अर्घाखाँचीको १३ तले मन्दिर ओझेलमा « Khabarhub

अर्घाखाँचीको १३ तले मन्दिर ओझेलमा


८ भदौ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ ।

ऐतिहासिक एवं धार्मिक १३ तले आकाशदेवी मन्दिरको छुट्टै पहिचान भए पनि उचित प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै गएको छ ।

विसं २००८ मा स्थापना भएको उक्त मन्दिरलाई अहिले मन्दिर व्यवस्थापन समितिले पुनर्निर्माण गरी जिल्लाकै अग्लो १३ तले मन्दिरका रूपमा विस्तार गरेको छ ।

धार्मिक महत्व बोकेको उक्त मन्दिर ओझेलमा पर्न थालेपछि यहाँका स्थानीय यसको मर्मत तथा प्रचारप्रसारमा लागेका छन् ।

मन्दिर परिसरभित्र विभिन्न देवीका साथै शिव, गणेश र नागका मूर्ति छन् । यहाँ तीज, शिवरात्रि, रामनवमी, बाला चतुर्दशी, जन्माष्टमी र दसैँमा ठूलो मेला लाग्ने गर्दछ । मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्ण पाण्डेयले मन्दिरको प्रचारप्रसार नहुँदा ओझेलमा परेको स्वीकार्दै दसैँसम्म विभिन्न प्रचारप्रसारका कार्यक्रम गर्दै जाने बताए ।

मन्दिरको धार्मिक र ऐतिहासिक महत्वलाई बाहिर ल्याउनका लागि स्थानीय युवाको सहयोगमा काम थालिएको उनले जानकारी दिए । स्थानीय युवा शोभाखर न्यौपानेले मन्दिरको प्रचारमा आफूहरू लागिरहेको बताउँदै यसतर्फ मिडियाले पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

‘जिल्लामै १३ तले मन्दिर बन्दा पनि धेरैलाई थाहा नहुनु अनौठो कुरा हो । मन्दिरमा आएर दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यसको प्रचारप्रसार गर्न सके जिल्लाका साथै अन्य जिल्लाबाट पनि धार्मिक पर्यटक यहाँ आउने वातावरण बन्छ’, मन्दिरका पुजारी विष्णुप्रसाद मरासिनीले भने । 

उनले आकाशदेवी मन्दिरमार्फत यस क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राखे ।

सीमित स्रोत र साधनका बीचमा पनि ऐतिहासिक र धार्मिक क्षेत्रको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा काम थालिएको छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए ।

उनले उक्त मन्दिर छत्रदेवको मात्रै नभई सिङ्गो अर्घाखाँचीकै पहिचान भएकाले यसको व्यवस्थापन थप प्रभावकारी रुपमा गरिने प्रतिबद्धता व्यक्त गरे । 

उनले पालिकाभित्रका सबैजसो धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन गाउँपालिकाले भूमिका खेल्ने बताए ।

यसैबीच, मन्दिर परिसरमा किंवदन्तीअनुसार परापूर्वकालमा उल्कापात हुँदा उक्त स्थानमा एक प्राकृतिक पोखरीको स्थापना भएको थियो । सोही उल्काको एउटा टुक्रा केही तल गई अर्को प्राकृतिक पोखरी बनेको थियो । उक्त पोखरीलाई चुरनपोखरी नामकरण गरिएको जनविश्वास रहिआएको मन्दिरका पुजारी मरासिनीले बताए ।

‘अहिले उक्त पोखरी यहाँ भेटिँदैन । यति ठूलो महत्व बोकेको पोखरी पुरिएको छ । ताराखसे पोखरीको उत्तर पूर्वमा परापूर्वकालदेखिको एउटा गाज रहेको छ, जहाँ नाग भगवान्को स्थापना भएको छ’, उनले भने, ‘नागदेवताले रगतको बलि नखाने हुँदा उक्त पोखरीमा बलिको रगत पारिँदैन । यो गाजमा ठूलो दैविक शक्ति रहेको जनविश्वास छ ।’

पुजारी मरासिनीका अनुसार विशेषगरी दुर्गापूजाको समयमा नाग भएको स्थानमा धिपधिप बत्ती बलेको देखिएपछि धर्मागत न्यौपाने, देउदत्त न्यौपाने, टीका न्यौपानेका सन्तानले पूजा गर्ने, नयाँ अन्नबाली भित्र्याउँदा उक्त स्थानमा चढाउने प्रचलन बसालेर पूजाको सुरुआत गरेका थिए ।

पछि धर्मागत न्यौपाने र रेणु पाण्डेको अगुवाइमा गाउँको सहयोगमा खरको छानो भएको कोट निर्माण गरी पूजाको सुरुआत भएको स्थानीयहरू बताउँछन् ।

प्रकाशित मिति : ८ भदौ २०८०, शुक्रबार  १ : २२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित