चीन जाँदै पूर्वराष्ट्रपति भण्डारी, उच्च तहको भेटघाट गर्ने तयारी « Khabarhub

चीन जाँदै पूर्वराष्ट्रपति भण्डारी, उच्च तहको भेटघाट गर्ने तयारी


५ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आगामी १० जेठमा उत्तरी छिमेकी चीन भ्रमणमा जाने भएकी छन् ।

चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा हुन लागेको साताव्यापी भ्रमणमा उनले चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेताहरूसँग भेटवार्ता गर्ने तयारी छ ।

पूर्वराष्ट्रपति भण्डारीले सकेसम्म माथिल्लो तहकै चिनियाँ नेताहरूसँग भेट गर्ने तयारी छ । स्रोतका अनुसार पूर्वराष्ट्रपति भण्डारीले त्यहाँका प्रधानमन्त्री ली किआङ, उपराष्ट्रपति हान जिङ र राष्ट्रपति सी चिनिफिङलाई समेत भेट्न प्रयास गर्ने छिन् । यदि सीसँग भेट नभए उनले प्रधानमन्त्री र उपराष्ट्रपति तहमा संवाद गर्ने तयारी गरेकी छन् ।

नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकालाई लिएर प्रश्न उठिरहेका सन्दर्भमा भण्डारी चीन जान लागेकी हुन् । दुई कार्यकाल राष्ट्रपति सम्हालेपछि बिदा भएकी उनी एमालेको राजनीतिमा फर्किन जोडबल गरिरहेकी छन् ।

उनले राष्ट्रपतिबाट बिदा भएपछि पछिल्लो समय गण्डकी, कोशी र लुम्बिनी प्रदेशमा पुगेर एमालेका सयौँ नेता-कार्यकर्तालाई भेटिन् । त्यहाँ उनले आफू सक्रिय हुने आशय व्यक्त गरेकी थिइन् ।

भण्डारीले सार्वजनिक कार्यक्रम र अन्तर्वार्ताहरूमा समेत आफू राजनीतिमा फर्किने संकेत गरिसकेकी छन् । उता नेकपा माओवादी केन्द्रबाट उपराष्ट्रपति बनेर बिदा भएका नन्दबहादुर पुन उपाध्य बन्दै राजनीतिमा फर्किसकेका छन् ।

पुनले राजनीतिमा फर्किने बाटो खोलेसँगै भण्डारीले नेपालमा राजनीतिक संवादलाई बाक्लो बनाइरहेका बेला चीन यात्रा गर्न लागेकी हुन् ।

भण्डारी राष्ट्रपति भएकाले १२ जेट २०७८ मा चिनियाँ समकक्षी सीसँग लामो टेलिफोन संवाद गरेकी थिइन् । त्यसबेला नेपालमा कोभिडको महामारीबीच खोपको अभाव थियो ।

दुई समकक्षीको संवादअगाडि चीनले नेपाललाई ८ लाख डोज खोप पठाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीकै आग्रहमा भएको उक्त टेलिफोन संवादपछि चीनले नेपाललाई पटक पटक गरेर ३० लाख डोजभन्दा बढी खोप अनुदानमा पठाइदियो । त्यसबेला दुई नेताको उक्त संवादलाई ‘खोप कूटनीति’को पनि संज्ञा दिइएको थियो ।

अहिले परिस्थिति फेरिएको छ । नेपालमा २०८१ असार ३१ देखि नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । तर उक्त सरकारले जनअपेक्षाअनुसारको नतिजा दिन नसकेको गुनासो बढिरहँदा प्रधानमन्त्री ओलीको कार्यक्षमतामाथि पनि प्रश्न उठिरहेको छ ।

एमालेमा पनि विस्तारै नेतृत्व परिवर्तनको मुद्दा उठ्न थालेको छ । त्यहीकारण एमालेका पोलिट्बुरोदेखि पदाधिकारीसम्मका नेताहरू पूर्वराष्ट्रपतिको भंगालस्थित निवासमा बारम्बार धाइरहेका हुन्छन् ।

उता ओलीले आफू अझै २० देखि २५ वर्ष बाँच्ने बताउँदै आफूबिनाको एमाले अहिले कल्पना नगर्न चेतावनी दिइरहेका छन् । एमालेको एघारौँ महाधिवेशनमा अघि भण्डारी राजनीतिमा फर्किन ओलीले छाडिदिनुपर्ने हुन्छ । यदि त्यसो नभए एघारौँ महाधिवेशनमा ओलीलाई चुनौती दिएर मात्रै उनको पुनरागमन सम्भव छ।

यस्तोमा नेपालमा नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, वामदेव गौतम र डा. भीम रावलहरूलेसमेत यदि भण्डारीले एमालेको नेतृत्व गर्ने अवस्था आएमा कम्युनिष्ट एकता सम्भव हुने बताइरहेका छन् । ओली नेतृत्वमा हुन्जेल कम्युनिस्ट एकता सम्भव नहुने धारणा उनीहरूको छ ।

चीनले पनि भण्डारीलाई एमालेको नेतृत्वमा ल्याएर सबै कम्युनिस्टलाई एक ठाउँमा ल्याउन चाहेको ब्याख्या पनि एमालेकै नेता-कार्यकर्ताले गरिरहेका छन् । नेपाली कम्युनिस्टलाई एक ठाउँमा ल्याएर पश्चिमालाई माइनस गर्ने चीनको चहाना पूरा गर्न सजिलो भने छैन ।

रोकिएको थियो भ्रमण

यसअघि भण्डारी २०८१ जेठमा पनि चीन भ्रमणमा जान चाहेकी थिइन् । तर त्यसबेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहा प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा जाने भएपछि भ्रमण रोकिएको थियो

त्यसबेला प्रचण्डले आफू भारत जान लागेका बेला पूर्वराष्ट्रपति चीन जाँदा गलत सन्देश जाने सुझाएका थिए । त्यसबेला रोकिएकी भण्डारी यस पटक चीन यात्रामा निस्किन लागेकी हुन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ६ : २८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित