तरकारी खेतीबाट मनग्य आम्दानी « Khabarhub

तरकारी खेतीबाट मनग्य आम्दानी


२५ भदौ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा रु २५ लाख बढी आम्दानी गर्दै आएका छन् ।

डेढ दशकदेखि तरकारी खेतीमा संलग्न खड्काले दुई बिघा १० कट्ठा जग्गामा खेती गर्दै आएका हुन् । दश कट्ठा मात्रै आफ्नो जग्गा भएका बताउँदै उनले दुई बिघा तरकारी खेतीका लागि भाडामा लिएको जानकारी दिए । उनका अनुसार वार्षिक एक सय टन बढी तरकारी उत्पादन हुने गरेको छ ।

मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आएको भन्दै खड्काले अहिले खेतमा काउली, बन्दा, गोलभेँडा, खुर्सानी, भान्टा, मुला, सिमला मिर्च, हरियो र धनियाँ लगाइएको बताए। ‘केही महिनाअघि मात्रै हरियो धनियाँ र सागपात मात्रै रु दुई लाख बढीको बिक्री भएको छ’, उनले भने, ‘वर्षमा रु १० लाख बढीको काउली मात्रै बिक्री हुने गरेको छ ।’ उत्पादित तरकारी महेन्द्रनगर बजार पुर्‍याएर बेच्दै आएको उनले बताए।

खड्का वडाका एक्ला व्यावसायिक तरकारी खेती गर्ने किसानका रूपमा रहेका छन् । तरकारी खेतीसम्बन्धी तालिम नलिएको जनाउँदै खड्काले अरूका बारीमा तरकारीका लागि खेत तयार गर्ने र लगाउने गरेर सिकेको बताए। त्यसरी सिकेको सीपलाई निरन्तरता दिँदै आएको उनको भनाइ थियो ।

‘कुनै निकायबाट तरकारी खेतीसम्बन्धी सीप सिक्ने अवसर पाइएन’, खड्काले भने, ‘गर्दै जाँदा सिकिँदो रहेछ । तालिम नलिए पनि तरकारी खेतीमा अरुभन्दा कम छैन । यसैबाट जीविकोपार्जन भइरहेको छ ।’

किसान परियोजना–२ बाट एउटा सिँचाइका लागि बोरिङ र सुदूरपश्चिम क्षेत्रीय कृषि निर्देशनालयबाट ५० प्रतिशत अनुदानमा एउटा खेत जोत्ने पावर टिलर सहयोग पाएको उनले जानकारी दिए । ‘तरकारी खेतीका लागि अन्य अनुदान पाइन्छ भन्छन् त्यो पनि पाएको छैन, आफ्नै सीप र पौरखमा तरकारी खेतीलाई अगाडि बढाउँदै आएका छौँ’, उनले भने।

तरकारी खेतीबाट आएको आम्दानीले १२ जनाको संयुक्त परिवारको जीविकोपार्जन भएको जनाउँदै खड्काले पक्की घरसमेत बनाएको बताए। ‘छोरा, बुहारी, म र श्रीमती बिहानदेखि साँझसम्म तरकारी बारीमा काम गरिरहेको हुन्छौँ’, उनले भने, ‘खेतीमा सिँचाइ गर्ने, गोडमेल गर्ने, तरकारी टिप्ने र बजारसम्म लगेर बिक्री गर्ने कार्यमा व्यस्ता हुन्छौँ ।’

तरकारी खेती गर्नु अघि खड्काले स्वामित्वको जग्गामा अरु किसानले झैँ धान, गहुँ खेती  लगाउने गर्थे। परिवारका लागि वर्षभरि खान पनि मुस्किलले पुग्ने गर्दथ्यो । घर खर्च चलाउनका लागि रु १५ लाखसम्म ऋण लागेको उनले सुनाए ।

‘सुरुआतमा एक कट्ठा जग्गामा तरकारी खेती गर्‍यौँ । रु २५ हजार आम्दानी भयो, धान, गहुँभन्दा निकै आम्दानी हुने भएपछि तरकारी खेतीको क्षेत्रफल बढाउँदै लग्यौँ’, खड्काले भने, ‘आम्दानी बढ्दै गयो, घर खर्च चलाउन लिइएको ऋण तिर्न भ्यायौँ ।’ केही वर्षदेखि जग्गा भाडामा लिएर तरकारी खेती गर्न थालेपछि आम्दानी थप बढ्न थालेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २५ भदौ २०८०, सोमबार  ४ : ०८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित