महिलाको नेतृत्व विकासको अवसर बन्दै सामुदायिक वन « Khabarhub

महिलाको नेतृत्व विकासको अवसर बन्दै सामुदायिक वन


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको जानकी गाउँपालिकाको कटासे गाउँकी दुर्गा भाट विगतमा मानिसको अगाडि गएर बोल्न डराउँथिन ।

महिला जागृति सामुदायिक वन समितिको सचिव पदको जिम्मेवारीमा रहेर वन संरक्षणमा लागेकी उनी अहिले वन संरक्षण मात्र होइन, सामाजिक काममा अग्रणी भूमिकामा देखिन्छिन ।

महिला मात्रैले जिम्मेवारी लिएर चलाएको सामुदायिक वनका माध्यमले दुर्गाको समूहले महिलाको विकासका लागि विभिन्न कार्यक्रम गर्ने गरेको छ । “सामुदायिक वनको आम्दानीको केही अंश हामीले महिलाको नेतृत्व तथा क्षमता विकासमा लगाउने गरेका छौँ”, सचिव भाट भन्छिन्, “पुरुषले नेतृत्व गरेको वनमा चोरी तथा तस्करीका घटना बढी हुने गरेको सुनिँदा हाम्रो वन हराभरा हुँदै गएको छ, महिला राति गस्तीमा समेत जाँदा चोरी शिकारीका घटना कम हुन्छन् ।”

उक्त गाउँपालिकामा रहेका अन्य सामुदायिक वनको तुलनामा महिला जागृति सामुदायिक वनको कारोवार र विकासबाट आफूहरुमा सन्तुष्टि मिलेको उनी बताउँछिन् । सो सामुदायिक वनले महिलाको नेतृत्व विकासका लागि विभिन्न कार्यक्रम नियमितरुपमा सञ्चालन गरिरहेको छ ।

विसं २०५६ देखि वन संरक्षणमा लागेकी रतना कडायत कैलालीको गोदावरी नगरपालिकाका उपप्रमुखको भूमिकामा पुग्न सफलता मिलेको छ । “सामुदायिक वनको संरक्षणमा लागिरहँदा भएको क्षमता विकासले नै यहाँसम्म पुग्न सफल भएँ, वनमा काम गर्दा मैले क्षमता विकास गर्ने अवसर पाएँ”, उपप्रमुख कडायतले भनिन्, “अहिले पनि पछाडि परेका समुदाय, महिलाको क्षमता विकासलाई आफूले प्राथमिकतामा राखेर काम गरिरहेकी छु ।”

आफ्नो जीवनमा महत्वपूर्ण र सिकाइको थलोका रुपमा सामुदायिक वन भएको महशुस भएकाले सामुदायिक वनलाई महिलाका लागि राम्रो काम गर्ने र क्षमता विकास गर्ने थलोका रुपमा प्रयोग गर्न सकिने अनुभव उनी सुनाउँछिन् ।

लम्कीचुहाकी कोकिला देवल २५ वर्षदेखि वन संरक्षणमा सक्रिय छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ सुदूरपश्चिम प्रदेशकी सदस्य देवल यो क्षेत्रको उदाहरणीय महिलाका रुपमा स्थापित भएकी हुन् । लामो समय वनको नेतृत्वमा बिताएकी उनी हाल नर्वदा सामुदायिक वन लम्कीको अध्यक्ष भएर वन व्यवस्थापनमा सक्रिय छन् ।

“मैले वनमा काम गर्दा शुरुमा निकै कठिनाइ झेलेँ, धेरैले नकारात्मक टीकाटिप्पणी गरेँ तर वनमा निरन्तर सेवा गरेपछि हाल सबैले मलाई विश्वास गरेका छन्”, देवलले भनिन्, “म वन तथा वातावरण संरक्षणको अभियानर्की मात्र होइन महिलाको लिडरका रुपमा अघि सरेकी हुँ ।”

महिलाले घर, भान्सा, बालबच्चा र परिवार व्यवस्थापन मात्र गर्न सक्छन् भन्ने समाजलाई चुनौती दिन यी महिलाले गरेको सङ्घर्ष र वन समूहमा काम गर्न पाएको अवसरले सबैको सोंच बदलिदिएको छ । देवल कुशल वन व्यवस्थापक, सामाजिक अभियानर्की र विकासप्रेमी महिलाका रुपमा समाजमा स्थापित भएकी छन् ।

जानकी गाउँपालिका–९ की कुशल वन व्यवस्थापक चन्द्रा विक पनि वनकर्मी महिलाका रुपमा चिनिन्छिन । वन संरक्षणमा लागेकी चन्द्राले कुशल व्यवस्थापन पुरुषका लागि चुनौती जस्तै बनेको छ । चन्द्राको दैनिकी वन, सामाजिक सङ्घसंस्था र महिलाका विषयमा छलफलमै बित्ने गरेको छ ।

विसं २०५४ बाट सामुदायिक वन संरक्षणमा लागेकी चन्द्रा महिलालाई सङ्गठित बनाउँदै २०६६ मा वन दर्ता गर्न सफल हुनुभएको थियो । “शुरुशुरुमा महिला सामुदायिक वन संरक्षणमा लाग्छौँभन्दा सबै हाँसेका थिए”, उनी भन्छिन्, “विसं २०६६ सम्म वन हराभरा बनायौँ, सबै दङ्ग परे, अनि हामीले विश्वास जित्यौँ, हाम्रो वनमा चोरीका घटना निकै कम हुन्छन् ।”

महिला जागृति सामुदायिक वनले महिलाका लागि बाख्रा वितरण, सीपमूलक तालीम, कृषिमा सहयोग जस्ता कार्यक्रम गर्दै आएको छ । पछिल्ला वर्षमा कैलाली जिल्लामा महिलाको नेतृत्व विकास गर्ने अवसरका रुपमा सामुदायिक वन देखिन थालेका छन् ।

सामुदायिक वनमा जिम्मेवारी सम्हालेका कतियय महिला अहिले नेतृत्वदायी भूमिकामा पुग्न सफल भएका मात्र नभई उनीहरु समुदायको विकास निर्माण, समाजमा हुने हिंसा न्यूनीकरण, सामाजिक समस्याको निराकरणका अभियानर्कीका रुपमा स्थापित हुन थालेका छन् ।

पछिल्लो समय सामुदायिक वनमा महिला सहभागिता बढाउनुपर्छ भन्नेमा बढी छलफल समेत हुन थालेको छ । कैलालीमा ५७६ सामुदायिक वन छन् । त्यसमध्ये ६४ वटा वनको नेतृत्व महिलाले गरिरहेका छन् । जिल्लामा अझै झण्डै १५० सामुदायिक वन प्रस्तावित अवस्थामा रहेका छन् । महिला नेतृत्वमा भएका वनका गतिविधि विवादरहित र आर्थिकरुपमा पारदर्शी मात्र नभई उनीहरुका वन हराभारसमेत भएको अनुभव सामुदायिक वन उपभोक्ता महासङ्घ कैलालकिा अध्यक्ष कर्ण रावल सुनाउँछन् ।

वन ऐन नियमअनुसार बनाइएको सामुदायिक वनको मार्गदर्शनमा वन व्यवस्थापन, स्रोत र कोष परिचालनमा महिलाको सहभागिता बढाउने नीति छ । यसका लागि सामुदायिक वनको उपभोक्ता समितिमा अनिवार्य ५० प्रतिशत महिला सहभागी हुनुपर्ने व्यवस्था वन मार्गदर्शनमा गरिएको छ ।

“अध्यक्ष, सचिव, कोषाध्यक्ष जस्ता कार्यकारी पदमा पनि महिलाको प्रतिनिधित्व हुनैपर्ने नीति रहेकाले सामुदायिक वनमा महिलाको प्रतिनिधित्व बढ्दा उनीहरुको नेतृत्व क्षमताको विकास हुँदै गएको छ”, डिभिजन वन कार्यालय कैलालीका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले भने, “महिलाले नेतृत्व गरेको वनमा तुलनात्मकरुपमा चोरी सिकारी हुने जस्ता घटनामा कमी आएको देखिन्छ ।”

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ३ : ०१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित