‘एन्टिजेन टेस्ट’ को तयारीमा सरकार, ‘फ्लु’ को खोप लगाउन विज्ञको सुझाव « Khabarhub

‘एन्टिजेन टेस्ट’ को तयारीमा सरकार, ‘फ्लु’ को खोप लगाउन विज्ञको सुझाव


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा पनि औषधि तथा खोप पत्ता लाग्न सकेको छैन ।

संक्रमण नियन्त्रणउन्मुख भइसकेका युरोपका कतिपय मुलुकमा कोरोनाले फेरि महामारीको रूप लिएपछि विभिन्न प्रतिबन्धात्मक व्यवस्थाहरू लागु भएका छन् ।

नेपालमा पनि जाडो याम सुरू भएपछि संक्रमण झन् बढ्न सक्ने अुनमान गर्दै विशेषज्ञहरुले फ्लुको खोप लगाउन सुझाएका छन् ।

कोरोना र अरू इन्फ्लुएन्जा फ्लुको अधिकांश लक्षण उस्तै हुने भएकाले पनि फ्लुको खोप उपयुक्त हुने विशेषज्ञहरू बताउँछन् । फ्लुको खोप लगाउँदा रुघाखोकी र सामान्य ज्वरो आएकै भरमा पीसीआर परीक्षणमा पुग्ने मानिसको संख्या स्वतः घट्ने डा. प्रकाशराज न्यौपानेको भनाइ छ ।

‘लक्षण देखिएर पीसीआर परीक्षण गर्न जाने मानिसको चाप घटाउन पनि फ्लुको खोप जरुरी छ,’ १४ वर्षसम्म चीनमा बसेर काम गरेका डा. न्यौपानेले भने, ‘यसले फ्लु हुँदा पनि कोभिड–१९ हो कि भनेर मानसिक तनाव लिनेहरूको समस्या स्वतः हल हुन्छ । विशेषगरी ७० वर्षमाथिका पाका उमेरका मानिस र दम लगायतका समस्या हुनेलाई निमोनियाको खोप लगाउँदा अझ राम्रो ।’

सरकारले लक्षण देखिएकाहरूको मात्र पीसीआर परीक्षण गर्ने गरी मापदण्ड संशोधन गरेको छ । मापदण्ड संशोधनपछि भइरहेको परीक्षणमा दैनिक परीक्षणमा सरदर २५ प्रतिशतमा संक्रमण पुष्टि हुँदै आएको छ । बाँकी ७५ प्रतिशत मानिसमा फ्लु वा अरू कुनै समस्या देखिएको विज्ञहरू बताउँछन् ।

फ्लुको खोप लगाएमा पीसीआर परीक्षणको चाप ७५ प्रतिशतसम्म घट्न सक्ने ठम्याइ विज्ञहरूको छ । इन्फ्लुएन्जा देखिइरहने नेपालजस्ता मुलुकमा त्यसको प्रभावकारिताबारे अध्ययन भने जरुरी रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं संक्रामक रोगविज्ञ डा. पदम चन्दले बताए ।

‘चीनका एकाध शहर र हङकङले समेत फ्लुको खोप लगाउन आह्वान गरिसकेका छन्,’ डा. चन्दले खबरहबसँग भने, ‘हामी कहाँ पनि सरकारले फ्लुको खोप लगाउन आह्वान गर्न सक्छ तर कुन स्ट्रेनको खोप प्रभावकारी छ भन्ने अध्ययनपछि मात्रै ।’

सरकारी स्तरमा पनि फ्लुको खोपबारे चर्चा नभएको भने होइन तर, यो कति प्रभावकारी छ या छैन भन्नेमा अन्योल छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेका अनुसार नेपालमा कोरोनाको पहिलो केस देखिएपछि गत वर्षको फागुनमै फ्लुको खोपबारे छलफल भएको थियो ।

‘फागुनमा फ्लुको खोपबारे छलफल भए पनि जाडोयाम सकिएकाले खास ध्यान दिइएन, यसपटक पनि अलिअलि कुरा त उठेको छ तर पर्याप्त छलफल भएको छैन,’ पाण्डेले भने, ‘फ्लुको खोप लगाउँदा फाइदै हुन्छ ।’

अमेरिका र युरोपका कयौँ मुलुकमा फ्लुको खोप लगाउने गरिएको उनले बताए । ‘नेपाल आउने कूटनीतिज्ञ पनि प्रायजसो फ्लुको खोप लगाएर आउँछन्,’ डा.पाण्डेले भने, ‘कोभिडको यो महामारीमा हामीकहाँ पनि रिक्स ग्रुप र स्वास्थ्यकर्मीमा फ्लुको खोप लगाउन सकिन्छ ।’

फ्लु र निमोनियाको खोप लगाएमा श्वासप्रश्वासबाट हुने मृत्युमा लगभग ५० प्रतिशत कमी ल्याउन सकिने विभिन्न अध्ययनहरूले देखाएका छन् । दिनदिनै कोरोनाका संक्रमितको संख्या बढिरहँदा अस्पतालहरूमा हुने चाप घटाउन पनि फ्लुको खोपले मद्दत गर्ने चिकित्सकहरू बताउँछन् ।

फ्लुको खोप होइन अब ‘एन्टिजेन’ टेस्ट

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम नेपालमा फ्लुको खोपको प्रभावकारिता नभएको बताउँछन् ।

‘एन्फ्लुएन्जाको पनि फरकरफरक स्ट्रेन छ, हाम्रोजस्तो धेरै इन्फ्लुएन्जा भइरहने मुलुकमा यसको खास अर्थ छैन, आवश्यक ठान्नेले लगाउँदा केही फरक पर्दैन ।’ महामारी बढ्दै गएपछि सरकारले अस्पतालहरूमा ‘हाई डिपेन्डेन्सी युनिट (एचडियु)’ अर्थात् सेमी आइसीयु बेड थप्न सुरू गरेको उनले बताए ।

‘हाम्रो हालको सिस्टमले ३० हजारसम्म सक्रिय संक्रमित थेगिरहेको छ । एक समय ४६ हजारसम्म पनि एक्टिभ केस पुग्यो, । यसबेला निकै गारो भयो,’ डा.गौतमले भने, ‘जाडोयाममा संक्रमित बढ्ने पक्का छ, हामी अहिले धमाधम एचडियु थपिरहेका छौँ ।’

उनका अनुसार देशभर ३ हजार बेड एचडियु थप्न लागिएको छ । काठमाडौँ उपत्यका त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालसहितका विभिन्न अस्पतालमा १ हजार  एचडियु थप्ने प्रकिया अघि बढेको छ ।

महामारी बढ्दै जाँदा सरकार पीसीआर परीक्षणको विकल्पतर्फ पनि अघि बढेको डा. गौतमले बताए । उनका अनुसार अब सरकारले ‘एन्टिजेन’ टेस्ट र ड्राई पीसीआर गर्ने प्रकिया अघि बढाउनेछ ।

संक्रमितको शरीरमा विकास हुने एन्टिबडीसँगै पीसीआरले झैँ जीवाणु छ कि छैन भनेर पत्ता लगाउन र्‍यापिड टेस्ट किटमार्फत गरिने परीक्षण ‘एन्टिजेन’ टेस्टको काम एक महिनाभित्रै सुरू गर्ने तयारीका साथ काम अघि बढेको उनले बताए ।

यसबाट आधा घण्टामा सयौँको परीक्षण रिपोर्ट दिन सकिने पनि गौतमले बताए । उनका अनुसार यो विधि अमेरिका, दक्षिण कोरिया लगायतका मुलुकले अवलम्बन गर्दै आएका छन् । एन्टिजोन परीक्षण सुरू भएपछि मास स्क्रिनिङ पनि सुरू हुनेछ । उनका अनुसार त्यसको प्रयोग सुरक्षाकर्मीका ब्यारेक तथा स्कूल कलेजमा हुनेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ६ : ०९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित