नेपालमा बढ्दै उद्योग खुल्ने क्रम, ६ महिनामा २९३ उद्योगले लिए अनुमति « Khabarhub

नेपालमा बढ्दै उद्योग खुल्ने क्रम, ६ महिनामा २९३ उद्योगले लिए अनुमति


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं–  पछिल्लाे समय नेपालमा उद्योग दर्ता गर्ने क्रम बढ्दै गएकाे छ । गत आर्थिक वर्षको ६ महीनामा विदेशी लगानीका २६६ उद्योगले नेपालमा कामका लागि स्वीकृति लिएकामा यस वर्षको ६ महीनामा भने २९३ उद्योगले उद्योग सञ्चालनका लागि निवेदन दिएका छन् ।

उद्योग दर्ताका लागि अनुमति माग्नेमा पर्यटन क्षेत्रका उद्योग बढी छन् । पर्यटन क्षेत्रमा मात्र ८६ उद्योग छन् । गत वर्षको ६ महिनामा पर्यटन क्षेत्रमा ७७ उद्योगले सञ्चालनका लागि अनुमति लिएका थिए ।

यस्तै कृषि तथा वन क्षेत्रमा १४, निर्माण तीन, उर्जामूलक १९, सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा ११, उत्पादनमुलक ७८, खनिज एक, र सेवामूलक ८१ उद्योग रहेका छन् । सबै उद्योग सञ्चालन भएमा १५ हजार २७० जनाले रोजगार पाउनेछन् । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट (नाट्टा)का महासचिव रमेश थापा स्थिर सरकारका कारण मुलुकको पर्यटन क्षेत्रमा लगानी भित्रिँदै गएको बताउँछन् । “नेपाल प्राकृतिक दृष्टिकोण र पर्यटकीय महत्वका केन्द्र बढी भएको कारण पनि पर्यटन क्षेत्रमा उद्योगको सङ्ख्यामा वृद्धि भएको हो”, थापा भन्छन् ।

नेपालको पर्यटन व्यवसाय पहिलेको तुलनामा क्रमिक रुपमा बढ्दै गएको र सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई पूरा गर्न पनि होटल तथा रेष्टुरेन्टमा विदेशी लगानी भित्रिएको उनको भनाइ छ । पर्यटन क्षेत्रमा चालू आर्थिक वर्षमा रु ६८ करोड ७७ लाख ३६ हजारको ८६ उद्योगका लागि लगानी भित्रिएको हो । उक्त रकम गत वर्षको लगानीभन्दा धेरै कम हो । गत वर्ष रु एक अर्ब १८ करोड ७४ लाख ४५ हजार बराबरको लगानी भित्रिएको थियो ।

गत वर्षको छ महीनामा पर्यटन उद्योगबाट तीन हजार २५ ले प्रतक्ष्य रोजगारी पाएका थिए भने चालू आर्थिक वर्षमा उद्योगको सङ्ख्यामा वृद्धि भए पनि कम लगानीका उद्योग भएकाले दुई हजार ५०२ जनाले प्रत्यक्ष रोजगार पाउने उद्योग विभागले जनाएको छ । उद्योग विभागका सूचना अधिकारी जीवनराज सेढाईं उद्योग क्षेत्र बढ्नु मुलुकको विकासका लागि सकारात्मक कुरा भएको बताउँछन् । “उद्योग बढेसँगै मुलुकमा रोजगारीको वातावरण सिर्जना हुनुका साथै अधिकांश सामान मुलुकमा नै बन्ने भएकाले मुलुकलाई फाइदा पुग्छ”, उनी भन्छन् ।

ऐन, नीति, नियम परिमार्जन, विशेष आर्थिक क्षेत्र (सेज) ऐन, खनिज नीति, विदेशी लगानीसम्बन्धी विधेयक, लगानी सम्मेलन, अनलाइनमार्फत उद्योग दर्ता, उद्योग विभागभित्र विद्युतीय हस्ताक्षरका साथै संस्थागत सुधारका कारण उद्योग क्षेत्रमा लगानीको वातावरण बन्दै गएको विभागले जनाएको छ ।

विभागले रु १० करोडभन्दा कम विदेशी लगानीका उद्योगलाई साना उद्योग, रु १० करोडदेखि रु २५ करोडसम्म लगानी भएका उद्योगलाई मझौला उद्योग र रु २५ करोडभन्दा बढी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आइरहेको छ । स्वदेशी लगानीका साना उद्योग भने घरेलु तथा साना उद्योग विकास समिति र साना तथा घरेलु उद्योग विभागबाट दर्ता हुँदै आएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ११ : २१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित