सडक अवरुद्ध हुँदा बागलुङका पर्यटकीय क्षेत्र सुनसान « Khabarhub

सडक अवरुद्ध हुँदा बागलुङका पर्यटकीय क्षेत्र सुनसान


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बनेका छन् । बर्खाका कारण ठाउँ–ठाउँमा बाढी पहिरोले सडक अवरुद्ध हुँदा दुई महिनादेखि यहाँका पर्यटकीय क्षेत्र सुनसान बनेका हुन् । 

बराह ताल, बेलढुङ्गा, गाजाको दह, घुम्टे, दिदीबहिनी झरना, सोलेडाँडालगायत दर्जनौँ पर्यटकीय क्षेत्र सुनासन छन् । धेरै पर्यटक पुग्ने ढोरपाटन बराह मन्दिर र सिकार आरक्ष क्षेत्रमा पनि यो बेला पर्यटकको सङ्ख्या निकै कम भएको छ । गत वर्ष यो बेला पर्यटकीयस्थलमा चहलपहल बढ्न थालेको थियो । अहिले वर्षा नरोकिएको हुँदा सडक खुल्न सकेका छैनन् । सडक खुल्न नसक्दा घरबास (होम–स्टे) पनि सञ्चालन हुन सकेका छैनन् । 

घरबासमा पाहुना पुग्न नसक्दा स्थानीय उत्पादनले बजारसमेत पाउन सकेका छैनन् । जिल्ला सदरमुकाम बागलुङबजार नजिकै रहेको कालिका मन्दिर, पञ्चकोट र शालग्राम सङ्ग्रहालयमा पनि पर्यटकको सङ्ख्या घटेको छ । यस वर्ष लामो झरीले गर्दा आधा असोज बितिसक्दा पनि सडक खुल्न सकेका छैनन् । 

गत वर्ष यति बेला सोलेडाँडामा पर्यटकको चहलपहल बढेको भए पनि अहिले सुनासन रहेको तमानखोला गाउँपालिका–३ का पूर्ण बुढा मगरले बताए। असोज लागिसक्दा पनि वर्षा नरोकिँदा सडक खुलाउन नसकेको उनको भनाइ छ । सडक बन्द हुँदा घुम्न आएका पर्यटक बीच बाटोबाटै फकिर्ने गरेको बुढा मगर बताउँछन्।

बुढा मगरले भने, ‘असोजको पहिलो सातातिर वर्षा रोकिएको थियो, अहिले फेरि वर्षा हुन थालेको छ, बर्खाले गर्दा बाटो धेरै ठाउँ बिग्रिएको छ, पर्यटक सजिलै घुम्ने ठाउँमा पुग्न सकेका छैनन्, सोलडाँडामा यो बेला पोहोर परार साल निकै धेरै मान्छे आउँथे, तर अहिले आएका छैनन्, आएकाहरू पहिरोले सडक पुरिएपछि फर्किएर जान्छन्, अब कात्तिक लागेपछि मात्रै बाटो खुल्छ होला, त्यसपछि बल्ल पर्यटकको लर्को लाग्छ ।’

यो याम ढोरपाटन घुम्नका लागि निकै उपयुक्त समय मानिन्छ तर सडकको दुरवस्थाका कारण निकै कम सङ्ख्यामा पर्यटक आएको ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन अदैले बताए । अघिल्लो महिनासम्म सयौँ पर्यटक ढोरपाटन पुग्ने गरेको भन्दै असोज लागेपछि धेरै ठाउँमा सडक बिग्रिँदा यात्रा कठिन हुँदा पर्यटक घटेको उनको भनाइ छ । बुर्तिबाङदेखि ढोरपाटनसम्मको करिब ३२ किलोमिटर सडकमा यात्रा गर्दा पर्यटकले सास्ती खेप्नुपरेको अध्यक्ष अदै बताउँछन्। यो सडक स्तरोन्नति नभएसम्म हजारौँ पर्यटकले बर्सेनि समस्या बेहोर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

‘धेरै पर्यटकको रोजाइमा अहिले ढोरपाटन परेको छ, ढोरपाटन आउने बुकीपाटन पनि जान चाहन्छन्, तर बुर्तिबाङबाट यहाँसम्म आउने सडकको अवस्था खराब हुँदा पर्यटक चाहेर पनि आउन सकेका छैनन्’, अध्यक्ष अदैले भने, ‘अघिल्लो महिनासम्म पर्यटकको सङ्ख्या राम्रो थियो, पछिल्लो झरीले गर्दा ह्वात्तै घट्यो, दसैँ नजिकिँदैछ, यो बेला हजारौँको सङ्ख्यामा पर्यटक आउँथे, तर सडकका कारण आउन सकेका छैनन्, वर्षा रोकिएर सडक सुधार भयो भने आउनेछन् ।’

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले वर्षा रोकिएपछि पर्यटकीय क्षेत्रमा पुग्नेसहित ग्रामीण सडक खुलाउने बताए। यस वर्षको वर्षाले मध्यपहाडी लोकमार्गसहित ग्रामीण सडकमा ठूलो क्षति पुर्‍याएको हुँदा खुलाउन केही समय लाग्ने उनको भनाइ छ । 

वर्षा रोकिए दसैँ अगावै सबै अवरुद्ध सडक खुलाउने गरी तयारी गरिएको भण्डारीले जानकारी दिए। 

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  २ : ०६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित