लुलु गाई लोपोन्मुख अवस्थामा « Khabarhub

लुलु गाई लोपोन्मुख अवस्थामा


१२ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- हिमाली जिल्ला मुस्ताङ, मनाङ र डोल्पाका किसानले  पालन गर्ने विभिन्न प्रजातिका गाईमध्ये लुलु गाई पनि एक हो । पारिस्थितिक प्रणाली (इको सिस्टम)मा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेका हिमाली लुलु गाई पछिल्लो समय भने लोपोन्मुख अवस्थामा रहेको छ ।

जुरो नभएको  स्थानीय गाईका जातमध्ये  लुलु गाई एक हो ।  अन्य गाईभन्दा हिमाली क्षेत्रको उच्च भूगोलमा पालन गरिने लुलु गाई कद केही होचो हुन्छ । यो समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइदेखि माथिको उच्चस्थानमा पालन गर्ने गरिएको छ । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख एवं पशु चिकित्सक डा. लालमणि अर्यालले मुस्ताङमा सदियौँ वर्षदेखि परम्परा र संस्कृतिको रूपमा पालन गर्दैआइरहेको लुलु गाई पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको जानकारी दिए ।

मुस्ताङमा दश वर्षअघि करिब १० हजार बढी लुलु गाई रहेकोमा पछिल्लो समय मुस्ताङका पाँचौँ पालिकामा गरी करिब छ हजारको सङ्ख्यामा लुलु गाईपालन गरिएको उनले बताए ।

‘मुस्ताङमा लुलु गाईपालन बर्सेनि घट्दो अवस्थामा छ, यसको संरक्षणमा स्थानीय कृषकले खासै चासो दिएको पाइएन’, पशु चिकित्सक डा अर्यालले थपे, ‘दूध उत्पादन कम हुने र अन्य वैकल्पिक अवसरले गर्दा लुलु गाई संरक्षणतर्फ कसैको ध्यान पुगेको छैन ।’

मुस्ताङका कृषकले अन्नबाली उत्पादनका लागि मल चाहिने भएको र थोरै मात्रामा दूध उत्पादन गर्न सकिने भएकै कारण लुलु गाई पाल्ने गरिएको हो । अन्य गाईको तुलनामा लुलु गाईले निकै कम मात्रामा दूध उत्पादन गर्ने भएकाले कृषकले लुलु गाईपालनमा बेवास्ता गरेको घरपझोङ गाउँपालिकाका पशु शाखा प्रमुख आइतलाल थकालीले बताए । ‘कृषकहरू लुलु गाई जोगाउनु पर्नेतर्फ संवेदनशील भएको पाइँदैन, यो निकै चिन्ताको विषय बनेको छ’, पशु शाखा प्रमुख थकालीले भने, ‘गाउँपालिकाले पनि लुलु गाई संरक्षण गर्न कृषकलाई प्रोत्साहन गर्ने लगायतमा सहयोग गर्ने गरेको छ ।’

मुस्ताङका कृषकले पालन गर्ने लुलु गाई हिमाली परम्परा र संस्कृतिको जैविक आयामको रूपमा लिने गरिन्छ । तर, यहाँको जैविक विविधता र संस्कृतिमा असर पुगेजस्तै हिमाली क्षेत्रमा पालन गरिने लुलु गाई लोप हुने खतरा बढेको पशु शाखा प्रमुख थकालीको भनाइ छ ।

जिल्लामा विस्थापित हुने अवस्था रहेको लुलु गाईपालन व्यवसाय केवल कृषि प्रयोजनमा मात्रै उपयोग भएको देखिन्छ । पछिल्लो समय सडक सञ्जाल र प्रविधिको विकास हुन थालेसँगै मुस्ताङका कृषकले बिस्तारै लुलु गाई पाल्न छाडिसकेका छन् । मुस्ताङमा विद्यमान अवस्थामा पालन गरिएका लुलु गाईलाई पनि कृषकले आवश्यक रूपमा संरक्षण गर्न छाडिसकेको घरपझोङका किसान अजित थकालीले बताए ।

‘अन्य बस्तुभाउभन्दा लुलु गाईलाई कृषकले बेवास्ता गर्न थाले, जथाभाबी छाडिदिने गर्न थाले’, उनले भने, ‘कोही कृषि र होटल चलाउन थालेपछि कृषकले लुलु गाई पाल्न छाडेका हुन् ।’ पहिला पहिला एउटै घरमा १०/१२ वटासम्म लुलु गाई पाल्ने गरिएकोमा अचेल एक घरमा एउटा लुलु गाई पनि नहुने गरेको कृषक थकालीको भनाइ छ । कृषि र पर्यटनको विकाससँगै लुलु गाईतर्फ संरक्षण गर्नपर्छ भन्ने मान्यता राख्न छोडेको कृषक थकाली सुनाए ।

लुलु गाईले बिहान र बेलुकी गरी बढीमा एक लिटरसम्म दूध उत्पादन गर्ने गर्छ । कम दूध उत्पादन हुने र श्रम र लागत बढी लाग्ने भएकाले हिमालका लुलु गाईहरू लोपोन्मुख हुन थालेका हुन् ।

त्यस्तै कृषकले लुलुगाई पाठापाठीको संरक्षण नगर्दा कुकुर र हिउँ चितुवाले खाइदिने गर्दा समेत मुस्ताङमा लुलु गाई संरक्षणमा चुनौती बनेको हो । जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि हुँदा उच्च लेक र खर्कमा पानीको मुहान सुक्दै जान थालेको, चरन क्षेत्रमा घाँस पलाउन छाडेकाले लुलु गाईहरू कृषकले बेवास्ता गरी छाडा रूपमा सडक र गल्लीमा छोड्ने प्रचलन रहेको छ ।

आफैँ आहारा व्यवस्थापन गर्ने क्षमता भए पनि लुलु गाईले आहार व्यवस्थापन गर्न नसक्दा गाउँबस्ती र सडकमा मिल्काएका कागज र अरूले फ्याकेका खानेकुरा खाएर आहार पूर्ति गर्ने गरेको पाइएको छ । (रासस)

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ७ : ५८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित