कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन  « Khabarhub

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन 


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने बताएका छन् ।

बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पुनले करका दर हेरफेरमा कसैको दबाब वा स्वार्थपूर्ति हुने गरी काम नगर्ने प्रतिबद्धता जनाए । राजश्वका दरहरू हेरफेर गर्दा सरोकारवालाहरूसँग परामर्श गरी उनीहरूका सुझावका आधारमा निर्णयमा पुगिने उनको भनाइ थियो ।

‘करका दर घटाउने, बढाउने, विस्तार गर्ने वा छुट दिने जे गर्दा पनि विगतमा अर्थमन्त्री वा अर्थ मन्त्रालयलाई विवादमा पार्ने गरिएको छ’, मन्त्री पुनले भने, ‘मन्त्रीको व्यक्तिगत इच्छामा वा निकटताका आधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन भन्ने हाम्रो प्रतिबद्धता हो ।’ उनले कुन वस्तुमा पहिला कति थियो र अहिले किन घटाइयो वा बढाइयो भन्ने तर्कपूर्ण कारण देखाएर करकाे दरमा हेरफेर गरिने स्पष्ट गरे ।

आफूले सरकारवालाहरूको सहभागितामा बजेट बनाउन लागेको भन्दै मन्त्री पुनले यसअघि पूर्व अर्थमन्त्रीहरु, नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर, पूर्वअर्थसचिव, पूर्वाधार, स्वास्थ्य र शिक्षा क्षेत्रका विज्ञसँग छलफल गरी सुझाव संकलन गरिसकेको उल्लेख गरे ।

निजी क्षेत्रका छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्स र महिला उद्यमीसँग पनि छिट्टै छलफल गर्ने तय भएको जानकारी मन्त्री पुनले दिए । मुलुकको भू–अवस्थिति, प्राकृतिक श्रोत र जनशक्तिका आधारमा विकासका योजना बनाउने सरकारको नीति रहेको बताए ।

सरकारको नीति र नीतिगत निरन्तरताका कारण पर्यटन, ऊर्जा र सिमेन्ट उद्योगमा नेपालमा पछिल्लो डेढ दशकमा राम्रो प्रगति गरेको चर्चा गर्दै युवा वर्गलाई लक्षित गरी सूचना प्रविधि क्षेत्र, स्टार्टअप र नवप्रवर्तनलाई आगामी दिनमा प्राथमिकतामा राख्ने नीतिमा सरकार रहेको उनको भनाइ थियो । एक अध्ययनले आगामी ५ वर्षमा सूचना प्रविधिका ५ खर्ब बराबरका उत्पादन निर्यातको सम्भावना औँल्याएकाले उक्त क्षेत्रको सम्भावनालाई व्यक्त गर्ने भनाइ मन्त्री पुनको छ ।

पछिल्लो तीन दशकमा नेपालको सरदर आर्थिक वृद्धि ४. २३ प्रतिशत मात्र रहेको उल्लेख गर्दै उनले त्यसको कारण सबै मिलेर खोज्नुपर्ने बताए । नेपाल विशाल जनसंख्या र ठूलो अर्थतन्त्र भएका भारत र चीनको बीचमा रहेको भन्दै उनले दुवै छिमेकीको गरेका विकासको प्रतिफल लिन सक्नुपर्नेमा जोड दिए ।

नेपालभित्रै र बाहिर रहेका युवाहरूमा सूचना प्रविधि क्षेत्रमा आकर्षण देखिएको भन्दै मन्त्री पुनले लगानी सम्मेलनको पूर्व सन्ध्यामा सरकारले ल्याएको अध्यादेशमा नेपालमा लगानी गरेर आर्जन गरेको धन बाहिर लैजान र बाहिर आर्जन गरेको नेपाल ल्याउन दिने व्यवस्था गरिएको जानकारी उनले दिए ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ६ : ०५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित