दशकअघि खुला बजार अर्थतन्त्रमा प्रवेश गरेको चीन सस्तो ज्याला र सरकारले उपलब्ध गराएको पूर्वाधारका कारण छोटो समयमा नै सबैभन्दा ठूलो खेलौना उत्पादनकर्ता मुलुक बन्न पुग्यो ।

सन् २०२१ मा आईबीएमजस्ता प्रविधि कम्पनीले चीनमा रहेका अनुसन्धान प्रयोगशाला बन्द गरेका थिए । त्यसबाहेक एप्पल, माइक्रोसफ्ट, गुगल, डेल, एचपीजस्ता कम्पनीहरु पनि आफ्नो उत्पादन क्षेत्रलाई भियतनाम र अन्य दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकतर्फ विस्तार गर्ने योजनामा छन् । जनमत सर्वेक्षण एवम् परामर्श प्रदान गर्ने गलोप समूहले पनि चीनबाट बाहिरिने निर्णय गरिसकेको छ ।

यही नोभेम्बर ४ मा फाइनान्सियल टाइम्समा प्रशाशित समाचारअनुसार उक्त समूहले सन् १९९३ देखि चीनमा काम थालेको थियो । चीनका विभिन्न सहरमा सक्रिय समूहको टिममा दर्जनौँ कामदार पनि कार्यरत थिए । तर अब भने यस समूहले चीनमा आफ्नो काम ठप्प पार्ने निर्णय लिइसकेको छ ।

फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार अमेरिकी चेम्बर अफ कमर्सले प्रकाशित गरेको सन् २०२३ को चीन व्यापार प्रतिवेदनमा समावेश एउटा सर्वेक्षणमा सहभागी ३२५ कम्पनीमध्ये ४० प्रतिशतले यसअघि चीनमा गर्ने तय भएको लगानीलाई दक्षिणपूर्वी एसिया वा विश्वका अन्य स्थानमा लैजाने योजनामा रहेको उल्लेख गरेका थिए ।

सन् २०२३ को युरोपेली युनियन चेम्बर अफ कमर्सको सर्वेक्षणमा सहभागी ६४ प्रतिशतले चीनमा व्यापार गर्नु थप कठिन बन्दै गएको बताएका थिए । साउथ चाइना मर्निङ पोस्टका अनुसार जनवरी र जुन महिनाको बीचमा युरोपेली युनियनका ११ प्रतिशत कम्पनीहरुले चीनबाट आफ्नो लगानी बाहिर लगिसकेका थिए ।

चीनबाट अमेरिकी र युरोपेली मात्रै नभई छिमेकी जापान र दक्षिण कोरियाली कम्पनीहरु पनि बाहिरिन थालेका छन् । सीईओ स्कोरका अनुसार पछिल्लो ६ वर्षको अवधिमा दक्षिण कोरियामा माउ कम्पनी रहका ४६ वटा कारखाना एवम् कार्यालयहरुले चीनमा आफ्नो व्यवसाय बन्द गरिसकेका छन् । दक्षिण कोरियाका ठूला कम्पनीहरु सामसुङ, ह्युण्डाइ, एलजीले चीनबाट आफ्ना कारखानालाई भियतनाम र जापानजस्ता मुलुकमा स्थानान्तरण गरिसकेका छन् ।

त्यसैगरी, जापानी कम्पनीहरुले पनि चीनबाट आफ्नो कारखानालाई स्थानान्तरण गरेर भियतनाम र अन्य दक्षिण एसियाली मुलुकमा लगेका छन् । चीनबाट कारखाना अन्यत्र स्थानान्तरण गर्ने जापानी कम्पनीहरुमा टोयोटा, होण्डा, निस्सान, मज्दा, सुजुकी, कावासाकी, मित्सुबिसी, तोसिबा, हिटाची, सोनी पनि छन् ।

पछिल्लो समयमा ताइवानमाथि आक्रमण गर्ने चीनको चाहना र अमेरिकासँग चिसिएको सम्बन्धले गर्दा धेरै कम्पनीहरु चीनमा व्यवसाय गर्नु जोखिमपूर्ण हुने निष्कर्षमा पुग्न थालेका छन् ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १२ : ५६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित