भूमेलाई खुसी बनाउने अनौठो संस्कृतिको जगेर्ना « Khabarhub

भूमेलाई खुसी बनाउने अनौठो संस्कृतिको जगेर्ना


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जम्मा भएका सबैको अनुहारमा कालोमोसो दलिएको छ । यो मोसो कुनै कारबाही वा दण्ड पाएर दलिएको नभएर उत्सवमा दलिएको हो । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा मङ्गलबार स्थानीयले सयौँ वर्ष पुरानो संस्कृतिलाई निरन्तरता दिएर मौलिक रुपमा भूमे पूजा गरेका छन् । 

भूमे देवतालाई खुसी बनाउन यहाँ भूमे पूजामा मोसो, छ्याङका छोक्रा एक आपसमा दलेर नाचगान गर्ने प्रचलन रहेको छ । चिमखोलाको सेवाङमा रहेको भूमेथानमा स्थानीयवासी, देश विदेशबाट आएका चिमखोलावासीसँगै छिमेकी गाउँबाट पुगेका मगर समुदायले भूमे पूजा गरेका हुन् । 

चैत महिनाको उजेली मङ्गलबारका दिन जिल्लाको विभिन्न ठाउँका मगर समुदायले भूमे पूजा गरेपनि चिमखोलाको भूमे पूजाको संस्कार र संस्कृति अन्य ठाउँको भन्दा पृथक रहेको स्थानीय गम पुनले बताए। उनका अनुसार यहाँ भूमे थानमा पूजा गरेपछि मोसो दलेर बाजागाजासँगै नाचगान गर्दै खुसीयाली मनाउने चलन छ ।

वनजङ्गल छेउछाउ बसोबास गर्ने भएकाले प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपद् नहोस्, खेतीबाली राम्रो होस् भन्ने कामनाले भूमे पूजा गर्ने प्रचलन रहेको उनको भनाइ छ । उनका अनुसार भूमे थानमा पुन जातिलाई पूजारीको रुपमा राख्ने गरिन्छ ।

पूजारीले पूजाको तीन दिन अघि नै सागरे छहरा थानमा पूजा गर्ने र सोही दिन बनाउने छ्याङलाई भूमे पूजामा मुख्य प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन रहेको स्थानीय चिनिमायाँ पुनले बताए। 

गाउँभेलाबाट भूमे पूजाका लागि एक महिनाअघि नै छ्याङ बनाउने जाँड राख्न छेमा (महिला) छनोट गरेपछि उनीहरूले विभिन्न टोलमा छुट्टाछुट्टै समूह बनाएर प्रत्येक घरबाट कोदो, चामल र नगद संकलन गरी कोदोको छ्याङ बनाउन जाँड राख्ने चलन रहेको उनको भनाइ छ ।

छेमाहरुले एक महिनाअघि राखेको जाँडलाई भूमेथानमा विधिपूर्वक चढाएर खाने, सोही छ्याङ र खाना पकाउँदा अँगेनामा आउने अङ्गार एकअर्कालाई दलेर नाचगान गर्ने गरिएको चिनिमायाँले बताए। 

भूमेथानमा मौलिक संस्कृतिअनुसार पूजा गरेपछि लोपोन्मुख अवस्थामा रहेको पूख्र्यौली सेदो गीत गाउँदै थान परिसरमा भान्सा चलाएका सबै चुला फन्को मारेर चुला उठाउने गरिन्छ भने भूमेथानबाट गाउँ फर्कने क्रममा भैच मायाले (साइलो भाका) मा दोहोरी गाउँदै नाचगान गरिन्छ ।

पूजाको भोलिपल्ट गाउँमा सांस्कृतिक उत्सव गरिन्छ । यस दिनमा छेमाहरुले टोपा नाच प्रदर्शन गर्दछन् भने सरमाजाले जुरेचल्ला, दुलहादुलहीको कलस जुँधाउने नाचसँगै थाली नाचलगायत मौलिक कला र संस्कृति देखाउने चलन रहेको चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाइजाले बताए ।

वडाध्यक्ष पाइजाका अनुसार भूमे पूजाको दिनमा चिमखोलाको मण्डली र ताप्केभेरा थानमासमेत विशेष पूजा गरिएको छ । भाकल र मनोकाङ्क्षा पूरा हुने जनविश्वासले मण्डली थानमा विभिन्न ठाउँबाट भाकल गरेर पूजा गर्न आउने भक्तजन बढ्दै गएका उनले जानकारी दिए। 

वडाध्यक्ष पाइजाका अनुसार यस वर्ष मण्डली थानमा करिब तीन सय र ताप्केभेरामा १० पाठी चढाइएको छ । 

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १ : १८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित