लिफ्टमार्फत घरमै पानी आएपछि स्थानीय खुसी « Khabarhub

लिफ्टमार्फत घरमै पानी आएपछि स्थानीय खुसी


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानी भेडिखर्कका ४६ वर्षीय पुष्पा पुनको आगनमा नयाँ खानेपानी धारा निर्माण भएको एक महिना भयो । यसअघि खानेपानीका लागि निकै कष्ट भोग्दै आएकी पुन अहिले लिफ्टमार्फत गाउँमुनिको पानी घरमै आएपछि दङ्ग छिन् । 

‘बर्खामा घर माथिको सामुदायिक धारामा दिनको दुई घण्टा पानी आउँथ्यो, हिउँदमा घर नजिकैको कुवामा पानी लिन जानुपर्दथ्यो’, पुनले भनिन्, ‘एक महिना भयो घरमै खानेपानीको धारा आएको छ, २४ सै घण्टा धारामा पानी खस्दा दैनिकी बद्लिएको छ, अहिले पानीका लागि समय छुट्टाउन पर्दैन ।’

बर्खामा सामुदायिक धारा प्रयोग गरेपनि हिउँदमा कुवाको पानीमा निर्भर रहेका यहाँका स्थानीय अहिले गाउँमुनिको पानी घर–घरमै आउन थालेपछि खुसी भएका छन् । स्रोत अभावका कारण लामो समयदेखि खानेपानीको संकट भोग्दै आएका यहाँका ३९ घरमा नेपाल स्वास्थ्यका लागि पानी(नेवा)ले लिफ्टमार्फत खानेपानी पुर्‍याएको हो । 

छ सय ६० मिटर तलको झाँक्रिस्थानको मूलबाट उक्त पानीलाई गाउँमाथि पुर्‍याएर वितरण गरिएको नेवा कार्यक्रमका अधिकृत विनोद कोइरालाले बताए । विसं २०७२ सालको भूकम्पपछि यहाँका खानेपानीको मुहान सुकेपछि खानेपानीको समस्या हुँदै आएको थियो । लिफ्टमार्फत घर–घरमै पानी आउन थालेपछि दैनिकी सहज भएको स्थानीयले बताएका छन् । 

बस्ती भन्दा छ सय ६० मिटर तल रहेको मूलको पानी माथिसम्म आउला भनेर कल्पना नै नगरेको स्थानीय मीना पुनले बताइन्। ‘खानेपानीको निकै दुःख थियो, एक गाग्री पानीका लागि एक घण्टा समय लाग्थ्यो । कुवामा अबेर गए पानी नभएर फर्कनु पथ्र्यो’, उनले भनिन्, ‘पछि सामुदायिक धारा बनेपनि बर्खामा मात्रै पानी आउँथ्यो ।’ हिउँदमा मूल सुकेर पानी आउन छोडेपछि नेवाको सहयोगमा खानेपानीको समस्या समाधान भएको उनको भनाइ थियो ।

जिल्लाका १७ स्थानमा नेवाले आयोजना सञ्चालन गरिरहेको भन्दै ‘एक घर एक धारा’ अभियानअन्तर्गत जैमिनी-१० को भेडिर्खकामा लिफ्टमार्फत खानेपानी पुर्‍याइएको कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार जिआई पाइपमार्फत दुई ठाउँमा मोटर जोडेर बस्तीमा पानी ल्याइएको हो ।

‘पानीको स्रोत नभएका स्थानमा मात्रै लिफ्ट आयोजना सञ्चालन गरिएको छ । यो धेरै खर्चिलो प्रविधि भएकाले स्रोत भएका स्थानमा आयोजना सञ्चालन गरेका छैनौँ’ कोइरालाले भने, ‘भेडिखर्कमा पुराना मूल सुकेर खानेपानीको संकट हुन थालेपछि लिफ्टमार्फत खानेपानी ल्याएका हौँ ।’

उनका अनुसार रू ८३ लाख ४६ हजार लागतमा खानेपानी पुर्‍याइएको हो । जैमिनी नगरपालिकाको रू १४ लाख ९८ हजार, नेवाको रू ५९ लाख ९० हजार, रू सात लाख २० हजार बराबरको स्थानीयको श्रमदान र स्थानीय उपभोक्ता समितिको एक लाख २४ हजार लागतमा खानेपानी आयोजना सम्पन्न गरिएको कोइरालाले जानकारी दिएका छन् ।

अहिले दैनिक दुई घण्टा लिफ्ट आयोजनाबाट पानी तान्दा ३९ घरमा २४ घण्टै खानेपानी पुगेको खानेपानी आयोजनाका व्यवस्थापक शेरबहादुर विकले जानकारी दिए। उनले हिउँदको समयमा भने दिनको दुई पटक पानी तान्नुपर्ने बताए । 

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ४ : ४८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित