वर्ष २०७९ : प्रणालीमा बिजुली थप हुने क्रममा वृद्धि « Khabarhub

वर्ष २०७९ : प्रणालीमा बिजुली थप हुने क्रममा वृद्धि


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आर्थिक समृद्धिको आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सरकार र निजी क्षेत्रले काँधमा काँध मिलाउँदै कामलाई गति दिएका कारण सकारात्मक नतिजा निस्कन थालेको छ । वर्ष, २०७९ हालै हामीबाट बिदा भएको छ । वर्षदिनभरीमा मुलुकको प्रणालीमा झण्डै पाँच सय मेगावाट बिजुली थप भएको छ । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रणालीमा बिजुली थप हुने क्रम क्रमशः वृद्धि भएको छ । यही अवस्था कायम रहे आगामी असार मसान्तसम्म मुलुकको कूल जडित क्षमता करिब तीन हजार मेगावाट बराबर पुग्नेछ । 

आन्तरिक खपतमा वृद्धि गर्दै ऊर्जा निर्यातमार्फत आर्थिक उपार्जन गर्न सरकारले प्रभावकारी पहल गरिरहेको छ । प्राधिकरणका अनुसार हालसम्म दुई हजार छ सय ८९ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिइसकेको छ । आगामी असारसम्म थप १५ आयोजना निर्माण सम्पन्न हुनेछ ।

 त्यसमा प्राधिकरणका सहायक कम्पनीले निर्माण गरेका आयोजना समेत छन् । सो वर्षभरी नै कूल १९ वटा आयोजना पूर्ण रुपमा सञ्चालनमा आए । त्यस्तै, नौ वटा आयोजना परीक्षणको अन्तिम चरणमा पुगेका छन् ।

 ती आयोजनाको बिजुली समेत प्रणालीमा जोडिसकेको छ । यो वर्ष प्रणालीमा जोडिएको जलविद्युत् परियोजनामध्ये निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा ठूलो आयोजना हो सोलुखोला दूधकोशी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको आयोजना साहस ऊर्जाले निर्माण गरेको हो । सो आयोजनाले गत फागुन १७ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो । 

प्रणालीमा जलविद्युत् आयोजनाका अलावा सौर्य परियोजनासमेत जोडिएका छन् । गतवर्ष चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीलगायतका आयोजना प्रणालीमा जोडिँदा त्यसले मुलुकको ऊर्जा क्षेत्रमा नै रणनीतिक परिवर्तन गरिदिएको थियो । 

वर्षायाममा पूर्णरुपमा बिजुलीमा आत्मनिर्भर बनेको मुलुक क्रमशः हिउँदमा समेत सहज अवस्थामा पुग्न लागेको छ । निर्माणका क्रममा रहेका तीन हजार दुई सय ८० मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा छन् । 

ती सबै आयोजना निर्माण सम्पन्न हुँदा प्रणालीमा झण्डै सात हजार मेगावाट बराबर बिजुली पुग्नेछ । प्राधिकरणले आगामी वर्षायाममा झण्डै एक हजार दुई सय मेगावाट बराबरको बिजुली बिक्रीका लागि तयारी गरिरहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)का अनुसार निजी क्षेत्रले प्रवर्द्धन गरेका केही आयोजना हाल परीक्षण उत्पादनको क्रममा छन् ।

ती आयोजनाले प्राधिकरणका कर्मचारीको उपस्थितिमा १५ दिन परीक्षण उत्पादन गरेपछि व्यावसायिक उत्पादन सुरु गर्नेछन् । बेनी हाइड्रोपावरले प्रवद्र्धन गरेको माथिल्लो सोलु खोला जलविद्युत् आयोजनाको परीक्षण अन्तिम चरणमा छ । 

कम्पनीका प्रबन्ध निर्देशक गणेश कार्कीका अनुसार आयोजनाको बिजुली प्रणालीमा जोडिइसकेको र केही दिनभित्रैमा व्यावसायिक उत्पादन सुरु हुनेछ । माथिल्लो सोलु १९ दशमलव आठ मेगावाट क्षमताको आयोजना हो । 

प्राधिकरणका अनुसार सङ्खुवासभाको माया खोला १४ दशमलब नौ मेगावाट क्षमताको आयोजनाले परीक्षण उत्पादन सम्पन्न गरी व्यावसायिक उत्पादन सुरु गर्दैछ । यस्तै रुकुमको रुकुमगाड पाँच मेगावाट, सिन्धुपाल्चोकको घट्टेखोला झण्डै एक मेगावाट पनि व्यावसायिक उत्पादन थाल्दैछ । लमजुङको सुपर दोर्दी ‘ख’ ५४ मेगावाट, नवलपरासीको सौर्य परियोजना दुई मेगावाट पनि प्रणालीमा जोडिसकेको छ ।

 त्यस्तै, मोरङको छ दशमलब आठ मेगावाट र बाँकेमा आयोजनास्थल रहेको १० मेगावाट क्षमताको सौर्य परियोजनाको बिजुली पनि प्रणालीमा जोडिएको छ । परीक्षण उत्पादन भइरहेको अधिकांश आयोजनाबाट बिजुली प्रणालीमा आइरहेकाले प्राधिकरणलाई बिजुली व्यवस्थापनमा सहज भइरहेको छ । 

प्राधिकरणका अनुसार १० मेगावाट क्षमताको मकरीगाड आयोजनाले पनि यसैवर्ष व्यावसायिक उत्पादन सुरु गरेको हो । दार्चुलामा आयोजनास्थल रहेको सो आयोजनाले सुदूरपश्चिम प्रदेशको बिजुली व्यवस्थापनमा सहयोग पुगेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षको अन्त्यसम्म रसुवागढी, साञ्जेन र मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्न सम्वद्ध निर्माण व्यवसायीलाई यसअघि नै निर्देशन दिइसकेका छन् ।

ती आयोजना सार्वजनिक–निजी साझेदारीमा निर्माण भइरहेका छन् । कूल एक सय ११ मेगावाट क्षमताको रसुवागढी, माथिल्लो र तल्लो साञ्जेन ५७ मेगावाट र एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा जोडिएपछि त्यसले थप सकारात्मक प्रभाव पार्नेछ । 

वर्ष २०७९ मा प्राधिकरणले चार सय २५ मेगावाट बराबरको बिजुली भारत निर्यात गरेको थियो । प्राधिकरणले बिजुली निर्यातबाट मात्रै चालु आवमा रु आठ अर्ब ४४ करोड बराबरको आम्दानी गरेको छ । यसवर्ष बर्खामा बढी हुने एक हजार दुई सय मेगावाट बिजुली निर्यात गर्ने तयारी भइरहेको छ । 

यस्तै, वर्ष २०७९ मा भारतसँग ऊर्जा व्यापारका लागि महत्वपूर्ण संवाद भएको थियो । बङ्गलादेशमा पनि प्रारम्भिक रुपमा ५० मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भएको छ । न्यू बुटवल गोरखपुर चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणको प्रक्रिया अगाडि बढेको छ । 

त्यस्तै, सरकारले एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि कम्पनी दर्ता गरेर प्रक्रिया अगाडि बढाएको छ । केही ठूला आयोजना निर्माणका लागि भारतीय कम्पनीले चासो देखाएका छन् । कूल सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती र चार सय ५० मेगावाट क्षमताको सेती नदी– ६ आयोजनामा भारतीय कम्पनी एनएचपीसीले निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा क्षेत्रमा क्रमशः वैदेशिक लगानी आकर्षित भइरहेको छ । 

यस्तै, आन्तरिक रुपमा स्वदेशी लगानीकर्ताले नै एक हजार पाँच सय ५३ मेगावाट बराबरका आयोजना निर्माणमा लेजाने तयारी गरिरहेको इपानका कार्यकारी सदस्य प्रकाश दुलालको भनाइ छ । निर्माणधीन र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको कूल क्षमता मात्रै चार हजार आठ सय ३४ मेगावाट बराबर छ । 

त्यस्तै, झण्डै ९६ दशमलव पाँच प्रतिशत घरधुरीमा बिजुली पुगेको छ । यस आधारमा हेर्दा गत वर्ष नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि महत्वपूर्ण वर्षको परिचय बनाएर हामीबाट बिदा भएको छ । 

–रमेश लम्साल रासस

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  २ : ३० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित