किसानलाई धान काट्न भ्याइनभ्याई « Khabarhub

किसानलाई धान काट्न भ्याइनभ्याई


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– दशैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई भएको छ ।

यहाँका खेतबारीमा किसानहरु धमाधम धान काट्नमै व्यस्त हुने गरेका देखिन्छन् । खेतमा लटरम्म धान पाकेका कारण वर्षा र पानी परे धान झार्ने डरले किसानलाई उक्त धान बटुल्न चटारो सुरु भएको छ । धान धत्पादनको दृष्टिकोणले पकेट क्षेत्रका रुपमा चिनिँदै आएका यहाँका बनिडुग्रिसैन, दिपायल, पिपल्ला, जोरायल, गड्सेरा, बर्छैन, सायल, पूर्वीचौकी लगायतका ठाउँहरुमा किसानहरु अहिले धान काट्ने चटारोमा व्यस्त भएका हुन् ।

यो वर्ष समयमै बर्सात भएका कारण जिल्लामा प्रायः सबै ठाउँमा समयमै धान रोपाइँ सम्पन्न भएको थियो । कृषि ज्ञान केन्द्र सिलगढीका अनुसार जिल्लामा यो वर्ष धान उत्पादनमा निकै वृद्धि हुने अनुमान गरिएको छ । किसानहरु समयमै धान काट्न सजिलो होस् भन्दै अहिले खेतमै खाना पकाएर खाने तथा दिनभरि धान काट्ने गरेका जोरायल गाउँपालिका–४ की स्थानीयवासी तक्ष्मीकुमारी ओलीले बताए । उनले भने, “समयमै धान पाकेको छ, पानी पर्ला र धान बिग्रेला भन्ने डरले हामी खेतमै खाना पकाएर खाने र दिनभरि धान काट्ने गरेका छौँ ।”

दशैँ मनाउनका लागि घरमा आएकाहरु पनि खेतमा धान काट्न सहयोग गर्न थालेपछि यहाँका किसानलाई धान काट्न निकै सहज भएको स्थानीयवासी बताउँछन् । अहिले वृद्धवृद्धादेखि युवा समूह धान काट्नमा निकै सक्रिय भएका दिपायल सिलगढी नगरपालिका–३ का स्थानीयवासी भरत द्वारियाले बताए ।

उनले भने, “कामका लागि जिल्लाबाहिर गएकाहरु सबै घरमा आएका छन्, उनीहरु धान काट्नमा सहयोग गर्न थालेपछि रमाइलो भएको छ ।” यहाँका प्रायः सबै क्षेत्रमा धान काट्ने चटारोमा युवायुवती बढी सक्रिय भएका देख्न सकिन्छ । विगतमा यहाँ धान काट्ने खेताला नपाउने गरेका कारण समस्या हुने गरेको भए पनि अहिले युवायुवती धान काट्नमा सक्रिय भएका कारण निकै सहज भएको बताइएको छ ।

युवायुवतीले धान काट्ने काम गर्ने तथा अन्य किसान धान झार्ने काम गर्ने गरेको बडिकेदार गाउँपालिका–१ का स्थानीयवासी रोजबहादुर कलेलले जानकारी दिए । उनका अनुसार सडक सुविधा पुगेका यहाँका कतिपय गाउँमा भने धान झार्न यो वर्षदेखि आधुनिक थ्रेसर प्रयोग गर्न थालिएको छ । दशैँको रमझम सकेर यहाँका किसान अहिले खेतबारीमा धान काट्न तथा धान झार्न सक्रिय भएपछि अहिले सहर बजारभन्दा पनि गाउँघरहरु निकै रमाइला भएको शिखर नगरपालिका–१० का स्थानीयवासी डिबी धामीले बताए ।

उनले भने, “गाउँमा भएकाहरु सबै खेतबारीमा धान काट्न भेटिन्छन्, घरमा सुनसान हुन्छ, खेतबारीमा भने निकै रमाइलो हुने गरेको छ ।” कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा हालसम्म १० प्रतिशत मात्रै धान काट्ने काम सकिएको छ ।

छिटो रोपाइँ गरेको र छिटो पाक्ने धान लगाएकामा धान काट्ने काम भइरहेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए ।

उनका अनुसार जिल्लामा कात्तिक अन्तिमसम्ममा सबै ठाउँमा किसानहरुले धान भित्र्याइसकेका हुन्छन् । जिल्लामा जोरायले बासमतीसँगै यहाँका किसानले मार्सी, थापाचिनी, गुर्रा, ठेसे, हंसराज र पालपालि धान लगाउँदै आएका छन् । यस वर्ष जिल्लाका धेरै स्थानमा सिँचाइ पहुँच, समयमै पानी पर्नु, मल समयमै उपलब्ध हुनु, रोगव्याधी कम लागेका कारण उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख पनेरुले दाबी गरे ।

जिल्लामा २७ हजार तीन सय हेक्टर क्षेत्रफलमा यस वर्ष धानखेती भएको बताइएको छ । जिल्लाको पूर्वी क्षेत्रमा असोजको दोस्रो हप्तादेखि नै धानहरु काटेर तरकारी खेती सुरु भइसकेको छ । यहाँका किसान समयमै पाकेको धान काटेर व्यवसायिक तरकारीहरु उत्पादन गर्ने गर्दछन् ।

हिउँदे तरकारीअन्तर्गत काउली, बन्दा, टमाटर, भेडे खुर्सानी, आदि लगाउन कृषकहरुले सुरु गरेको केआईसिंह गाउँपालिका–३ का शेरबहादुर ऐरले जानकारी दिए। उनका अनुसार हिउँदे खाद्यान्न बालीअन्तर्गत भने यहाँका कृषकहरुले गहुँ, मुसुरो, आलु, राजमा लगाउने गर्दछन् ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ३ : ५० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित