सेनेटरी प्याड बनाउन छात्रालाई तालिम « Khabarhub

सेनेटरी प्याड बनाउन छात्रालाई तालिम


१७ जेष्ठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– महिनावारीको समयमा प्रयोग गर्ने सेनेटरी प्याड किन्न बन्दनाकुमारी महतोलाई बुवाआमासँग आवश्यक पैसा मागिरहनुपर्ने बाध्यता टरेको छ । सिरहाको नवराजपुर गाउँपालिका–४ सोनवर्षास्थित जनता नमूना (प्राविधिक धार) माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा बन्दनाले तीनदिने तालिम पछि घरैमा आफैँ प्याड बनाउन सक्ने भएकी छिन् ।

स–साना कपडाको टुक्राबाट महिनावारी हुँदा प्रयोग गर्न मिल्ने प्याड बनाउन जानेपछि उनले खुसी लागेको बताइन् । ‘अब सेनेटरी प्याड किन्न घरमा पैसा मागिरहनु परेन । पहिला मम्मीसँग माग्थेँ, अब त्यो परेन । ससाना कपडाको टुक्राबाट राम्रोसँग प्याड बनाउन सिकेकी छु’, खुसी व्यक्त गर्दै बन्दनाले भनिन्, ‘पकेटमा रुमाल राखे जसरी लिएर हिँड्न सक्छौँ । जतिबेला जरुरी पर्छ त्यसैबेला प्रयोग गर्न सकिन्छ ।’ घरेलु प्याड लगाउँदा महिनावारीको समयमा सुरक्षित हुने तरिकाबारे पनि सिकेको उनले जानकारी दिइन् ।

बन्दनाजस्तै रमेश महतो स्मृति जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत अर्की छात्रा पूजाकुमारी चौधरीलाई पनि तालिमले निकै सहज बनाइदिएको छ । तालिमबाट प्याड बनाउन सिकेकी उनी आफूले प्रयोग गर्नेमात्रै नभएर दिदी बहिनी र आमालाई प्रयोग गर्ने प्याड घरमै बनाउने सोचमा छिन् ।

छात्रा पूजाको परिवारमा आमा, दिदी र बहिनीले पनि कपडाकै प्याड प्रयोग गर्नेगरेको बताउँदै उनीहरूलाई पनि घरमै कपडाको प्रयोग गरी पुनः प्रयोग गर्न मिल्ने घरेलु प्याड बनाउने तरिका सिकाई व्यवसायिक बन्न सकिने उनको भनाइ छ । उनले भनिन्, ‘बजारमा विभिन्न कम्पनीका सेनेटरी प्याड उपलब्ध हुन्छन् । तर त्यस्ता प्याड सबैको पहुँचमा हुँदैनन् । त्यसैले घरमै व्यवसायिकरूपमा कपडाको प्याड बनाएर बिक्री गरेर आम्दानी लिन सकिन्छ । गाउँ घर टोल छिमेकीलाई सिकाउन सकिन्छ ।’

बन्दना र पूजाजस्तै दुई विद्यालयका गरी ५३  छात्राले बुधबारदेखि शुक्रबारसम्म जनता नमूना (प्राविधिक धार) माध्यमिक विद्यालयमा तीन दिने तालिम लिएका छन् । गाउँपालिकाको आर्थिक सहयोगमा सृजनशील नेपाली युवा समूह लहानले सञ्चालन गरेको तालिमपछि कक्षा १० मा अध्ययनरत छात्रामा कपडाको प्रयोग गरी पुनः प्रयोग गर्न मिल्ने घरेलु प्याड बनाउने तरिका अरुलाई सिकाउने आत्मविश्वास बढेको देखिन्छ ।

महिनावारीको समयमा किशोरीमा विद्यालय आउनसमेत नसक्ने अवस्था रहने हुनाले उनीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आफैँले बनाएको प्याड प्रयोग गर्नसके स्वास्थ्यका लागि पनि राम्रो हुने उद्देश्यले तालिम दिइएको प्रशिक्षक प्रतिभा गुप्ताले बताइन् । किशोरीहरूले महिनावारीको समयमा ध्यान दिनुपर्ने कुरा, स्वस्थ तरिकाले प्याड प्रयोग गर्ने विधिबारेसमेत तालिममा सिकाइएको उनको भनाइ छ ।

त्यस्तै, तालिमका अर्का प्रशिक्षक सङ्गिता चौधरले कमजोर आर्थिक अवस्थाका कारण कतिपयले बजारमा प्याड खरिद गर्न नसक्ने भएकाले कपडाको उचित तवरले प्रयोग गर्न नजान्नेको लागि तालिम प्रभावकारी भएको विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘बजारको प्याड किनेर प्रयोग गर्न पैसा हुन्न । कपडा, सुई, धागो, टाँक, कैची भएपछि घरेलु प्याड बनाउन सकिन्छ । त्यसैले हाम्रो लागि यो प्याड बजारको भन्दा राम्रो छ । इन्फेक्सनबाट पनि जोगाउँछ ।’

ग्रामीण समुदायमा किशोरीसँग साथमा पैसा नहुने र महिनावारीको समयमा उनीहरूको पठनपाठन नै प्रभावित हुने देखिएपछि विद्यालयले तालिमको लागि सहजीकरण गरेको जनता नमूना (प्राविधिक धार) माध्यमिक विद्यालयका प्रधानाध्यापक मुरारी शर्माले जानकारी दिए । (रासस)

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार  ६ : ४८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित