पशुपालनबाट आत्मनिर्भर बनेका शिक्षक « Khabarhub

पशुपालनबाट आत्मनिर्भर बनेका शिक्षक


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिक–६ गोलौराका ३७ वर्षीय डम्बर डाँगीको दिनचर्या बिहान बेलुका गाईभैँसीका बाच्छाबाच्छी/पाडापाडीको स्याहारसुसार तथा दिउँसो अध्यापन कार्यमा बित्ने गरेको छ ।

बिहान मिर्मिर उज्यालोदेखि ८ बजेसम्म र बेलुका ५ः३० देखि ८ बजेसम्म  गाईभैँसीका बाच्छाबाच्छी र पाडापाडीको स्याहारसुसार गर्ने, दूध बिक्री वितरणको व्यवस्था गर्नेलगायत काममा बित्ने गरेको छ । दिउँसोको समयमा भने शिक्षण पेसामा बित्ने गरेको उनले बताए ।

डाँगी छोटो समयमा व्यावसायिक रूपमा पशुपालन गरेर एक सफल उद्यमीको रूपमा आफूलाई चिनाउन सफल भएका छन् । उनी तुलसीपुर–१० मा रहेको एक निजी विद्यालयका शिक्षक हुन् । उनले १५ वर्षदेखि उक्त विद्यालयमा अध्यापन गराइरहेका छन् ।

साथै नौ वर्षदेखि पशुपालनमा लागेका डाँगी अहिले घरपरिवारका  सदस्यसहित यो पेसालाई निरन्तरता दिँदै छन् । उनले स्थानीय पाँच जनालाई रोजगारीसमेत दिएको बताए ।

डाँगीका अनुसार दुई जनाले पूर्ण र तीनले आंशिक रूपमा रोजगारी गरिरहेका छन् । उनले भने, ‘वार्षिक करिब १२ देखि १३ लाख रुपैयाँ बचत गर्न सफल भएको छु । विसं २०७१ मा लक्ष्मी सेवा पशुपालन फर्म दर्ता गरी व्यावसायिक रूपमा भैँसीपालनको सुरुवात गरेको थिएँ ।’

डाँगीले सुरुमा चार लाख रुपैयाँको लागतमा पाँच वटा उन्नत जातका मुर्रा भैँसी र एउटा होलेस्टन उन्नत जातको गाई खरिद गरी पशुपालन थालेको जानकारी दिए । उनका अनुसार अहिले फर्ममा गाई तथा बाच्छाबाच्छी २१ र भैँसी तथा पाडापाडी १२ गरी ३३ वटा पशुचौपाया रहेका छन् । तीमध्ये १० गाई तथा सात वटा भैँसी दुहुना छन् ।

भैँसीले दैनिक ९० देखि ९५ लिटरसम्म दूध दिने गरेको भन्दै उक्त दूधलाई  तुलसीपुर बजारका डेरी उद्योगमा बिक्रीका लागि लग्ने गरिएको डाँगीले बताए । केहीले दूध फर्मबाटै खरिद गरी लैजाने गरेका उनको भनाइ थियो ।

कोरोना महामारीका समयमा उत्पादित दूधले उचित बजार नपाउँदा केही घाटा बेहोर्नु परेको भन्दै अहिले भने बजारमा कुनै समस्या नरहेको डाँगीले बताए । दाङमा अहिले दूधप्रतिलिटर ९० रुपैयाँ र दही एक सय रुपैयाँ रहेको छ ।

शनिबार डाँगीको फर्ममा दूध खरिद गर्न आएकी तुलसीपुर–६ गोलौरीकी ४३ वर्षीया सरस्वती चौधरीले आफ्नै घर आगनमा शुद्ध दूध खान पाइएको बताइन् । उनले भनिन्, ‘पहिले पहिले एक लिटर दूध किन्न तुलसीपुर बजार जानुपर्ने बाध्यता थियो । तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुसी लागेको छ ।’

डाँगीले फर्ममा अहिलेसम्म ६० लाख रुपैयाँ सम्म लगानी भइसकेको जानकारी दिए । उनका अनुसार दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक रू २५ देखि २८ लाखसम्म आम्दानी हुने गरेको छ । आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर गत वर्ष झन्डै १२ लाख रुपैयाँ आम्दानी भएको उनले बताए ।

डाँगीले भने, ‘धेरै युवा जीविकोपार्जनका लागि विदेशिन थालेका समाचार दिनहुँ आउन थालेपछि स्वदेशमै स्वरोजगार सृजना गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि व्यवसाय सुरु गरेको थिएँ । पशुपालन व्यवसायबाट पनि प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने सन्देशसहित पाँच जना युवालाई रोजगारीसमेत दिन सक्षम भएको छु ।’

समयको व्यवस्थापन आफूले पढाउने विद्यालय घरदेखि नजिकै रहेकाले बिहान बेलुका र बिदाको समयमा पशुपालनमा रमाउने गरेको डाँगीले बताए । १० देखि ५ बजेसम्म विद्यालयमा हुने भन्दै बाँकी समय फर्मलाई दिने गरेको उनको भनाइ थियो । परिवारका सदस्यले समेत उनको यस कामलाई सघाइरहेका छन् ।

डाँगीले दुई बिघामा फर्म सञ्चालन गरेका छन् । घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरणलगायत अन्य सामग्री खरिद गर्दा लागत खर्च बढेको उनले बताए। ‘अहिलेसम्म सरकारी कुनै निकायबाट केही सहयोग पाएको छैन’, उनले भने, ‘अरु समयभन्दा जाडोको समयमा उत्पादित दूधजन्य वस्तुलाई बिक्रीमा केही समस्या हुने गरेको छ ।’

कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भन्दै डाँगीले अहिले फर्ममा विभिन्न ठाउँबाट गाईभैँसी अवलोकन गर्न, दूधजन्य वस्तु तथा पशुचौपाया खरिदका लागि मानिस आउने गरेका बताए ।

पढेलेखेका पैसा कमाउन वा जागिर खान विदेश नै जानुपर्छ भन्ने छैन भन्दै स्थानीय स्तरमा स्वरोजगार सृजना गर्न सकिने उनको सुझाव छ । युवालाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम राज्यले सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

उत्पादित सामग्रीलाई बजारको प्रबन्ध गर्न सकेमा किसानलाई बजारीकरणमा सहजता हुनुका साथै हौसला मिल्ने डाँगीको अनुभव छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ४ : ०६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित