रुसी राष्ट्रपति पुटिन चीनमा « Khabarhub

रुसी राष्ट्रपति पुटिन चीनमा


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- इजराइल–हमास युद्धले ओझेलमा परेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) शिखर सम्मलेनमा आपसी सम्बन्धलाई बलियो बनाउन तथा आफ्ना ‘प्रिय मित्र’ चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई भेट्न मङ्गलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन पुगेका छन् । चीनले यसै साता राष्ट्रपति सि को व्यापार तथा पूर्वाधार बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को शिखर सम्मेलनमा भाग लिन आउने एक सय ३० देशका प्रतिनिधिहरूलाई स्वागत गरेको छ । अतिथिको शीर्ष सूचीमा पुटिन छन् ।

युक्रेनमाथि रुसको आक्रमणले आफ्नो शासन अन्तर्राष्ट्रिय रूपमा एक्लिएपछि पुटिन चीन पुगेका हुन् । क्रेमलिनका अनुसार बीआरआई फोरमका क्रममा उनले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्नेछन् । इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीचको युद्ध सुरु भएपछि बीआरआई शिखर सम्मेलनलाई छायाँमा पारेको छ ।

“वार्ताका क्रममा अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूलाई विशेष ध्यान दिइने छ”, क्रेमलिनले एक विज्ञप्तिमा भनेको छ । यही अक्टोबर ७ मा इजराइलको इतिहासमै हमासले घातक हमला गरेपछि अमेरिकाको नेतृत्वमा पश्चिमा मुलुकहरूले इजरायलको पक्षमा आफ्नो उपस्थिति देखाउँदै आएका छन् ।

हमासले गरेको उक्त आक्रमण अधिकांश सर्वसाधारणसहित १ हजार चार सयभन्दा बढीको मृत्यु भएको थियो । अमेरिकाले चीनलाई आफ्नो ‘प्रभाव’ प्रयोग गरेर युद्धलाई घटाउन आग्रह गरेको छ । हमासको आक्रमणको बदला लिन इजरायलले गाजा पट्टीमा बमबारी सुरु गरेपछि १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडेर भागेका छन् ।

यसै वर्षको सुरुमा चीनले मध्यपूर्वका प्रमुख प्रतिस्पर्धीहरु इरान र साउदी अरबबीच मध्यस्थता गरेको थियो । साथै चीनले इजरायल–हमास द्वन्द्वको युद्धविराम गर्न र शान्ति वार्तालाई अघि बढाउन विशेष दूत झाई जुनले यसै साता मध्यपूर्व पठाएको छ । यद्यपि चीनको सरकारी प्रसारक संस्था सिसिटिभीले मध्यपूर्वको झाईले कुन मुलुकको भ्रमण गर्ने भन्ने स्पष्ट पारेको छैन । परम्परागत रूपमा इजरायल र प्यालेस्टाइनी अधिकारीहरूसँग राम्रो सम्बन्ध राखेको रुसले तत्काल युद्धविरामका लागि आह्वान गरेको छ ।

बेइजिङमा रुसी राष्ट्रपति पुटिन चीनसँग पहिलेदेखि मजबुत भएको सम्बन्धलाई अझ बलियो बनाउने अभियानमा छन् तर विज्ञहरूका अनुसार चीनसँगको सम्बन्धमा मस्को तीव्र रूपमा सानो साझेदार बनिरहेको छ । चीन रुसको सबैभन्दा व्यापारिक साझेदार मुलुक हो । गत वर्ष यी दुई मुलुकबीचको व्यापार एक खर्ब ९० अर्ब डलर पुगेको बेइजिङ भन्सार तथ्याङ्कले देखाएको छ ।

युक्रेन युद्धमा बेइजिङको धारणाप्रति पश्चिमा मुलुकहरूले चीनको आलोचना गर्दै आएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेकामा चीनले मस्कोको आलोचना गर्न अस्वीकार गरेको छ र आफू यस मामिलामा तटस्थ रहेको बताउँदै आएको छ । बीआरआईले पुटिन र सीलाई उनीहरूको गठबन्धनलाई प्रदर्शन गर्ने नयाँ अवसर दिए पनि विज्ञहरूले दुई मुलुकबीच कुनै नयाँ ठूलो सम्झौताको घोषणा नहुने अपेक्षा गरेका छन् ।

“चीनले उच्च प्रचारका लागि कुनै पनि सम्झौतामा हस्ताक्षर गर्न मान्ने छैन भन्ने रुसलाई थाहा छ”, कार्नेगी रसिया युरेसिया सेन्टरका निर्देशक अलेक्जेन्डर गाबेयेभले भने, “सबै कार्ड चीनको हातमा छ ।”

‘साथीहरूको पुनर्मिलन’

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चिनियाँ राष्ट्रपति सीले चिलीका राष्ट्रपति ग्याब्रियल बोरिक र कजाकस्तानका राष्ट्रपति कासिम–जोमर्ट टोकायेभसँग भेटवार्ता गरेर मङ्गलबार बीआरआई फोरमको सुरुआत गरेका थिए । शिखर सम्मेलन सुरु हुनुभन्दा अघि चीन र रुसका उच्च कूटनीतिज्ञहरूले सोमबार बेइजिङमा भेट गर्दा एउटै गीत गाएका थिए ।

मस्कोका अनुसार पुटिनलाई शिखर सम्मेलनको ‘प्रमुख अतिथि’ का रूपमा आमन्त्रित गरेकामा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले चीनलाई धन्यवाद दिएका थिए । लाभरोभले चीनपछि उत्तर कोरियाको भ्रमण गर्ने जनाइएको छ ।

आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको भेटमा रुसी विदेशमन्त्री लाभरोभले पुटिन र सिले यसै हप्ता भेट हुँदा दुई मुलुकबीच ‘सम्पूर्ण रूपमा’ छलफल गर्ने बताए । जवाफमा वाङले बीआरआईमा रुसको समर्थनप्रति ‘आभार’ प्रकट गरे ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  १ : ५६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित