घर जलेपछि पीडितलाई बासको समस्या « Khabarhub

घर जलेपछि पीडितलाई बासको समस्या


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामपुर– आफ्नै आँखा अगाडि घर जलेर नष्ट हुँदा ७६ वर्षीय दलबहादुर साठीघरेलाई आगोले पोलेको घाउको दुखाइभन्दा घर जलेको देख्दा मन भतभती पोलेको छ । उनलाई शरीरका भागमा आगोले पोलेर पीडा सही नसक्नु छ, तर पनि पीडा लुकाउँदै आफ्नै आँखाले हेर्दाहेर्दै आगो दन्केर घर खरानी हुँदा कताकता सपना हो कि बिपना जस्तै अनुभूति हुने गरेको छ ।

आगोले पोलेको पीडा त छँदै छ तर त्योभन्दा बढी घर डढेको पीडाले उनी तड्पिरहेका छन् । पाल्पाको रामपुर नगरपालिका–९ स्थित मधुकोटमा आगलागी हुँदा उनको तीन तले जस्तापाताले छाएको घर पुरै जलेर नष्ट भएको छ । घरमा भएका सरसामान, लत्ताकपडा, गरगहना, पैसा केही झिक्न नपाउँदा उनलाई बाँकी जीवन कसरी व्यतित गर्ने चिन्ताले पिरोलेको छ ।

‘कति दुःखले बनाएको घर क्षणभरमै हेर्दा हेर्दै खरानी भयो, आगो निभाउन जाँदा शरीरका विभिन्न भागमा पोलिएर घाउ बनेको छ, तर यो पोलिएको घाउले दुखेको सहेको छु’, उनले भने, घर डढेको चोटले मन भतभती पोलिएको छ ।’

मंगलबार अपराह्न बस्तीदेखि तल रहेको मधुकोट जङ्गलमा लागेको आगो सल्केर दलबहादुरको घर अगाडिको गोठ (दाउरा राख्ने) मा सल्केको हो । गोठमा लागेको आगो निभाउन बाल्टीमा पानी लिएर जाँदा दलबहादुर घाइते भए । गोठ हुँदै घरमा आगो सल्केपछि उनकी बुहारी लक्ष्मी साठीघरे घरभित्र रहेकी दुई वर्षकी छोरी निकाल्न जाँदा उनी आफैँ आगोले घाइते भइन् ।

लक्ष्मीको अनुहारलगायत विभिन्न भागमा आगोले पोलेको छ । घाइते दलबहादुर र लक्ष्मीको रामपुर अस्पतालको सहयोगमा निःशुल्क उपचार गरिएको छ । आगोले जलेर घरबारविहीन हुँदा कसरी जीवन जिउने चिन्ताले सताएको जानुमाया साठीघरेले गुनासो पोखिन् । ‘घरदेखि पारि जङ्गलमा बाख्रा चराउने क्रममा एक्कासि गाउँमा धुवाँसहित आगोको मुस्लो देखेपछि दौडिएर आउँदा घर पूरै जलिरहेको अवस्थामा देखेँ, आफूलाई कतै सपनाबाट ब्युँझिएछु जस्तो लाग्यो, आँखैले देख्दा–देख्दै घर सबै डढेर सकियो, शरीरमा लगाएको एकसरो लुगाबाहेक साथमा केही छैन’, उनले दुखेसो पोखिन् ।

परिवारका सदस्य जङ्गलतिर बाख्रा चराउन गएको हुँदा मानवीय क्षति हुन भने पाएन । घरमा सल्केको आगो स्थानीय र प्रहरीले निभाउने प्रयास गरे पनि निभाउन नसकेपछि दलबहादुरको घरबाट सल्केको आगो छिमेकी ऐतराम साठी घरे, भिमीसरा साठी घरे र लोकबहादुर साठीघरेको घरमा लागेर ध्वस्त भएको छ । मंगलबार अपराह्न करिब ३ बजेको समयमा आगो गाउँमा लाग्न थालेको स्थानीयवासीले बताएका छन् ।

मधुकोटका दलबहादुर साठी घरे, ऐतराम साठी घरे र भिमिसरा साठीघरेको तीन तले जस्तापाताले छाएको घर तथा लोकबहादुर साठीघरेको घर (खरले छाएको दुई तले) पूर्ण रूपमा जलेर नष्ट भएको छ । स्थानीयवासीका अनुसार सात बाख्रा र एक बङ्गुर मरेका छन् । घर जलेर विस्थापित परिवारमध्ये केही परिवारलाई आफन्त कहाँ र केही अहिले गाउँमै रहेको सिद्ध प्राथमिक विद्यालय, स्थानीय आमा समूहको भवनमा सुरक्षित साथ राखिएको वडाध्यक्ष डिलबहादुर रानाले जानकारी दिए । चारैतिर जंगल बीचमा बस्ती भएकाले आगो नियन्त्रणमा ल्याउन कठिनाइ थियो । स्थानीय, प्रहरी र नेपाली सेनाको टोलीको अथक प्रयासले लामो समयपश्चात् गए राति ९ बजे गाउँमा लागेको आगो नियन्त्रणमा आएको हो । जङ्गलमा लागेको आगो भने अझै पनि नियन्त्रणमा आउन सकेको छैन ।

दुःखले बनाएको घर बस्नै नमिल्ने गरी डढेर सखापै बनाएपछि परिवारको बिचल्ली भएको ६९ वर्षीय ऐतुराम बताउछन् । उनको हाल चार जनाको परिवार बसोबास गरिरहेको तीन तले जस्तापाताले छाएको घर पूरै क्षति भएको छ । उनी भन्छन्, ‘छिमेकी दलबहादुरको घरसँगै जोडिएकाले आगोबाट बचाउन सकिएन, घरमा भएका अन्नपात, लत्ताकपडा, सरसामान डढेर खरानी भएको छ, बुहारी नातिनातिना लिएर कसरी कहाँ बसेर जीवन बिताउने हो ? हामीलाई स्थानीय सरकारबाट गाँसबासको व्यवस्था मिलाइदिनुपर्यो ।’

क्षतिको विस्तृत विवरण सङ्कलन गरेर पीडित परिवारलाई नगरपालिका कार्यालयबाट आवश्यक सहयोग गरिने नगर प्रमुख रमणबहादुर थापाले बताए । ‘नगरपालिकाको दुर्गम ठाउँ चारैतिर जङ्गलको बीचमा बस्ती छ, एक्कासि आगो लागेपछि गाउँमा ठूलो क्षति पुगेको छ, दिउँसोको समय भएकाले मानवीय क्षति हुनबाट जोगियो, घटनाको अवस्था हेर्दा विकराल छ, नगरपालिका कार्यालयबाट पीडित परिवारलाई आवश्यक सहयोग गर्नेछौँ’, नगर प्रमुख थापाले भने ।

जङ्गलमा आगो कसले लगायो भन्नेबारे खुलेको छैन । सोका बारेमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । मधुकोट गाउँमा अहिले करिब १६ घरपरिवारको बसोबास छ । खडेरीयाम भएकाले पनि आगो लाग्ने बित्तिकै निभाउन पानी पर्याप्त नहुँदा समस्या परेको आगो नियन्त्रणमा जुटेका स्थानीयले बताएका छन् । अग्नि पीडितलाई लायन्स क्लब अफ रामपुरले खाद्यान्न सामग्री बुधवार पीडितलाई वितरण गरेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ३ : ४४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित