साढे तीन वर्षपछि एमालेमै फर्किँदै वामदेव गौतम « Khabarhub

साढे तीन वर्षपछि एमालेमै फर्किँदै वामदेव गौतम

एक साताभित्र एमालेमा समाहित भइसक्छौँ : प्रवक्ता कार्की


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम साढे तीन वर्षपछि पार्टीमा फर्किने भएका छन् ।

तत्कालीन नेकपामा देखिएको विवादपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई साथ नदिई तटस्थ बसेका गौतम नेकपा एकता राष्ट्रिय अभियान चलाउँदै बसेका थिए ।

२०७८ साउनमा नेकपा एमाले विभाजित भएपछि उनले २०७८ भदौ १८ गते पार्टी छाडेका थिए । काठमाडौंमा भएको नवौँ महाधिवेशनमा उपाध्यक्ष बनेका उनले ओलीसँग तीव्र असन्तुष्टि जनाउँदै पार्टी छाडेका थिए ।

तर अब साढे तीन वर्ष पार्टीबाहिर रहेका उनी एमालेमा फर्किने पक्का भएको छ । ‘वामदेव गौतमको नेतृत्वमा हामी एमालेमै समाहित हुने निश्चित भएको छ । यसबीचमा अध्यक्ष गौतम र अध्यक्ष ओलीबीच दुई चरणको वार्ताले नेकपा एकता राष्ट्रिय अभियान एमालेमा समाहित हुने टुंगो लागेको हो’, एकता अभियानका प्रवक्ता डीबी कार्कीले खबरहबलाई भने, ‘यही शुक्रबार अध्यक्ष गौतम र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भएको वार्ताले यो निष्कर्ष निकालेको हो । आइतबार पनि दुई नेताबीच टेलिफोन संवाद गरेर एक सातामै अभियानलाई एमालेमा समाहित गराउने सहमति जुटिसकेको छ।’

पछिल्लो पटक यही पुस १७ गते वामदेवले नेकपा (एकीकृत समाजवादी) सँग एकताको समझदारी गरेका थिए । गौतम र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एकताका लागि सैद्धान्तिक सहमति भएको बताएका थिए ।

तर त्यसबीचमा पुस २१ देखि २३ गतेसम्म च्यासलमा बसेको एमाले केन्द्रीय कमिटीको आठौं बैठकले पार्टी छाडेर गएकाहरूलाई फर्किनका लागि ढोका खुल्ला गरेसँगै वामदेव समाजवादीबाट टाढिएका थिए । यसबारेमा कार्कीले समाजवादीले एकताका लागि अनेक शर्त राख्नुका साथै अनावश्यक शंका गरेपछि अब त्यताको च्याप्टर बन्द भएको बताए ।

‘अभियानमा एमालेकै पृष्ठभूमिका नेताहरू धेरै छन् । एमाले नेपाली कम्युनिष्ट पार्टी आन्दोलनको मूल पार्टी पनि हो । त्यहीकारण अब एमालेमै समाहित हुने निश्चित भयो’, उनले भने, ‘सैद्धान्तिक सहमति भएर पनि एकीकृत समाजवादीले अनावश्यक शंका गरेकाले अब त्यताको कुरा सकियो । हामी अबको एक साताभित्रै एमालेमा समाहित हुन्छौँ ।’

तर एमालेसँग वामदेवले एकताको कुरा गरिरहँदा उनका चारजना प्रदेश इन्चार्ज भने बाहिरिएका छन् । उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा केन्द्रीय समिति सदस्यहरू वामदेवबाट छुट्टिएका हुन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरूले नेकपा एकता राष्ट्रिय अभियान त्यागेको घोषणा गरेका हुन् ।

अर्याल नेकपा एकता राष्ट्रिय अभियानमा लुम्बिनी प्रदेश इन्चार्ज पनि हुन् । त्यस्तै, कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेश प्रदेश इन्चार्ज हरि काफ्लेले वामदेवसँग छुट्टिँदै नयाँ यात्रा थालेका छन् । उनीहरू माओवादीमा जाने सम्भावना छ ।

त्यसकै लागि उनीहरूले एकता र समायोजनका लागि विचार मिल्ने नेकपा (माओवादी केन्द्र) लगायत वामपन्थी दलसँग वार्ता गर्ने निर्णय गरेका छन् । ४ सदस्यीय वार्ता समिति बनाइएको छ ।

२०७९ असारमा यो समूह बनाएलगत्तै नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई युवराज सफलले निष्कासित गरेका थिए ।

सफलले वामदेवलाई निकालेपछि एकता अभियानको सचिवालय बनाएका थिए । तर सफल अहिले उक्त अभियानबाट पनि बाहिरिएर मुद्दा मामिलामा ब्यस्त छन् ।

एमाले छाडेको बताए पनि गौतमले संगठित सदस्यता भने श्रीमतीमार्फत् नवीकरण गराइरहेका छन् । पुस १७ मा नेपालसँग भएको आलोकनगर वार्तापछि गौतमले छिट्टै पार्टी एकता हुने बताएका थिए । तर अहिले उनी एमालेतिर जाने पक्का भएको छ ।

यसबीचमा उनका प्रेस सल्लाहकारसमेत रहेका एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीसहित एमालेमै फर्किएका छन्। उनी महासचिव रामकुमार एलनसहितका नेताहरू शुक्रबार एमालेमा प्रवेश गरिसकेका छन् ।

‘उहाँ (वामदेव) गौतम एमालेमा फर्किने पक्का भइसकेको छ । मितिबारे टुंगो हुन बाँकी छ’, सुवेदीले खबरहबसँग भने, ‘यसबीचमा गौतम र प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीबीच दुई चरणको वार्ताले यो निष्कर्ष निकालेको हो । गौतमसहितका नेताहरू अब एमालेमा फर्किनु हुन्छ ।’

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ४ : ३९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित