सूचना प्रविधिको विकासका लागि कानुनी व्यवस्था गरिने « Khabarhub

सूचना प्रविधिको विकासका लागि कानुनी व्यवस्था गरिने


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्राथमिकतामा राखेको सुशासन र समृद्धिको ‘एजेन्डा’लाई पूरा गर्न सूचना तथा सञ्चार प्रविधिको महत्वपूर्ण भूमिका हुने बताएकी छन् । छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा व्याप्त बेथितिको अन्त्य गर्न र सेवा प्रवाहको क्षेत्रलाई सहज बनाउन सरकार लागिरहेको बताइन् । वर्तमान सरकार गठन भएदेखि नै सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै अत्यावश्यकीय सेवा क्षेत्रलाई नयाँ गतिका साथ अघि बढाइरहेको उनको भनाइ थियो । 

उनले राहदानी, राष्ट्रिय परिचय पत्र, वैदेशिक रोजगारीमा जाने नेपालीका लागि स्थानीयस्तरबाटै श्रम स्वीकृति, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालभित्रैबाट विद्युतीय स्वास्थ्य जाँच, परामर्शलगायत सेवा सरकारले सुरु गरेको र यी सेवा प्रवाह सहज बनाउन सूचना प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताइन् ।

सूचना प्रविधि हरेक नागरिकको जीवनशैलीको आधार बन्दै गइरहेको उल्लेख गर्दै मन्त्री शर्माले सूचना प्रविधि अब मनोरञ्जनको साधन मात्र नभई अत्यावश्यकीय माध्यमका रुपमा स्थापित हुन पुगेको बताइन् । ‘यसको प्रयोगबाट आम नागरिकको जीवनमा गुणात्मक परिवर्तन आइरहेको छ । सेवा प्रवाह पारदर्शी, सहज, छिटोछरितो हुनाका साथै लागत कटौतीमा मद्दत पुगेको छ । राज्यले नागरिकलाई उपलब्ध गराउने सेवाहरु सूचना प्रविधिमैत्री हुँदै गइरहेका छन्’, उनले भनिन्। 

नागरिकले आर्थिक कारोबारसहित अत्यावश्यकीय सेवा अनलाइनमार्फत घरैबाटै पाउनसक्ने अवस्थाको सिर्जना भएको र यसलाई अझै विस्तार गर्दै सूचना प्रविधिमा आम नागरिकको सुरक्षित प्रयोग र समान पहुँचको अधिकार स्थापित गर्नु आजको दायित्व बन्न पुगेको उनले उल्लेख गरिन् ।

साइबर सुरक्षामा देखिएका चुनौतीको सामना गर्न सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापनाका लागि अध्ययन कार्य अगाडि बढाइसकेको बताउँदै उनले राष्ट्रिय साइबर सुरक्षाको नीति तर्जुमा कार्य अन्तिम अवस्थामा पुगेको जानकारी दिइन्। ‘सरकारी सञ्चार तथा सूचना प्रविधि प्रणालीको सुरक्षाका लागि मन्त्रालयमा राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याइएको छ’, उनले भनिन्। 

मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास, विस्तार र यसको सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीति, ऐन, नियमावलीलगायत कानुनी व्यवस्थाका लागि सरकार लागिरहेको जानकारी दिइन् । ‘सञ्चार तथा सूचना प्रविधि नीतिको पुनरावलोकन, साइबर सुरक्षा नीति, सूचना प्रविधिसम्बन्धी विधेयक, साइबर सुरक्षा विधेयक, दूरसञ्चारसम्बन्धी विधेयक जस्ता सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई सुदृढ बनाउन आवश्यक पर्ने कानुनी व्यवस्थाका लागि सरकारले काम गरिरहेको छ’, उनले भनिन्। 

सूचना प्रविधिको प्रयोग एवम् सुरक्षित प्रयोग सम्बन्धमा नागरिकलाई साक्षर बनाउन डिजिटल साक्षरता एवम् जनचेतना अभिवृद्धिका कार्यक्रम मुलुकभर सञ्चालन गर्न लागिएको उनले जानकारी दिइन्। उनले ‘डिजिटल डिभाइस’ हाम्रा लागि ठूलो समस्याको विषय बन्ने गरेको उल्लेख गरिन् । 

मन्त्री शर्माले भनिन्, “एकातिर सबै ठाउँका जनताको सूचना प्रविधिमा पहुँच पुग्न नसक्ने समस्या छ भने अर्कोतिर पुगेका ठाउँका पनि सबै नागरिकले समानरूपमा यसको प्रयोग गर्ने अवस्था सिर्जना भइसकेको छैन, सूचना प्रविधि प्रयोग गर्न पाउने र नपाउनेको यो खाडल हटाउनु सरकारको दायित्व हो ।” उनले सुरक्षित सूचना प्रविधिको प्रयोगबाट सुशासन र समृद्धि ल्याउने काामा ठोस योगदान गर्न अपिल गरेकी छन् । 

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १ : ४७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित