अब नमूना सहर बुर्तिबाङमा व्यवस्थित बसपार्क निर्माण सुरु « Khabarhub

अब नमूना सहर बुर्तिबाङमा व्यवस्थित बसपार्क निर्माण सुरु


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – डेढ दशक अगाडि बुर्तिबाङ बजार सडकले जोडियो । सडकले जोडिएपछि बुर्तिबाङसँगै पश्चिम बागलुङको मुहार फेरियो तर बसपार्क अभावमा अहिलेसम्म यो क्षेत्रले सास्ती भोग्दै आएको छ । मध्यपहाडी लोकमार्ग छेउमै पर्ने यो बजार देशकै दश नमूना सहरमा पर्छ । सरकारले नमूना सहर निर्माण गर्न थालेको वर्षौं बितिसक्दा पनि बुर्तिबाङ बजारमा एउटा गतिलो बसपार्क बन्न सकेको थिएन । यही वर्षदेखि बुर्तिबाङ बजार नजिकै खप्तरीबाङमा बसपार्क निर्माण सुरु भएको छ ।

बढ्दो सहरीकरण र साँघुरो बसपार्कका कारण यातायातका साधन सडकमै पार्किङ गर्नुपर्ने स्थिति छ । जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको बुर्तिबाङ बजार निसी, भुजी र तमानको सङ्गमस्थल हो । ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङमा अहिले पनि साँघुरो बसपार्क छ । जहाँ १०/१५ वटाभन्दा बढी गाडी रोक्न मिल्दैन । चालकले जथाभावी रुपमा गाडी रोक्दा बजारनै अस्तव्यस्त बन्छ । अझ व्यवसायीले सडक पेटीमै सामान राख्दा पदैल यात्रुलाई झनै समस्या भएको छ ।

नयाँ सहर आयोजना कार्यालयले ढोरपाटन नगरपालिका–१ खप्तरीबाङमा जग्गा खरिद गरी बसपार्क निर्माण थालेपछि बजार क्षेत्रमा यातायात व्यवस्थापन सहज हुने अपेक्षा लिइएको छ । विसं २०६८ देखि सुरु भएको नयाँ सहर आयोजनाले जग्गा व्यवस्थापन गर्न ढिलाइ गर्दा बसपार्क निर्माण हुन सकेको थिएन । विसं २०८० असार १५ गतेसम्म बसपार्क निर्माण सम्पन्न गर्ने गत कात्तिक ७ गते आयोजनाको ठेक्का सम्झौता भएको नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङका निमित्त प्रमुख अभिषेक अधिकारीले जानकारी दिए । बसपार्क निर्माणको जिम्मा गोरखनाथ कन्स्ट्रक्सन एण्ड मरचेन्टाइजर प्रालिले पाएको छ । कम्पनीले निर्माण कार्यलाई तीव्रता दिएको अधिकारीको भनाई छ ।

मध्यपहाडी लोकमार्गको छेउमै रहेको भुजीखोला किनारमा तटबन्धन गरी बसपार्क निर्माण थालिएको उनले बताए । विसं २०७५ सालमा छ रोपनी जग्गा खरिद गरेको र विभिन्न प्रक्रिया पूरा गरेर अहिले बसपार्क बनाउन थालिएको निमित्त प्रमुख अधिकारीले सुनाए । निर्माण कम्पनीले अहिले टर्मिनल भवन निर्माण गरिरहेको भन्दै यहाँ बन्ने बसपार्कमा ३० जीप, २० बस र स–साना दर्जनौँ सवारी साधान अट्ने उनको भनाइ छ । टर्मिनल भवन तीन तलाको हुनेछ ।

बसपार्क दुई करोड २६ लाख ४० हजार चार सय ३१ मा बन्नेछ । बसपार्क निर्माण भएपछि बुर्तिबाङ बजारको सौन्दर्यमा थप टेवा पुग्ने स्थानीय तुलबहादुर क्षेत्रीले उल्लेख गरे । “बुर्तिबाङ बजार निकै साँघुरो छ, साँघुरो भए पनि सुन्दर छ, तर यहाँको सुन्दरतालाई अव्यवस्थित व्यवस्थापनले कुरुप बनेको छ, न सडक सफा छ, अहिले भएको बसपार्कको हालत निकै खराब छ”, क्षेत्रीले भने, “गाडी यति धेरै छन्, कहाँ पार्किङ गर्ने, यात्रु कताबाट हिँड्ने अब खप्तरीबाङ बसपार्क बन्यो भने बजार क्षेत्र अहिलेको जस्तो अस्तव्यस्त हुने छैन ।”

सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वार रहेको बुर्तिबाङ बजारमा दैनिक सयौँ आन्तरिक पर्यटक आउँछन् । वडाअध्यक्ष बानबहादुर छन्त्यालले पछिल्लो समय बजार क्षेत्रमा अव्यवस्थित पार्किले गर्दा विभिन्न समस्या उत्पन्न हुने गरेको भन्दै अब बजार व्यवस्थापनमा सहज हुने बताए । एक दशक अगाडिसम्म बुर्तिबाङ बजारमा घर भवन निकै कम भएको भन्दै अहिले खाली ठाउँ नभएको उनी बताउँछन् । “मानिस र सवारी साधानको चाप बढेपछि यहाँ बसपार्कको आवश्यकता परेको हो”, अध्यक्ष छन्त्यालले भने, “ अब धेरै समय समस्या खेप्नुपर्ने छैन, असारसम्म काम सक्ने भन्ने छ, बसपार्क सञ्चालनमा आयो भने बजारको सौन्दर्यकरणमा पनि परिवर्तन आउने छ ।”

लोकमार्ग कालोपत्रे भएपछि बुर्तिबाङ बजारमा यातायातको चाप बढेको हो । अहिले मध्यपहाडी लोकमार्गले रोल्पा र रुकुम जोडिएपछि ती दुई जिल्लाबाट किनमेल गर्ने मुख्य बजार बुर्तिबाङ बनेको छ । यहाँबाट हरेक दिन दजनौँ गाडीहरु देशका ठूला सहर काठमाडौँ, पोखरा, बुटवललगायतका ठाउँ र पश्मिच बागलुङका ग्रामीण क्षेत्रमा पुग्ने गर्छन् । नयाँ बसपार्क सञ्चालनमा आएपछि बुर्तिबाङ बजारस्थित पुरानो बसपार्क विभिन्न कार्यक्रमका लागि प्रयोग हुनेछ ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ८ : ५७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित