पर्यटक भन्छन् : बन्दीपुरका पुराना घरले लोभ्यायो « Khabarhub

पर्यटक भन्छन् : बन्दीपुरका पुराना घरले लोभ्यायो


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– ‘बन्दीपुरको हावापानी र संस्कृति लोभलाग्दो रहेछ, पहिलो पटक आएकी मलाई बन्दीपुरले लोभ्यायो,’ चितवनकी दीपा थापा मगरले भनिन् । बन्दीपुरका पुराना घरहरू, यहाँको स्थानीयवासीको सम्मानसहित बोल्ने परम्परा झनै राम्रो पक्ष रहेको उनको भनाइ छ । 

दोस्रो पटक बन्दीपुर आएकी चितवनकै प्रतिभा निउरे सापकोटाले पनि यहाँका पुराना घरहरूले आकर्षण थपेको बताइन् । उनले भनिन्, ‘भक्तपुरे शैलीका घरहरू बन्दीपुरको आकर्षण हो ।’

मुस्ताङ भ्रमण गरेर बन्दीपुर आइपुग्नुभएका काठमाडौँका प्रदीप जङ्गले बन्दीपुर अन्य गन्तव्यभन्दा फरक लागेको बताए । बन्दीपुरको बजार राम्रो लागेको बताउँदै उनले थपे, ‘यसरी पुरानो घरहरू एकैठाउँमा देखेको थिइन, नौलो लाग्यो ।’

चितवनबाट आएर बन्दीपुर एक रात बिताएकी आशिका पौडेलले यहाँ निर्माण रहेको मिनी ग्रेटवालले चीनकै ग्रेटवालको झल्को दिने बताइन् ।

उनले भनिन्, ‘हामीले बन्दीपुरमा हाइकिङ पनि गर्‍यौ, बन्दीपुर उपयुक्त पर्यटकीय गन्तव्यस्थल रहेकाले साथीभाइलाई पनि घुम्न जान सुझाव दिन्छु ।’

पर्यटकीय नगरी बन्दीपुरमा यतिबेला पर्यटकको चाप बढेको छ । विगत केही दिनदेखि बन्दीपुरमा पर्यटकको आगमन बाक्लिएको हो । बन्दीपुर आउने पर्यटकहरूले विभिन्न जातजातिका सांस्कृतिक पोशाकमा सजिएर टिकटक बनाउने, तस्बिर खिच्ने समेत गरेका छन् । 

बन्दीपुर होटल व्यवसायी सङ्घका उपाध्यक्ष सुजन श्रेष्ठले जेन-जी आन्दोलनपश्चात् बन्दीपुरको पर्यटन लयमा फर्किएको बताए । पहिले शुक्रबार र शनिबारमात्रै पर्यटकको चाप हुने गरेपनि अहिले दैनिकजसो पर्यटकको चाप रहेको उनले बताए । उनले भने, ‘यो बेला भनेको विदेशी पर्यटक आउने बेला पनि हो । स्वदेशी पर्यटकको पनि उत्तिकै चहलपहल छ ।’

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुरमा दैनिक एक हजारको हाराहारीमा पर्यटक आउने गरेको र त्यसमध्ये दुई/तीन सयले बास बस्ने गरेको जानकारी दिए । उनका अनुसार बन्दीपुरमा ६६ होटल रहेको र एक दिनमा चार हजार बास बस्न सक्ने क्षमता छ । 

प्रधानले जेन-जी आन्दोलनका क्रममा बुकिङ गरिसकेका पर्यटकले पनि बुकिङ रद्द गरेको बताउँदै थपे, ‘अहिले भने विदेशी भन्दा स्वदेशी पर्यटकको चाप बढेको छ । नेपाली पर्यटक दिनभर बन्दीपुरमा घुम्ने, रमाउने र फर्किने गरेका छन् । केहीले भने बन्दीपुरमै रात बिताउने गरेका छन् ।’

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरमा पर्यटकको बसाइ लम्ब्याउन बन्दीपुर भ्रमण वर्ष २०२५ सञ्चालन गरिएको जानकारी दिए । यहाँबाट विभिन्न हिमश्रृङ्खला आँखै अगाडी हेर्न सकिने भएकाले बन्दीपुर पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको थापाको भनाइ छ । 

विसं २०८१ सालमा दुई लाख पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमण गरेका थिए । त्यसमध्ये विदेशी पर्यटक ६० हजार र स्वदेशी पर्यटक एक लाख ५० हजार रहेको जनाइएको छ । 

बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएको तथ्याङ्क छ । 

खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यको रुपमा सूचीकृत गरेको छ । 

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरू यहाँ आउने पर्यटकहरूको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । रासस

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  २ : २८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित