प्रचारप्रसार नहुँदा ओझेलमा परशुरामधाम « Khabarhub

प्रचारप्रसार नहुँदा ओझेलमा परशुरामधाम


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख प्रसिद्ध तीर्थस्थल परशुरामधाम पूर्वाधार विकास र प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ । परापूर्वकालमा विष्णुका अवतार मानिने परशुरामले तप गरेको क्षेत्रका रुपमा परिचित यो क्षेत्र डडेल्धुराको भित्री मधेसमा पर्छ । 

स्कन्द पुराणमा उल्लेख भएअनुसार नजिकै रहेको पूर्णगिरि मन्दिर सतीदेवीको पूर्ण अङ्ग पतनपछि भगवान शिवले यही धाममा लामो समय तपस्या गरेको यहाँका जानकार बताउँछन् ।

‘सबै तीर्थ पटक–पटक परशुराम एकपटक स्कन्द पुराणको मानसखण्डमा उल्लेखित उक्त बचनले नै परशुरामधामको धार्मिक महत्व दर्शाउँछ’, जानकार कैलाश पाण्डेयले भने , ‘भगवानका दस अवतारमध्ये परशुराम अवतार भएको यो क्षेत्रमा स्नान गरे अन्य तीर्थस्थलको भन्दा दश गुण बढी फल पाइने जनविश्वास छ ।’ 

भगवान शिवले तपस्या गरेपछि ईश्वरीय अवतारका लागि यही पुण्य भूमिमा परशुराम अवतार भएको किम्वदन्ती छ । ‘महाकाली नदीको किनारामा रहेको चुनढङ्गामा बसेर भगवान शिव र विभिन्न ऋषिहरूले तपस्या गरेको उल्लेख पुराणमा छ’, पाण्डेयले भने, ‘धामसम्म पुग्ने सुविधा सम्पन्न सडक नहुँदा इच्छा हुँदाहुँदै पनि तीर्थालु यहाँ पुग्न सकिरहेका छैनन् ।’ उनले सरकारले महाकाली करिडोरको काम छिटो सम्मन्न गर्नुपर्ने बताए । 

‘महाकाली करिडोर  निर्माण भए सुदूरका अन्य चार जिल्लामा रहेका धार्मिकस्थल पनि यो धामसँग जोडिन्छन्’, उनले भने, ‘भारतका धार्मिक पर्यटकका लागि पनि यो मार्ग छोटो हुने भएकाले करिडोरले यहाँ पर्यटक बढ्ने आशा छ ।’ एकातिर चुरे पर्वत शृङ्खला र अर्कोतिर महाभारत पर्वतसँगै भारतको पूर्णागिरि पर्वतको मध्य भागमा रहेको परशुरामधाम डडेलधुरा सदरमुकामदेखि एक सय किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको दूरीमा सडक मार्गबाट पुग्न सकिन्छ ।

 धार्मिक पर्यटकीय दृष्टिकोणले पनि परशुरामधाम पर्यटक भित्राउन सकिने क्षेत्रमध्येको रमणीय क्षेत्रका रुपमा विकास हुनेछ । परशुरामधामदेखि सात किलोमिटरको दूरीमा रहेको पूर्णागिरी मन्दिर छ । त्यहाँ हरेक वर्ष तीन महिना मेला लाग्नेगर्छ । त्यहाँ आएका तीर्थालु परशुरामधामसम्म पुग्न सडक सञ्जाल छैन । त्यसैले भारत सरकारसँग कूटनीतिक पहल गरेर महाकाली नदीमा पुल निर्माण गर्नसके भारतीय तीर्थालुसमेत धाममा आउने परशुरामधाम मन्दिरका पूजारी वसन्त प्रकाश जोशीले बताए । 

‘भारतबाट अहिले न्यून दर्शनार्थी आउँछन् तर यहाँ आउनका लागि नाम मात्रैको बाटो छ’, पूजारी जोशीले भने, ‘यहाँ सडक सञ्जाल र अन्य पूर्वाधार विकास भएमात्रै धार्मिक पर्यटक आउँछन् ।’ 

उहाँले अहिले सुदूरपश्चिम, छिमेकीमूलुक भारत र नेपालको विभिन्न स्थानबाट तीर्थालु आउने गरेको बताए। धार्मिक पर्यटनका दृष्टिकोणले परशुरामधाम हिन्दूको पवित्र धार्मिकस्थल भए पनि यसको महत्वबारे प्रचारप्रसार हुन नसकेको यहाँका स्थानीय प्रेमसिंह भण्डारी बताउँछन् । 

‘हामीले धामको धार्मिक महत्वबारेमा सबैलाई जानकारी नै दिनसकेका छैनौँ’, उनले भने, ‘सबैभन्दा पहिला सुविधा सम्पन्न सडक हुनुपर्छ त्यसपछि पर्यटक आउन थाल्छन ।’ उनले महाकाली करिडोरले ठूलो आशा जगाएको बताए। 

‘करिडोरले सुदूरपश्चिमको तराई र पहाड जोड्छ यो छोटो दुरीको सडक हो’, उनले भने, ‘यसले दार्चुलाको मालिकार्जुजनदेखि परशुरामधामसम्म जोड्छ ।’

परशुरामधाममा प्रत्येक वर्ष माघे सङ्क्रान्तिमा भव्य मेला लाग्ने गर्दछ । पुस मसान्तको साँझ यहाँ आएर रातभर आगो तापेर भक्तजन जागाराम बस्ने गर्दछन् । भोलिपल्ट सवेरैदेखि महाकाली किनारमा नुहाउने भक्तजनको भीड लाग्छ ।

 माघे सङ्क्रान्तिको दिन गङ्गा स्नान गरेमा सम्पूर्ण पापकट्टी हुने तथा पुण्य कमाइने विश्वास गरिन्छ । परशुरामधाम डडेल्धुरा सदरमुकामदेखि एक सय किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको दूरीमा सडक मार्गबाट पुग्न सकिन्छ । 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ७ : २३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित