मन्त्रालयलाई पत्तै नदिई नियम विपरीत निजीलाई परीक्षा अनुमति  « Khabarhub

मन्त्रालयलाई पत्तै नदिई नियम विपरीत निजीलाई परीक्षा अनुमति 


८ जेष्ठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सवारी चालक अनुमतिपत्रको परीक्षा, वितरण, नवीकरणलगायतका कार्य गर्दै आएको यातायात व्यवस्था कार्यालय भक्तपुरले प्रदेश मन्त्रालयलाई पत्तै नदिई निजी क्षेत्रलाई परीक्षाको अनुमति दिएको छ । कार्यालयले आजदेखि लागू हुने गरी मध्यपुरथिमि राधेराधेस्थित बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल प्रालीलाई सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको अनुमति दिएर परीक्षा सञ्चालन गरेको हो ।
यस्तो व्यवस्था गर्दा सम्बन्धित मन्त्रालयसँग छलफल एवं अनुमति लिएर नियमसङ्गत रूपमा कार्य गर्नुपर्नेमा कार्यालय प्रमुखले नियम विपरीत निजी क्षेत्रलाई परीक्षा सञ्चालन गर्ने अनुमति दिएर अनियमितता गरेको आरोप लागेको छ ।

बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई समेत कुनै जानकारी नै नदिई परीक्षाको अनुमति निजी क्षेत्रलाई दिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका सचिव अस्मान तामाङले लिखित परीक्षा निजी क्षेत्रलाई दिएका बारेमा आफूलाई कुनै जानकारी नै नभएको बताए । उनले भने , “त्यसो गरिएको हो भने त्यो अनियमितता हो, त्यहाँका कार्यालय प्रमुखले बदमासी काम गरेका छन्, आफ्नो परीक्षा कार्यालय हुँदाहुँदै निजी क्षेत्रलाई दिनु बदमासी नै हो ।”

मन्त्रालयका सचिव तामाङले आफ्नो कार्यालयमा परीक्षा सञ्चालन गर्दागर्दै निजी क्षेत्रलाई परीक्षा सञ्चालन गर्न दिने कुनै कार्यविधि नबनाएको समेत बताए ।

कार्यालय प्रमुख शिवकुमार निरौलाले भने कार्यविधिबमोजिम निजी क्षेत्रलाई दिएको दाबी गरे । उनले भने, “२०७८ भन्ने एउटा कार्यविधि छ, सवारी चालक परीक्षा, प्रयोगात्मक परीक्षा स्थल छनोट कार्यविधि, त्यहीअनुसार दिएका हौँ, प्रयोगात्मक परीक्षा सञ्चालन गर्नेले निःशुल्क परीक्षा हल उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ, त्यहीबमोजिम दिएका हौँ ।”

कार्यविधिअनुसार नै दिने हो भने पनि हाल प्रयोगात्मक परीक्षा सञ्चालन भइरहेको इजिवे ट्रायल सेन्टरलाई दिनुपर्ने हो, तर त्यसो नगरी अनियमितता गर्दै कार्यालय प्रमुखले दाबी गरेकै कार्यविधि विपरीत परीक्षा सञ्चालनको अनुमति मनोमानी ढङ्गले दिएको कार्यालयका एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार कार्यालयका अन्य कर्मचारीलाई समेत पत्तो नदिई चलखेल गर्दै हिमालय टाइम्स पत्रिकामा सूचना प्रकाशित गरेर कार्यविधि विपरीत निजी क्षेत्रलाई परीक्षा सञ्चालनको अनुमति दिइएको हो ।

कार्यालयले बस र मिनीबसको प्रयोगात्मक परीक्षाको अनुमित पनि बुढाथोकी मोटर ड्राइभिङ सेन्टरलाई दिएको छ । भक्तपुरमा अब बस र मिनीबसको समेत सवारी चालक अनुमतिपत्र लिनका लागि प्रयोगात्मक परीक्षा सञ्चालन बुढाथोकी मोटर ड्राइभिङ सेन्टरमा गर्ने गरी सम्झौता गरेको छ ।

कार्यालय प्रमुख निरौलाले भने, “बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल प्रालिलाई बस र मिनीबसको प्रयोगात्मक परीक्षा सञ्चालन गर्न सम्झौता गरिसक्यौँ, मन्त्रालयले कोटा खुलाएपछि सुरु हुन्छ, कार्यविधिमा प्रयोगात्मक परीक्षा जहाँ सञ्चालन हुन्छ, त्यहीँ निःशुल्क परीक्षा हलको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ, त्यहीअनुसार दिइएको हो ।”

कार्यालय प्रमुखले दाबी गरेअनुसार २०७८ को कार्यविधि भने पनि कार्यालयले हालसम्म यो कार्यविधिलाई टेकेर यसखालको निर्णय नभई आफ्नै कार्यालयमा परीक्षा हलको व्यवस्था गर्दै परीक्षा सञ्चालन गर्दै आएको थियो । कार्यविधिलाई नै मान्ने हो भने पनि उक्त प्रालिलाई बस र मिनीबसको लिखित परीक्षाको मात्रै अनुमति दिनुपर्ने हो तर अनियमितता गर्दै सबैको लिखित परीक्षा एकै ठाउँमा गर्ने सम्झौता गरेको कर्मचारीकै भनाइ छ ।

यसबारेमा कार्यालय प्रमुख निरौलाले कार्यविधिअनुसार बस र मिनीबसको प्रयोगात्मक परीक्षा सुरु भए पनि लिखित परीक्षाको स्थलको अनुमति दिनुपर्ने भए पनि हाल भएको कार्यालयमा ठाउँ साँघुरो भएका कारण दिएको बताए । उनले भने, “कार्यालयको लिखित परीक्षा सञ्चालन गर्ने हल साँघुरो भो, त्यहाँ ८० जना परीक्षार्थी खाँदेर राख्नुपर्छ, घाम लाग्दा तातो न तातो हुने, पानी पर्दा जस्ताको आवाजले ‘डिस्टर्भ’ हुने भो, कार्यालयमा भीडभाड पनि कम गर्न र परीक्षार्थीको हितका लागि निजी क्षेत्रलाई दिएका हौँ ।”

तर परीक्षार्थीले भने कार्यालयले निकै दुःख दिएको बताएका छन् । आज परीक्षा केन्द्रमा आएका परीक्षार्थीले परीक्षाका लागि दस्तुर बुझाउन, फोटो खिच्न, स्वास्थ्य परीक्षणलगायतको प्रक्रियाका लागि कार्यालयमा जानुपर्ने, लिखित परीक्षाका लागि अन्तै जानुपर्ने र फेरि प्रयोगात्मक परीक्षाका लागि अन्तै जानुपर्ने व्यवस्था गरेर दुःख दिएको बताएका छन् ।

सूचना अधिकारी गोविन्दराज शिवाकोटीले भने कार्यालयले अहिलेको परीक्षा हललाई बैठक हल बनाउने योजना गरेको बताउँदै यातायातका बारेमा आएका धेरै गुनासोलाई सम्बोधन गर्न कार्यालयले सुधारको प्रक्रिया थाल्नुपर्ने बताए ।

यता बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल प्रालिका सञ्चालक खगेन्द्र बुढाथोकीले भने नियमानुसार नै लिखित परीक्षा सञ्चालनको अनुमति पाएको दाबी गरे । कार्यालयले मापदण्ड पूरा गरेका परीक्षा हल निःशुल्क उपलब्ध गराउन बोलपत्र आह्वान गरेपछि बोलपत्र पेस गरेर आफ्नो प्रालि नियमानुसार छनोटमा परेको उनले बताए ।

“त्यसमा अनियमितताको कुरा आउँदैन, यसले बिचौलियालाई मात्र समस्या पार्ला”, उनले भने, “हामीले नियमानुसार यातायात कार्यालयले लिने परीक्षा हल निःशुल्क उपलब्ध गराउने सम्झौता गरेका हौँ, चाबहिलस्थित प्रयोगात्मक परीक्षा स्थलमा पनि यसैगरी वर्षौंदेखि लिखित परीक्षा सञ्चालन भइरहेको छ, त्यहाँ जसरी भयो, यहाँ पनि त्यसैगरी भयो ।”

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ८ : ०४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित