मानव बेचबिखनको शैली फेरियो :  ‘कहाँ जाने बहिनी भनेर सोधे दार्जिलिङ घुम्न हिँडेको भन्छन्’ « Khabarhub

मानव बेचबिखनको शैली फेरियो :  ‘कहाँ जाने बहिनी भनेर सोधे दार्जिलिङ घुम्न हिँडेको भन्छन्’


२१ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- आकर्षक रोजगारीको प्रलोभनमा पारेर पूर्वीनाका काँकडभिट्टाबाट नेटवर्किङ व्यापार, घरेलु कामदार र पसल श्रमिकको बाहानामा नेपाली किशोरीलाई  भारतको विभिन्न सहरमा पुर्‍याउने गरिएको पाइएको छ ।

कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न पहाडी जिल्लाबाट जागिरको प्रलोभन देखाएर ल्याइएका किशोरीलाई माइती नेपालका सीमा निगरानीकर्ताले जाँच गरेर सुरक्षित रुपमा घर फर्काइरहेको माइती नेपालका कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताए ।

‘विगत सात महिनामा हामीले काँकडभिट्टा बोर्डरमा निगरानी गर्दा १८ वर्षमुनिका एक सय १९ जना नाबालिगलाई उद्धार गरेका छौँ”, उनले भने, ‘उद्धार गरिएका ती अधिकांश किशोरी छन् । उनीहरुलाई मानव बेचबिखनमा संलग्न गिरोहले रोजगारीको बहानामा फकाएर भारत लैजाँदै थियो ।’

पछिल्लो समय मानव बेचबिखनको शैली फेरिएको जनाउँदै उनले नेपाली युवतीलाई भारतीय भूमि पु-याएर भिजिट राहदानीमार्फत घरेलु कामदारका लागि हङ्कङ र खाडी मुलुक लैजाने प्रवृत्तिसमेत बढेको बताए । माइती नेपालले मानव बेचबिखनका लागि भइरहेका आपराधिक गतिविधि रोक्न सीमामा निगरानी बढाएको समेत जनाएको छ ।

‘एक दशक पहिलेको कुरा गर्ने हो भने नाकाबाट लुकीछिपी नेपाली किशोरीहरुलाई भारत पु¥याएर सिधै यौन शोषण हुने कोठीमा बन्धक बनाइन्थ्यो’, उनले भने, ‘श्रम शोषण गर्ने शैली बदलिएको छ ।

सामाजिक सञ्जालबाट अपत्यारिलो तलब पाइने जागिरको लोभ देखाउने र भारत लगेर जबर्जस्ती श्रम शोषण गर्ने गिरोहको चलखेल अचेल बढेको पाइएको छ ।’

सन् २०२४ को जनवरीदेखि जुलाईसम्मको सात महिनामा माइती नेपालले पूर्वी नाका काँकडभिट्टामा भारत जाँदै गरेका छ हजार सात सय ९१ जनालाई सीमामा रोकेर जाँच गरेको जनाएको छ । यसमध्ये आठ सय एक जनालाई परामर्शपछि सुरक्षित रुपमा फर्काइएको छ ।

सीमामा रोकेर जाँच गरेर फर्काइएका आठ सय एक जनामध्ये १८ वर्ष मुनिका एक सय १९ जना नाबालिग थिए । माइती नेपालको तथ्याङ्कअनुसार सोही अवधिमा काँकडभिट्टा नाकाबाट उद्धार गरेर सुरक्षित रुपमा २२ जना नाबालिगलाई घर पुर्‍याइएको छ ।

उक्त अवधिमा भारतको विभिन्न सहरमा जोखिमपूर्ण श्रम शोषणमा परेका चार जना नाबालिगलाई उद्धार गरेर नेपाल ल्याइएको घिमिरेले जानकारी दिए । माइती नेपालले काँकडभिट्टालगायत विभिन्न नाकामा निगरानीका लागि कर्मचारी परिचालन गर्दै आएको छ । उनीहरुले भारत जान लागेका बालबालिका र शङ्कास्पद व्यक्तिहरुलाई तत्कालै सोधपुछ र जाँच गर्दै आएका छन् ।

भारतको दार्जिलिङ, सिलिगुढी घुम्न जाने र नातेदारको घरमा पाहुना खान जाने भन्ने बहाना बनाएर गिरोहले नेपाली किशोरीहरुलाई नाका कटाउने गरेको माइती नेपालको सीमा निगरानीकर्ता गङ्गा मगरले बताइन् ।

‘ कहाँ जाने बहिनी भनेर सोध्यो भने कोहीले दार्जिलिङ घुम्न जान हिँडेको भन्छन् भने कोहीले आन्टीको घरमा पाहुना लाग्न गएको भनेर हामीलाई झुक्याउन खोज्छन्’, सीमा निगरानीकर्ता मगरले भनिन्,’उनीहरुको हाउभाउ र बोलाइबाटै हामीलाई उनीहरुलाई कसैले प्रलोभनमा पारेर भारत लैजाँदैछ भन्ने थाहा भइहाल्छ । घर ठेगाना, जाने ठाउँको नाम र कामको प्रकृति सोधीखोजी गरेपछि उनीहरुको अवस्था खुलिहाल्छ । भारत लैजाने गिरोहले नै उनीहरुलाई बोर्डरमा ढाँट्न सिकाएको हुन्छ । अठार वर्षमुनिका किशोरीलाई हामी कडा निगरानीमा राख्छौँ ।’

केही वर्षयता काँकडभिट्टा नाकाबाट लुकीछिपी भारतको सिलिगुढी आसपास पु¥याएर नेटवर्किङ धन्धामा नेपाली किशोरीलाई फसाउने प्रवृत्ति बढेको माइती नेपाल काँकडभिट्टाका संयोजक घिमिरेले बताए ।

भारतको सिलिगुढी, चेन्नाई लगायत सहरमा पुर्‍याएर ३० हजार भारु मासिक तलब दिने लोभ देखाएर नेपाली चेलीलाई फसाउने गरिएको र लगिसकेपछि होटल, रेस्टुराँ र घरेलु कामदारका रुपमा बन्धक जस्तो बनाएर काममा लगाउने गरिएको धेरै गुनासो आउने गरेको उनले जानकारी दिए ।

पश्चिम नेपालको जुम्ला, बाजुरा, दाङलगायत जिल्लाबाट ऋण काढेर रोजगारी खोज्दै आएका किशोरी इम्पोरियम, ग्लोबल, नेस्क्ट ग्रिप, आर्ज ट्रेडलगायत विभिन्न नेटवर्किङ धन्धामा आफ्नो भएभरको सबै रकम डुबाएर विचल्लीमा पर्ने गरेको माइती नेपालको सम्पर्कमा उद्धार भएकाहरुले बताउने गरेका छन् । – रासस

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  ११ : ३० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित