नयाँ प्रविधिमा आधारित ओखर खेती « Khabarhub

नयाँ प्रविधिमा आधारित ओखर खेती


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट – बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै स्थानीय किसानलाई प्रोत्साहन गर्न  नवप्रवर्द्धन कोषमार्फत चालु आर्थिक वर्षदेखि ओखर खेती थालेको छ। नयाँ प्रविधिमा आधारित ओखर खेतीका लागि गलकोट यस वर्ष छनोटमा परेर ओखर लगाइएको छ।

गण्डकीमा उक्त कोषमार्फत गलकोटसहित तीन पालिकामा यो कार्यक्रम लागू भएको छ । जनताको आर्थिक विकासमा टेवा पुर्‍याउने र बाँझो जग्गालाई सदुपयोग गर्ने नीतिका साथ सङ्घीय सरकार र गलकोट नगरपालिकाको साझेदारीमा ओखर खेती थालिएको हो । चालु आर्थिक वर्षमा रु दुई करोड २० लाखको लागतमा छ सय २५ रोपनी जग्गामा १० हजार ओखरका बिरुवा लगाउने योजनाअनुसार काम भइरहेको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।

“यो हाम्रो नयाँ कार्यक्रम हो, ओखर खेतीमा चालु आर्थिक वर्षमा रु दुई करोड र चार आर्थिक वर्षमा रु दुई करोड गरी चार करोड खर्च हुनेछ, यहाँका किसान उत्साहित भएका छन्, दुदीलाभाटी, डाँडाखेत र रमुवामा खेती लगाउने काम अन्तिम चरणमा पुगेको छ”, नगर प्रमुख गैरेले भने, मापदण्डअनुसारको खाल्टो तयार र आवश्यक सिँचाइको सुविधा भइसकेको र बिरुवासमेत टर्कीबाट आयात गरेर वितरण भइरहेको छ, बाँझो जग्गा सदुपयोग मात्रै हैन त्यहाँका किसानले महँगो मूल्यमा ओखर बिक्री गर्ने लक्ष्य राख्नुभएको छ ।”

यस वर्ष रु दुई करोड २० लाख लागतमा खाडल तयार, बिरुवा खरिद र सिँचाइ सुविधाका लागि पूर्वाधार निर्माण हुनेछ भने चार आर्थिक वर्षमा पुनः रु दुई लाख खर्च गरी ओखर उत्पादनको चरणमा पुगेपछि स्थानीयलाई नगरपालिकाले हस्तान्तरण गरिने गलकोट नगरपालिकाको कृषि शाखाले जानकारी दिएको छ ।

नगरपालिकाले प्रविधिमा आधारित नयाँ खेती गर्न अध्ययन गर्दा बाँझो जग्गा सदुपयोगसमेत हुने गरी ओखर खेतीका लागि गरिएको प्रस्ताव स्वीकृत भएर अहिले कार्यान्वयनमा ल्याइएको कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले बताए । चालु आर्थिक वर्षमा रु एक करोड ४० लाख सङ्घीय सरकार, गलकोट नगरपालिकाको रु ६० लाख र किसानको रु २० लाख सहकार्य हुने सुवेदीले सुनाए ।

नगरपालिकाको एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटर उचाइको जग्गामा १० हजार बिरुवा लगाइनेछ । अहिले १० हजार खाल्टो तयारी भएर मलसमेत राखिसकिएको छ ।

दुदिलाभाटीको पात्लेखर्क, डाँडाखेतदेखि निलुवा, पाण्डवखानीको रमुवामा छ सय २५ रोपनी जग्गामा १० हजार ओखरका बिरुवा लगाइनेछ । “छ सय २५ रोपनी जग्गामध्ये पाँच सय रोपनी जग्गा बाँझो रहेको अध्ययनको क्रममा पाइएको छ, बाँझो जग्गा सदुपयोग हुने र किसानको आर्थिक विकासका लागि ओखर खेती हुने सम्भावना देखिएपछि अहिले धमाधम काम भइरहेको छ”, कृषि शाखा प्रमुख सुवेदीले भने, “वडामै कृषक समूह गठन गरेर काम भइरहेको छ, त्यहाँका किसान उत्साहित बनेर काम गरिराख्नुभएको छ, बिरुवा टर्कीबाट ल्याएर लगाउने काम धमाधम भइरहेको छ, एक महिनाभित्रै बिरुवा लगाउनेछौँ ।”

सुवेदीका अनुसार लगाइएको बिरुवाको हेरचाह, प्राविधिक सहयोग र सिँचाइ सुविधाका लागि नगरपालिकाले लगातार चार वर्षसम्म रु दुई करोड २० लाख नै खर्च गर्नेछ । वडा नम्बर १ दुदीलाभाटीमा चार हजार चार सय बिरुवा, वडा नम्बर ४ मा दुई हजार छ सय र वडा नम्बर १० तीन हजार ओखरका बिरुवा लगाइने छ । जिल्लामा पहिलो पटक गलकोटमा ओखर खेती गर्न थालिएको हो ।

सिँचाइको समेत काम भइरहेको छ जसका लागि प्लाष्टिक पोखरी निर्माण र पाइप जडान भइसकेको छ । झाडी र बुट्यान भएको बाँझो जग्गामा किसानले ओखर खेतीका लागि छ महिनाअघिदेखि तयारी थालेका थिए ।

ओखर खेतीले पाँच वर्षपछि फल दिन थाल्ने र कार्यविधि बनाएर किसानलाई उक्त ओखर खेती हस्तान्तरण गरिनेछ । ओखर खेतीले नौ वर्षमा लगानी उठाउन सक्ने गरी अध्ययन भएको थियो ।

किसानले बाँझो जग्गा तयार गरेपछि नगरपालिकाको लगानीमा बिरुवा वितरण भएर अहिले लगाउने काम भइरहेको दुदिलाभाटी व्यावसायिक ओखर समूहका अध्यक्ष मीनबहादुर मगरले जानकारी दिए । “यहाँ धेरै जग्गा बाँझो छ किसानलाई समूहमा आबद्ध बनाएर बाँझो जग्गाको सदुपयोग गर्नसमेत ओखर खेती प्रभावकारी भइरहेको छ”, मगरले भने ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ७ : १९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित