सम्झौता अवधि सकिँदा कोट अस्पतालको काम १० प्रतिशत मात्रै « Khabarhub

सम्झौता अवधि सकिँदा कोट अस्पतालको काम १० प्रतिशत मात्रै


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको कोट अस्पतालको निर्माण अवधि सकिँदा १० प्रतिशतमात्र काम सम्पन्न भएको छ । टेम्केमैयुङ गाउँपालिका–७ मा निर्माण भइरहेको अस्पताल ठेकेदारको कारण अलपत्र बनेको हो । 

दुई वर्षभित्र सम्पन्न गर्ने गरी अस्पताल निर्माणको काम २०७८ साउनमा थालिएको थियो । तर ठेकेदारले मैदान सम्याएर, कम्पाउण्ड र रिटेनिङ वालमात्र लगाएर काम अलपत्र छाडेको टेम्केमैयुङ–६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिए । सहजरूपमा स्वास्थ्य सेवा पाउने आशामा बसेका कोटवासीमा कामलाई देखेर निराशा बढेको उनको भनाइ छ ।

काम ढिला भएको विषयमा निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण मागिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिए । काममा ढिलाइ भएकाले समन्वय गरिदिनका लागि जिल्ला प्रशासन कार्यालयलाई समेत पत्राचार गरिएको उनको भनाइ छ । ठेकेदार कम्पनीलाई पटक–पटक कामलाई चाँडो अघि बढाउन भन्दा पनि काम नगरेको उनले जानकारी दिए। ठेकेदारको तर्फबाट चित्तबुझ्दो जवाफ नआएमा ठेक्का रद्द गरेर निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने कार्यापालिकाले निर्णय गरेको उनले बताए। 

‘अस्पताल निर्माणमा ठेकेदारले ढिलाइ गरेको अवस्था छ’, अधिकृत न्यौपानेले भने, ‘धेरैपटक भन्दा पनि काममा सोचेअनुसारको प्रगति नभएपछि जिल्ला प्रशासन कार्यालयलाई समन्वयका लागि पत्राचार गरेका छौँ । सम्झौताको म्याद सकिएको अवस्था छ । अब पनि काम भएन भने ठेक्का रद्द गरेर ठेकेदारलाई कालोसूचीमा राख्नका लागि पत्राचार गर्ने कार्यपालिकाबाट निर्णय गरिएको छ ।’

अस्पताल निर्माणमा ठेकेदार कम्पनी जिम्मेवार नबनेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए। कामलाई चाँडो सम्पन्न गराउन गाउँपालिकाले आफ्नो तहबाट भूमिका खेलिरहेको उनले बताए । “कामलाई चाँडो अघि बढाउन ठेकेदारलाई ताकेता गरिरहेका छौँ”, उनले  भने, “ठेकेदारले विभिन्न बाहना देखाएर काम अघि बढाउन ढिलाइ गरेको अवस्था छ । अब पनि काम भएन भने कानुनी प्रक्रियाअनुसार अघि बढ्छौँ ।”

निर्माण सुरु भएको दुई वर्षमा करिब १० प्रतिशतमात्र काम भएको गाउँपालिकाका इन्जिनियर रामकुमार तामाङले जानकारी दिनुभयो । अस्पताल निर्माणको काम एक वर्ष बढी समयबाट अलपत्र अवस्थामा रहेको उनको भनाइ छ । ‘अस्पताल निर्माणको काम दुई वर्ष अवधिमा १० प्रतिशतको हारहारीमा मात्र प्रगति भएको छ’, उनले भने, ‘लामो समयबाट काम रोकिएको अवस्था छ ।’

अस्पतालको कामलाई चाँडो अघि बढाउनका लागि पहल भइरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए। ठेकेदारले काममा लापरबाही गरेकाले सोचेअनुसारको प्रगति नभएको अध्यक्ष बस्नेतको भनाइ छ । केही समयअघि फोनमार्फत काम चाँडो अघि बढाउने विषयमा कुराकानी भएको उनले बताए ।

‘ठेकेदारले काममा अत्यन्तै ढिलाइ गरेको अवस्था छ’, अध्यक्ष बस्नेतले भने, ‘काम सञ्चालन गराउन मैले पहल गरिरहेको छु । निर्माणका क्रममा आउने समस्या समाधानमा गाउँपालिकाको तर्फबाट भूमिका खेलिरहेका छौँ । तर पनि ठेकेदारले काम गर्न ढिलाइ गरेको अवस्था छ ।’

अस्पताल सम्झौताअनुसार २०८० असारभित्र सम्पन्न गर्ने गरी भूमि हिमालयण जेभीले निर्माणको जिम्मा लिएको हो । पन्ध्र शय्याको अस्पताल निर्माणको कुल लागत रु १० करोड १४ लाख रहेको छ । हालसम्म निर्माण कम्पनीले पेश्कीबापत रु ८४ लाख भुक्तानी गरिसकेको गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ११ : ०७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित