कुमार षष्ठी (सिठी नख) मनाइँदै « Khabarhub

कुमार षष्ठी (सिठी नख) मनाइँदै


२२ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रत्येक वर्ष जेष्ठ शुक्लषष्ठीका दिन मनाइने कुमार षष्ठी (सिठी नख) पर्व आज देवताहरूका सेनापति कुमार कार्तिकेयको पूजा आराधना एवं व्रत गरी मनाइँदैछ । सत्य युगमा महादेवका ज्येष्ठ सुपुत्रका रूपमा कुमार कार्तिकेय जन्मिएको सम्झनामा उनको पूजा आराधना गरी यो पर्व मनाउने गरिएको हो । षष्ठीबाट अपभ्रंश भएर कुमार कार्तिकेयलाई सिठी पनि भनिन्छ।

यस दिन राजधानीलगायत सहरमा नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतको सफाइ गरी पूजा आराधना गर्छन् । मार्कण्डेयलगायत पुराणमा सिठी देवताका रूपमा पानीका स्रोतमा पूजा गर्नुपर्ने विषय उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा रामचन्द्र गौतमले जानकारी दिए। संयोगले यो वर्ष सिठी नख पर्वका दिन जुन ५ अर्थात् विश्व वातावरण दिवस पनि परेको छ ।

पुराणको वचनअनुसार नै यो पर्व मनाउने परम्परा सुरु भएको हो । शिव पार्वतीले पृथ्वी घुमेर आउनेलाई पहिलो पूजा गर्ने रीत बसाल्ने घोषणा गरेपछि कुमारले आफ्नो बाहन मयूर चढेर ब्रह्माण्डको परिक्रमा गरे पनि गणेशले विश्व ब्रह्माण्ड भनेकै शिव पार्वती भनी पहिलो पूजाको अवसर पाएको कथा पनि विभिन्न पुराण उल्लेख गरिएको छ ।

गणेशपछि भने कुमारको पूजा गर्ने गरिन्छ । गणेशकुमाराभ्यां नमः भन्ने वाक्यले दुवैको पूजा गरिने उहाँले बताउनुभयो । यस दिन छ थरीका पूजा सामग्रीले सिठी नखको पूजा आराधना गरिन्छ । छ वटा पात भएको कमलको फूल, मास, मुगी, केराउ, चामलको पिठो, गहुँको पिठो, कुमकुम आदिबाट बनाइएका खाद्य पदार्थ, छ थरी व्यञ्जनका साथ सिठी नखको पूजा आराधना हुन्छ । यसअघि कुनै कारणवश कूल पूजा गर्न रोकिएकाले आजैका दिन गर्ने चलन छ । यो चलन विशेषगरी नेवार समुदायमा बढी छ । पानीको पूजा आराधना गरी आजैदेखि रोपाइँको सुरुवात् हुने भनाइसमेत छ । यस दिन स्थान विशेषअनुसार असारे गीत, कौला राग आदि गाउने गरिन्छ । 

पद, धन र मानको हानी भएका व्यक्तिले यस दिन व्रत गरी पूजाआराधना गरेमा गुमेको स्थान फिर्ता हुन्छ भन्ने विश्वाससमेत छ । यस पर्वका अवसरमा मध्यकालमा काठमाडौँका दुई टोलका मानिस युद्ध गरेको नाटक गर्ने परम्परा थियो । लडाइँमा चोटपटक लागि मानिस घाइते हुन थालेपछि जङ्गबहादुर राणाले यो चलन बन्द गराएको भन्ने भनाइसमेत छ ।

ज्येष्ठ शुक्ल सप्तमीका दिन क्षेत्रपाटीस्थित नघल टोलमा रहेको कुमार कार्तिकेय (सिठी देवता) को मन्दिरमा पूजा सामग्रीसहित विभिन्न प्रकारका नैवेद्य लिएर पूजा गर्न जाने चलन छ । ज्येष्ठ शुक्ल सप्तमीका दिन राति कुमार कार्तिकेयलाई खटमा राखी राजधानी सहरका विभिन्न स्थानमा घुमाउने गरिन्छ ।  काभ्रेपलाञ्चोकको सदरमुकामा धुलिखेलमा छ वटा टाउको भएको कार्तिकेयको मूर्ति छ । त्यो मूर्तिले कुमारका छ शक्तिको चारित्रिक प्रभाव दर्शाउने जनाइएको छ । कुमारका छ टाउका भएकाले छ प्रकारका सामग्री एवं नैवेद्यले पूजा गर्ने चलन बसेको भन्ने भनाइसमेत छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  १२ : ४६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित