खडेरीले धान रोप्न नपाएका किसानलाई वर्षाले राहत « Khabarhub

खडेरीले धान रोप्न नपाएका किसानलाई वर्षाले राहत


१८ भदौ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– भदौको दोस्रो सातादेखि भएको वर्षाले धेरै किसानलाई राहत दिएको छ । मानो रोपेर मुरी फलाउने समयमा खडेरी परेपछि धानखेती पर्याप्त मात्रामा गर्न नपाएका किसानलाई भदौरे झरीले राहत मिलेको हो ।

लामो समयसम्म खडेरी परेका अधिकांश ठाउँमा धानखेती सुक्न थालेको थियो तर यो वर्षाले धानखेतीलाई सिँचाइ सुविधा पुगेको मिथिला नगरपालिका–२ नक्टाझिजका किसान सुखन महतोले बताए । ‘धेरै ठाउँमा रोप्न नपाए पनि थोरै ठाउँमा रोपेको धान पनि सुक्न थालेको थियो तर पछिल्लो एक सातादेखि बेला–बेला परेको वर्षाले धानखेतीमा सिँचाइ पुगेको छ’, उनले भने, ‘अब त उब्जनी बढ्ला कि भन्ने आशा पनि पलायो ।’

यस वर्ष भदौको पहिलो साता लागिसक्दा पनि पर्याप्त वर्षात् नहुँदा अधिकांश किसान धान बाली राम्रो नहुने चिन्तामा थिए । धानखेती सुक्ने अवस्थामा पुगेको बेला भदौरे झरी लागेपछि किसानले राहतको महसुस गरेका हुन् । मल अभावमा धानखेती गरेका अधिकांश किसान पानी पनि नपरेपछि उत्पादन घट्ने चिन्तामा थिए तर अहिलेको वर्षाले धान उत्पादन बढ्ने आशा पलाएको वटेश्वर गाउँपालिका–५ शान्तिपुरका किसान जोगिन्द्र यादवले बताए ।

उनले भने, ‘साउन सकिदाँ पनि पानी परेन, भदौ पनि लाग्यो अझै पानी परेन, खेतमा धान सुक्न थालेको थियो, अब त यस वर्ष धानखेतीको उत्पादन पनि खान नपाइने भइयो भन्ने चिन्ता थियो तर अहिले चार-पाँच दिन प्रायः नियमित परेको पानीले धेरै राहतको महसुस गरेका छौँ ।’ सुखन र जोगिन्द्रजस्तै धेरै किसानलाई अहिलेको वर्षात्ले राहत भएको छ । आकाशे पानीका भरमा खेती गर्दै आएका क्षीरेश्वरनाथ नगरपालिका–४ रमदैयाका जगदीश यादवले अहिले पानी परेपछि सुकेको खेतले शीतलता पाएको बताए ।

‘पानी लामो समयसम्म नपर्दा खेतमा चिराचिरा पर्न थालेको थियो’, उनले भने, ‘पानी परेपछि थोरै भए पनि राहत महसुस गरेको छु ।’ यस वर्ष समयमै वर्षात् नहुँदा करिब दुई बिघा खेतमा धान रोप्न नपाएको उनले बताए । रमदैयाकै अर्का किसान दिपो यादवले भने, ‘सिँचाइको सुविधा छैन, खेतमा धान रोप्नलाई आकाशबाट पर्याप्त पानी परेन, डिपबोरिङको पानीले सबै खेतमा नपुगेपछि करिब एक बिघा जग्गा खाली नै छ ।’ उनले अहिलेको पानीले पहिले रोपेको धानलाई राम्रो बनाए पनि नयाँ रोप्न नमिल्ने बताए  ।

सिँचाइ सुविधा नहुँदा बर्सेनि आकाशकै भर पर्नुपर्ने अवस्था रहेको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका सुखारी साहले बताए  । ‘आकाशबाट परेको पानीले खेती गरिरहेका हामीलाई गत बुधबार रातिदेखि परेको पानीले धेरै राहत दिएको छ’, उनले भने, ‘भदौको पहिलोे हप्ता लाग्दा पनि पानी नपर्दा हामी चिन्तामा थियौँ, तर ढिलै भए पनि पानी परेको छ ।’ अहिले भएको वर्षाले अधिकांश किसानलाई शीतलता महसुस गराएको छ ।

अहिलेको वर्षाले सुक्न थालेको धानबालीलाई अमृत सावित भएको जनकपुरधाम वडा नंं ८ का किसान रामचन्द्र उपाध्यायले बताए। करिब डेढ बिघामा धानको रोपाइँ गरेर दुईपटक दूधमति नदीबाट दमकल लगाएर सिँचाइ गरे पनि खेत निकै सुक्खा भएका कारणले सुक्न थालेको उनको भनाइ थियो ।  अहिले केही दिनदेखिको झरीका कारणले सुक्न थालेको धानको प्राण रक्षा गर्न मद्दत पुगेको अर्का किसान रघुवीर रायले जानकारी दिए । 

लामो समयसम्म मधेस प्रदेशका जिल्लामा पानी नपरेका कारणले किसान निकै चिन्तित बनेका थिए । दुःख गरेर रोपिएको धानखेतमा चिरा परेर धान सुक्न थालेका थिए । केही दिनदेखिको वर्षाले खेतमा पानी जम्ने अवस्था सिर्जना भएकाले किसानलाई ठूलो राहत मिलेको छ । यसले सुक्न थालेको धानलाई रक्षा गर्ने भएको छ ।

यहाँका अधिकांश जिल्लामा लामो समयसम्म वर्षा नभएका कारणले किसान निकै चिन्तित बनेका थिए । सिँचाइको वैकल्पिक माध्यमले खेतमा पानी पठाए पनि टिक्न कठिन भएका बेलामा अहिले भदौरे झरीले किसान खुसी भएका हुन् । यस प्रदेशको आठ जिल्लाका किसानले भदौको पहिलो सातासम्ममा ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ गरिसकेको मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिषकुमार पालले जानकारी दिए । कुनै पनि वर्ष शतप्रतिशतमा रोपाइँ नहुने गरेको उनको भनाइ थियो ।

यस प्रदेशमा कुल कृषियोग्य भूमिमध्ये चार लाख पाँच हजार चार सय ५० हेक्टर जमिनमा धानखेती हुने गरेको मन्त्रालयले उपलब्ध गरेको तथ्यांकमा उल्लेख छ । यहाँको प्रमुख खाद्यान्न बालीका रूपमा धान नै रहेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर एकाइ धनुषा शाखाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सुकेश्वर झाले जानकारी दिए ।

 

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  २ : १० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित