वातावरणीय न्यायका लागि काठमाडौँमा पदयात्रा « Khabarhub

वातावरणीय न्यायका लागि काठमाडौँमा पदयात्रा


२३ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व वातावरण दिवसका अवसरमा ‘वातावरणीय न्यायका लागि सँगसँगै पदयात्रा’ गरिएको छ । 

जलवायुका क्षेत्रमा कार्यरत संस्था साथसाथैको मुख्य आयोजना र अन्य विभिन्न ६४ संस्थाको समन्वयमा आज भद्रकालीबाट सुरु भएको पदयात्रा सुन्धारा न्युरोड हुँदै वसन्तपुरमा सभामा परिणत भएको थियो ।

सभामा उपसभामुख इन्दिरा रानामगरले नेपालको आर्थिक समृद्धिको मुख्य आधार र पर्यटकको मुख्य आकर्षक हिमाल पग्लिएर कालापत्थरमा परिणत हुन लागेका विषय चिन्ताको विषय भएको बताए। 

उनले भने, ‘यो सबैको सरोकारको विषय बन्नुपर्छ र यसको समाधानका लागि आजैदेखि सबै आ–आफ्नो तर्फबाट जुट्औँ । आफ्नो दिनचर्यामा वातावरण संरक्षणका लागि विद्युतीय चुलोको प्रयोगबाटै सुरुवात गरौँ ।’

उपसभामुख रानामगरले जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य भए पनि यसका कारण नेपालले विभिन्न विपद्, बेमौसमी तथा अनियमित वर्षा, कृषि तथा बालिनालीमा असरलगायतका समस्या भोग्नु परेको बताए । कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले जलवायु परिवर्तनका कारण नेपालका हिमाल कालो हुँदै गएको बताए। 

उनले वातावरणीय विनाशका कारण स्थानीय जनता विस्थापित हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै आजैदेखि वातावरण संरक्षणमा जुट्न सबैलाई ऐक्यबद्धता गर्न आग्रहसमेत गरे । उनले विकासका नाममा हेलचेक्र्याइँ गर्दा विनाश निम्तिरहेको तर्फ सरकारको ध्यानाकर्षण गराए ।

नेकपा (एमाले) का सचेतक सुनिता बरालले वातावरण संरक्षणका क्षेत्रमा आफूहरू नीतिगत रूपमै काम गर्न सांसदहरूको समूह बनाउने तयारीमा रहेको जानकारी गराए। नेपाली कांग्रेसका नेत्री एवं संविधानसभा सदस्य लक्ष्मी परियारले वातावरण संरक्षणमा सरोकारवालासँगै राजनीतिकर्मी पनि संवेदनशील भएर लाग्नुपर्नेमा जोड दिए ।

मधेसी आयोगका सदस्य रेणुदेवी साहले नेपालको सुन्दर प्राकृतिक सम्पदा जोगाएर पर्यटन प्रवर्द्धन गर्नसके मात्र समृद्धि हासिल हुने बताउँदै यसमा सबैले ऐक्यबद्धताका साथ लाग्नुपर्नेमा जोड दिए । 

साथ साथैका अध्यक्ष प्रजिता कार्कीले वातावरण जोगाउन सबैको सहकार्यको आवश्यकता औँल्याउँदै यसका लागि आजैदेखि सबैले व्यक्तिगत रूपमै घरपरिवारबाटै पहलकदमी लिनुपर्ने बताए । कार्यक्रममा उपस्थित सबै संस्थाका प्रतिनिधिले वातावरण संरक्षणका लागि ऐक्यबद्धता जनाएका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  १ : २५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित