जोखिममा हिमताल, सावधानीको खाँचो « Khabarhub

जोखिममा हिमताल, सावधानीको खाँचो


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा आइतबार बिहान हिमपहिरो खस्यो । हिमपहिरोका कारण तालको सतह भरिएर पानी बाहिर बग्न थालेपछि बुढीगण्डकी नदीमा बाढी आउने भयले तटीय क्षेत्रका बासिन्दा त्रसित बने । गृह मन्त्रालयदेखि वडा कार्यालयसम्मले सतर्कता अपनाउन सर्वसाधारणलाई सूचित गरे ।

वीरेन्द्र हिमतालबारेका खबरले दिनभरजसो सञ्चारमाध्यममा राम्रो स्थान पाए । केही अनलाइन समाचार पोर्टल र सामाजिक सञ्जालमा त हिमताल नै फुटेको अपुष्ट विवरण पनि सार्वजनिक भए । सम्बन्धित क्षेत्रका विज्ञलगायत सरोकार भएका पक्षसम्मको ध्यान वीरेन्द्र हिमतालले खिच्यो ।

मनाङको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार हिमताल फुटेको नभई हिमपहिरो खस्दा तालको पानी छचल्किएर बाहिर बगेको हो ।

‘तालको पानी बग्न थालेपछि तल्लो क्षेत्रमा पानीको बहाव केही बढेको हो, क्षति हुने गरी कुनै त्यस्तो घटना भएन, साँझसम्म अवस्था सामान्य भइसकेको थियो’, उनले भने, ‘हिमताल नै फुटेको भए ठूलो विपत निम्तने खतरा हुन्थ्यो ।’

सुक्खायाममा हिमपहिरो खस्नु सोचनीय विषय भएको अध्यक्ष लामाको भनाइ छ । हिमतालले निम्त्याउने सम्भावित जोखिमबारे आइतबारको घटनाले झक्झकाएको उनले बताए । उनले पछिल्लो समय मनास्लु क्षेत्रमा सानाठूला हिमपहिरोका घटना भइरहेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जलवायु परिवर्तन तथा वातावरण सल्लाहकार डा. पपुलर जेन्टलले हिमतालको जोखिमलाई कम आँक्न नहुने धारणा राखे ।

उनले हिमनदी र हिमतालहरु पृथ्वीका लागि पानीको स्रोत भएकाले तिनलाई जोगाउनुपर्ने बताए । सन् २०१५ मा भएको ‘पेरिस सम्झौता’मा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धीका पक्ष राष्ट्रहरूले विश्वव्यापी तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित पार्ने सहमति गरेपनि हिमालय क्षेत्रको तापक्रमले उक्त तह पार गरिसकेको डा. जेन्टलले बताए ।

जलवायु विज्ञ डा. विमल रेग्मीले हिमालय क्षेत्रमा देखिएको पर्यावरणीय असुन्तलनसँग जलवायु परिवर्तनको प्रत्यक्ष सम्बन्ध रहेको बताए । ‘विश्वव्यापी तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र छ, जसका कारण हिमतालको सतह बढिरहेको छ, नयाँनयाँ ताल बनेका छन्’, उनले भने, ‘जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र बढी प्रभावित छ, यहाँ निम्तने प्राकृतिक विपद्ले उपल्लो र तल्लो तटीय क्षेत्रमा कुनैपनि बेला ठूलो विनाश ल्याउन सक्छ ।’

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले संयुक्त रुपमा गरेको अध्ययनले नेपालका २१ हिमताल जोखिममा रहेको देखाएको डा रेग्मीले बताए ।

उक्त अध्ययनअनुसार नेपालमा दुई हजार ८६ हिमताल रहेको पाइएको छ । डा. रेग्मीले उच्च जोखिम पहिचान गरिएका हिमतालको नियमित अध्ययन र अनुगमन हुनुपर्ने बताए । हिमताल रहेका क्षेत्रमा पूर्वसूचना प्रणाली जडान गर्नुपर्ने उनको भनाइ छ ।

दोलखाको च्छो रोल्पा र सोलुखुम्बुको इम्जा हिमतालमा पानीको सतह घटाएर जोखिम न्यूनीकरण गरिएको उदाहरण दिँदै अन्य हिमतालको जोखिमलाई पनि त्यसैगरी कम गर्न सकिने उनले बताए ।

‘इसिमोड’ र ‘यूएनडिपी’को अध्ययनअनुसार च्छो रोल्पा, इम्जा, मनास्लु हिमशृङ्खलाको ठुलागी, वरुण, चामलाङलगायतका हिमताल उच्च जोखिममा छन् ।

माटो, बालुवा र गेग्रानसहितको संवेदनशील भूगोलमा हिमतालहरु रहेकाले जुनसुकै बेला हिमताल फुट्ने र बाढीपहिराको रुप लिन सक्ने डा रेग्मीले बताए ।

डा. रेग्मीले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय क्षेत्रमा सङ्कट गहिरिँदै गएको बताए । अहिलेकै गतिमा हिउँ पग्लिँदै गएमा आउँदा केही दशकमा नेपालका हिमालहरु कालापत्थरमा परिणत हुने उनको भनाइ छ ।

विश्वव्यापी तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित पार्दा पनि यही शताब्दीको अन्त्यसम्ममा हिन्दुकुश–हिमालय क्षेत्रको ३६ प्रतिशत हिउँ भण्डार रित्तिने (इसिमोड)को अध्ययनले देखाएको डा. रेग्मीले बताए ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १२ : ३७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित