लहानका सुकुम्वासी बस्तीमा धारा जडान गरिँदै « Khabarhub

लहानका सुकुम्वासी बस्तीमा धारा जडान गरिँदै


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– यहाँको लहान नगरपालिकाले सुकुम्वासी तथा विपन्न परिवारलाई लक्षित गर्दै घरघरमा खानेपानीको धारा जडान गर्ने अभियान तीव्र बनाएको छ । नगरपालिकाले आज मात्रै थप ५५ सुकुम्वासी परिवारका लागि धारा जडान प्रक्रिया अघि बढाएको हो । 

घरमा धारा जडान भएसँगै अब टाढाटाढाबाट घैलोमा पानी बोक्नुपर्ने बाध्यताबाट सुकुम्वासी परिवारले मुक्ति पाउने भएका छन् । यो अभियान ‘वाटर एड’ नेपालको आर्थिक सहयोगमा लहान नगरपालिका, नेपाल खानेपानी संस्थान लहान शाखा र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा सञ्चालित ‘विकन परियोजना’अन्तर्गत भइरहेको हो ।

आइतबार आयोजित एक कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले धारा जडान गरिने परिवारको आवश्यक कागजात खानेपानी संस्थानलाई हस्तान्तरण गरे । उनले दसैँ अगाडि यहाँका अधिकांश घरमा धारा जडान सम्पन्न हुने जानकारी दिए  । 

यसपटक वडा नं १, ७, १०, १७ र २४ का ५४ जना लालपुर्जा नभएका सुकुम्वासी र एक जना लालपुर्जा भएका गरी ५५ घरधुरी लाभान्वित हुनेछन् ।

‘गत वर्ष हामीले ४०० विपन्न तथा सुकुम्वासी परिवारमा खानेपानी पुर्‍याउने योजना बनाएका थियौँ । हालसम्म १८१ घरमा धारा जडान भइसकेको छ’, नगरप्रमुख चौधरीले भने, ‘वीरगञ्जमा हालै देखिएको हैजाको सङ्क्रमणले देखाउँछ कि शुद्ध पानी सबैको घरमा पुग्नैपर्छ ।’ उनका अनुसार अघिल्लो वर्षमात्रै ३०० घरधुरीमा धारा जडान गरिसकिएको छ ।

यस क्षेत्रमा इनार र हातेकल सुक्दै गएपछि पानीको भरपर्दो स्रोतका रूपमा घरघरमा धारा आवश्यक भइसकेको लहान–२४ का वडाध्यक्ष राशलाल रायले बताए । उनले खानेपानी संस्थानले काममा गति दिएकामा खुसी व्यक्त गर्दै भने, ‘अब इनारमा लाइन बस्ने, पालो कुर्ने बाध्यता अन्त्य हुँदै गएको छ । टाढाबाट पानी ल्याउने झन्झट हटेको छ ।’

दलित जनकल्याण युवा क्लबका विकन परियोजना कार्यक्रम प्रबन्धक राजेशकुमार लोहनीले परियोजना केबल धारा जडानमा सीमित नरहेको जनाउँदै वडाध्यक्ष रायले समुदायमा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सचेतना अभियान पनि सञ्चालन भइरहेको जानकारी दिए । 

नेपाल खानेपानी संस्थान लहान शाखाका वितरण प्रमुख लट्टु यादवका अनुसार शाखाबाट हालसम्म छ हजार २२१ घरधुरीमा धारा जडान भइसकेको छ । लालपुर्जा भएका परिवारका लागि धारा जडान खर्च छ हजार ३९० रुपैयाँ पर्ने जनाउँदै उनले लालपुर्जा नभएका सुकुम्बासीका लागि १० हजार ११० रुपैयाँ खर्च लाग्ने बताए ।

लहान नगरपालिका र परियोजनाबाट अनुदान दिइँदै आइएको छ । ‘नगरपालिकाले तीन हजार ७२० रुपैयाँ र परियोजनाले  तीन हजार २७० रुपैयाँ अनुदान उपलब्ध गराउँछन्, जसअनुसार सुकुम्बासीले तीन हजार १२० रुपैयाँ मात्र तिरेर धारा जडान गराउन सक्छन् । केही वडा कार्यालयले पनि यसमा थप सहयोग गरेका छन्’, प्रमुख यादवले भने ।

लहान नगरपालिकामा करिब २० हजार दलित सुकुम्वासी बसोबास गर्ने जनाउँदै उनले अधिकांशसँग घरजग्गाको लालपुर्जा नभएको बताए । यो अभियानले उनीहरूको स्वास्थ्य, सरसफाइ र जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको उनको भनाइ छ । रासस

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  २ : १७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित