पोखराका आयुर्वेद अस्पतालमा गैरकानुनी औषधि !  « Khabarhub

पोखराका आयुर्वेद अस्पतालमा गैरकानुनी औषधि ! 


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरामा सञ्चालित आयुर्वेद अस्पताल-क्लिनिकमा गैरकानुनी तथा गुणस्तरहीन औषधि निर्वाध रूपमा बिक्रीवितरण भइरहेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा आज गरिएको अनुगमनका क्रममा पोखरा महानगरपालिका–१० बुद्धचोक क्षेत्रमा रहेका आयुर्वेद अस्पताल र क्लिनिकमा त्यस्ता औषधि छ्यापछ्याप्ती भेटिएका हुन् । 

औषधि व्यवस्था विभागबाट स्वीकृत नलिएका र म्याद गुज्रेका औषधि बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । 

‘अधिकांश अस्पताल र क्लिनिकमा गैरकानुनी औषधि बिक्रीवितरण भइरहेको पाइएको छ’, उनले भने, ‘आयुर्वेद उपचारका नाममा विकृति मौलाउँदै गएपछि अनुगमनमा कडाइ गरिएको हो, गलत गर्नेलाई कानुनअनुसार कारबाही हुन्छ ।’

अनुगमनका क्रममा तोकिएको मापदण्ड पूरा नगरेका, दर्ता नवीकरण नभएका, दररेट नराखेका, चिकित्सक र स्वास्थ्यकर्मीलाई नियुक्तिपत्र नदिई काममा लगाएका अस्पताल तथा क्लिनिकलाई आवश्यक कागजपत्रसहित बुधबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको सहायक प्रजिअ बरालले बताए। 

सञ्चालन अनुमतिपत्र नदेखिएपछि फेमिली आयुर्वेदिक क्लिनिकलाई बन्द गराई आवश्यक प्रक्रिया पूरा गरी अनुमतिपत्र लिन सचेत गराइएको उनको भनाइ छ । अनुगमन टोलीमा रहेका गण्डकी आयुर्वेद अस्पतालका चिकित्सक विपिनबन्धु आचार्यले औषधि व्यवस्था विभागबाट अनुमति नलिई उत्पादन गरिएका कुनै पनि औषधि बेच्न नपाइने बताए। 

‘कानुनी मान्यता नपाएका र गुणस्तरहीन आयुर्वेद औषधि बजारमा भित्रने गरेको छ, औषधि किन्ने बेलामा अस्पताल स्वयं सचेत हुनुपर्छ’, उनले भने, ‘औषधि व्यवस्था विभागमा दर्ता छरछैन निश्चित गरेरमात्र औषधि खरिद गर्नुपर्छ ।’

 क्लिनिक र फार्मेसीहरूमा आयुर्वेद विषयको ज्ञान नै नभएका व्यक्तिले औषधि बिक्री गर्ने गरेकोसमेत पाइएको चिकित्सक आचार्यले बताए।  

पोखरामा हेल्दी होम्सका कविराज अस्मिना बञ्जराले अनुमति नलिई आयुर्वेद औषधि उत्पादन र बिक्रीवितरण गर्ने कम्पनीलाई राज्यले कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। 

‘कतिपय कम्पनीले औषधि व्यवस्था विभागमा दर्ता छ भनेर झक्याउन सक्छन्, अबदेखि अस्पताल र क्लिनिकहरू यसमा सचेत हुनुपर्छ’, उनले भने। 

धेरैजसो आयुर्वेद अस्पताल र क्लिनिक पोखरा–१० बुद्धचोक, अमरसिंहचोकलगायत क्षेत्रमा सञ्चालित छन् । अस्पताल भनेर सञ्चालन गरे पनि कतिपयमा अस्पतालको न्यूनतम पूर्वाधार पनि नरहेको पाइएको अनुगमनमा सहभागी उपभोक्ता मञ्च कास्कीका सचिव कमल पौडेल ‘अथक’ले बताए। 

अनुगमनलाई थप कडाइ गर्दै दोषी भेटिएका जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । यस्तै मापदण्डविपरीत अनावश्यक रूपमा होर्डिङ बोर्ड राखेका क्लिनिकलाई त्यस्ता बोर्ड तत्काल हटाउन भनिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

बुद्धचोकको नेचर केयर आयुर्वेद अस्पताल, साधना आयुर्वेद क्लिनिक, आरोग्य होमियो फार्मेसी, आरोग्य होमियोप्याथिक अस्पताल, पञ्चम आयुर्वेद, पोखरा हेल्दी होम्स, रश्मी आयुर्वेद क्लिनिक र फेमिली आयुर्वेदिक क्लिनिकको अनुगमन गरिएको थियो । 

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका, गण्डकी आयुर्वेद अस्पताल, प्रोदशिक जनस्वास्थ्य केन्द्र, वडा प्रहरी कार्यालय बैदाम, उपभोक्ता मञ्चका प्रतिनिधिलगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ५ : ५२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित