प्रदेश राजधानीको छिमेकी गाउँ तरङ्गा : जहाँ न बिजुली बल्छ, न खानेपानी आउँछ, उपचार अभावमा ज्यान गुमाउँछन् स्थानीय « Khabarhub

प्रदेश राजधानीको छिमेकी गाउँ तरङ्गा : जहाँ न बिजुली बल्छ, न खानेपानी आउँछ, उपचार अभावमा ज्यान गुमाउँछन् स्थानीय

तल भेरी सुसाइरहन्छ, गाउँले तिर्खाले छटपटिन्छन्


१८ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकासँगै जोडिएको पालिका हो बराहताल । बराहताल गाउँपालिका–४, स्थित तरङ्गा बस्ती बत्तीमुनिको अँध्यारो जस्तै छ । तरङ्गामा बत्ती बाल्न तार तानिएको तीन वर्ष भयो । यहाँका गाउँलेले अझै बिजुली बाल्न पाएका छैनन् ।

२०७८ सालमा सुरू भएको बिजुलीको तार विस्तारले गति नलिँदा भेरी नदी तटीय क्षेत्र माथिल्लो तरङ्गा, सिम्लेपानी, केलाडी, तल्लो तरङ्गा, साझघाट र कुटा लगायतका आठवटा बस्ती अझै अन्धकारमा छन् । 

भेरी किनारका बस्तीहरू सदियौँदेखि खानेपानी, स्वास्थ्य, विद्युतको पहुँच बाहिर छन् । स्वच्छ खानेपानी अभावले यहाँका अधिकांश नागरिक भेरीको पानी प्रयोग गर्न बाध्य छन् ।

बस्तीको पुच्छार भेरी नदी बग्छ । तर, खेतीयोग्य जमिन सिँचाइको अभावले सुख्खा टार बनेका छन् । मानिसको ठूलो बसोबास भएको माथिल्लो तरंगा लगायत बस्तीमा भेरीको पानी प्रयोग गर्न सोलार लिफ्ट निर्माण गरिएको छ । तर, मर्मत र उचित संरक्षण अभावमा करोडौँ लगानीका संरचना बेवारिसे छन् ।

२०७६ सालमा सोलार सिस्टमबाट भेरीको पानी लिफ्ट गरी माथिल्लो तरङ्गामा सिँचाइ तथा खानेपानी दिने लक्ष्यसाथ निर्माण गरिएको भेरी लिफ्ट उद्घाटन भएकै दिनबाट बन्द छ । खेतीपाती गर्न आकाशे पानीको भर पर्नुपरेको स्थानीय ६८ वर्षीया रुपा कामी बताउँछिन् । यसपाली पर्याप्त पानी नपर्दा मिहिनेत अनुसारको उत्पादन लिन नसकेको उनी गुनासो गर्छिन् ।

‘छेउमै भेरी बग्छ । तर, आकाशे पानी नआई हाम्रा बारी भिज्दैनन्,’ उनले भनिन्, ‘यो समस्या अहिलेको होइन, पुर्खादेखिको हो ।’ नेताहरूले भेरीको पानी बारीमा पुर्‍याउने आश्वासन मात्रै बाँडेको बताउँदै उनले भनिन्, ‘२०७६ मा सोलार सिस्टममार्फत् भेरीको पानी ल्याउन सुरु भएको थियो । आयोजना बनेर उद्घाटन पनि भयो तर, पानी कहिल्यै आएन । घरछेउ निरन्तर भेरी बग्छ । यता बस्तीमा शुद्ध खानेपानीको कहर छ ।’ 

गाउँमा बिजुली नहुँदा खानेपानीसँगै खेतबारी सुख्खा रहेको अर्का स्थानीयबासिन्दा ललित सुनारले सुनाए । 

‘बिजुली नहुँदा विद्यार्थीलाई पढ्न समस्या छ,’ उनले भने, ‘घरमा बत्ती छैन । विद्यालय टिनको पाताले छाएको छ । गर्मीमा भित्र बसेर पढ्न समस्या छ ।’ बिजुली नहुँदा सिँचाइ गर्न एक करोड बढी खर्चेर निर्माण गरिएको लिफ्ट आयोजना काम नलाग्ने भएको उनले बताए ।  

एक केजी कुटानी–पिसानीको ६ रुपैयाँ

रुपा कामीको बस्तीमा खाद्यवस्तु कुटानी–पिसानी गर्न महँगो मूल्य तिर्न पर्छ । उनले एक केजी खाद्यवस्तु कुटानी–पिसानी गरेबापत ६ रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता रहेको सुनाइन् । बिजुली नहुँदा कुटानी–पिसानी गर्न डिजेलबाट चल्ने मिलका कारण महँगो मूल्य तिर्न स्थानीय बाध्य छन् । 

बिजुली नहुँदा कुटानी–पिसानीमा महँगो मूल्य तिर्ने गरेको अर्का स्थानीय आशाराम थापाले बताए । ‘बत्ती भए सस्तो हुन्थ्यो कि ?, ‘अहिले कुटानी पिसानी गरेको ६ रुपैयाँ तिर्नु पर्छ ।’ हुनेखानेका घरमा सोलारको उज्यालो छ । नहुनेका घर अन्धकार छन् । विपन्नताको कहरमा रहेकी स्थानीय ७० वर्षीया पानसरी कडायतको घर रात पर्नेबित्तिकै अन्धकार बन्छ । 

‘हुने खानेका घरमा ठूला क्षमताका सोलार बत्ती छन् । नहुनेका घरमा केही छैन,’ विगतमा उज्यालोका लागि वन पैदावर प्रयोग गरिने भए पनि अहिले त्यो चलन हराएको बताउँदै उनले भनिन्, ‘गाउँमा पानीको समस्या त छँदैछ । बत्ती नहुँदा भेरीको पानी खेर गए जस्तो लाग्छ ।’

साविक तरंगा गाविसको केन्द्र रहेको तरंगामा बिजुली पुर्‍याउन प्रयास नगरिएको पनि होइन । बिजुली र पोल विस्तारको ठेक्का लिएका ठेकेदारको बदमासीले तरंगावासी उज्यालोबाट बञ्चित हुनुपरेको स्थानीयसमेत रहेका वडाध्यक्ष बिर्ख सिजापतिले बताए । 

‘तरङ्गामा सिधा लाइन अनुसार काम गरेको भए आजसम्म बिजुली आइसक्थ्यो तर, बीचमा लाइन ८ नम्बरतिर मोडियो,’ उनले भने, ‘छिटो लाइन विस्तारको काम अघि बढाउन ठेकेदारसँग छलफल गरेका छौँ ।’ 

उनका अनुसार भेरी तटीय क्षेत्रका नागरिकलाई लक्षित गरी सडक निर्माण भइरहेको छ ।  चालु आर्थिक बर्षदेखि हुड्के–ब्युरेनी–साझघाट–चेपाङ–जामु सडक निर्माणले गति लिएको उनले बताए । कर्णाली प्रदेश सरकारले ठेक्का गरेर खड्का कृष्ण-श्याम शंकर जेभी काठमाडौंले निर्माणको जिम्मेवारी पाएको छ । ६१ करोड ५९ लाख ३० हजार बजेट रहेको सडक निर्माण ०८३ साल असार १५ गतेसम्म गरिसक्ने लक्ष्य लिइएको छ ।

यो सडक तोकिएकै समयमा निर्माण भएको खण्डमा भेरीपारिको ठूलो जनसंख्य सडक पूर्वाधारसँग जोडिने उल्लेख गर्दै वडाध्यक्ष सिजापतीले पर्यटकीय उच्च सम्भावना भएको बराहतालबाट लाभ लिन सकिने बताए । 

स्वास्थ्य उपकरण चलाउन समस्या

स्वास्थ्य चौकी तरङ्गाले बर्थिङ सेन्टरसहितको सेवा दिन्छ । बर्थिङ्ग सेन्टरका लागि अक्सिजन कन्सनट्रेटर, भ्याक्सिन राख्ने फ्रिज राखिएका छन् । तर, बिजुली छैन । अक्सिजन कन्सनट्रेटर बिरामीलाई अक्सिजन दिने सबैभन्दा उपयुक्त र सजिलो विकल्प हो । तर, बत्ती नहुँदा सोलारबाट चलाउन समस्या हुने गरेको स्वास्थ्य चौकी प्रमुख चन्द्रकिरण थापाले बताए । 

‘यहाँ आवश्यकता अनुसारका सबै उपकरण छन्,’ उनले भने, ‘बत्ती नहुँदा अहिले सोलारबाट चलाउन समस्या छ’, प्रमुख थापाले व्यंग्य गर्दै भने, ‘यहाँ माल छ, चाल नपाएपछि के काम ?’

उनले विगतमा अक्सिजनको अभावमा एक बालकले ज्यान गुमाउनु परेको सुनाए । ‘एकजना बालकलाई अक्सिजनको आवश्यकता थियो । यहाँको अक्सिजन कन्सनट्रेटर बत्ती अभावमा चलेन,’ उनले भने, ‘हामीले वीरेन्द्रनगर रिफर गर्‍यौँ । उनी अस्पताल पुग्नसाथ बितेछन् । अक्सिजन भएको भए बचाउन सकिन्थ्यो ।’

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ६ : २० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित