काभ्रेमा सुरुङमार्ग र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता « Khabarhub

काभ्रेमा सुरुङमार्ग र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता


१६ जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा काभ्रेपलाञ्चोकमा सुरुङमार्ग आयोजनालाई अघि बढाउने घोषणा गरिएको छ। बजेट मन्तव्यमा पौडेलले काभ्रेपलाञ्चोकअन्तर्गत राष्ट्रिय गौरवका आयोजनालगायत अन्य आयोजनालाई बजेट विनियोजन गरिएको घोषणा गरेका हुन्।

प्रस्तुत बजेटमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दोलालाघाटबाट दोलखाको शैलुङ्ग गाउँपालिका–७ को चर्नावतीसम्म सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने जनाइएको छ। पौडेलले बजेट सार्वजनिक गर्दै काभ्रेपलाञ्चोकको दोलालघाट–चर्नावती सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिने घोषणा गरेका हुन्। यससँगै जिल्लामा सुरु भएका दीर्घकालीन महत्वका योजना बजेटको प्राथमिकतामा परेको जनाइएको छ।

बजेट वक्तव्यमा जिल्लामा निर्माण भएको सुरक्षण मुद्रण केन्द्रको पूर्वाधार निर्माण सम्पन्न गरी मुद्रण कार्य प्रारम्भ गरिने उल्लेख छ।

यस्तै मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनको काम अघि बढाउने बजेट वक्तव्यमा उल्लेख छ। यस्तै धुलिखेल अस्पताललाई सेवा तथा गुणस्तर वृद्धि गर्न पुँजीगत अनुदानको व्यवस्था गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ।

मदन भण्डारी विश्वविद्यालय काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माण हुने ‘मास्टर प्लान’ निर्माण सम्पन्न भइसकेको छ। मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण समितिका अनुसार निर्माण प्रक्रिया अघि बढाउन वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को तयारीमा रहेको छ।

तत्कालीन नेकपा नेतृत्वको सरकारले ‘मदन भण्डारी विश्वविद्यालय विधेयक–२०७६’ गत असार तेस्रो साता परिमार्जनसहित सङ्घीय संसद्बाट पारित भएसँगै यसको निर्माण प्रक्रियाका लागि थप बाटो खुलेको थियो। तत्कालीन सरकारका अर्थमन्त्री पौडेलले २०७६ सालको बजेटमा उक्त विश्वविद्यालय निर्माणका लागि एक अर्ब ५५ करोड बजेट विनियोजन गरेका थिए।

उक्त विश्वविद्यालय काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माणका लागि यसअघि जग्गा अधिग्रहणको प्रक्रिया सकिएको छ। विश्वविद्यालय निर्माणका लागि आवश्यक जमिनमध्ये पाँचखाल नगरपालिकासहित नमोबुद्ध नगरको केही वडा समेटिएको हो।

विश्वविद्यालयका लागि आवश्यक देखिएको करिब ११ हजार रोपनी सार्वजनिक जग्गा जिल्ला मालपोत कार्यालय धुलिखेलमार्फत अधिग्रहणको काम गत साल नै सकिएको थियो। कार्यालयका अनुसार पाँचखाल नगरको वडा नं ७, १० र १२ तथा नमोबुद्धको २ र ३ नम्बर वडाको १० हजार ३०० रोपनी सार्वजनिक जमिन विश्वविद्यालयको पूर्वाधार विकास समितिका नाममा दाखिल खारेज (हस्तान्तरण) भइसकेको हो।

उक्त जमिनमा शिक्षण, मेडिकल कलेज र अस्पतालका आवश्यकीय भवन, सडक, खानेपानी, शिक्षक–विद्यार्थीका होस्टेल, हेलिप्याड, खेलमैदानलगायत संरचना निर्माण गर्ने योजना बनाइएको छ।

तत्कालीन मन्त्रीपरिषद्को २०७५ माघ २१ गतेको बैठकद्वारा गठित विश्वविद्यालय पूर्वाधार तयारी समितिले विश्वविद्यालय निर्माणको सम्पूर्ण प्रशासनिक जिम्मेवारी लिएको थियो। सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण समिति गठन आदेशानुसार २०७६ असार ९ गते राजपत्रमा प्रकाशित गरेको थियो। सोहीअनुसार २०७६ मङ्सिर २३ गते विकास समितिका नाममा जग्गा पास गरिदिने निर्णय सरकारले गरेको थियो।

चिनियाँ सरकारको तत्कालीन भ्रमणका क्रममा सो विश्वविद्यालय निर्माणार्थ सहयोग गर्न इच्छुक देखाएको थियो। चिनियाँ राष्ट्रपति सी चिनफिङको सन् २०१९ अक्टोबरमा भएको नेपाल भ्रमणका क्रममा नेपाल सरकारको तत्कालीन नीति, कार्यक्रम तथा बजेट अध्ययनपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणार्थ सम्झौतासमेत भएको थियो।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ६ : ३६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित