मध्य भोटेकोसीको निर्माण प्रगति ९५ प्रतिशत « Khabarhub

मध्य भोटेकोसीको निर्माण प्रगति ९५ प्रतिशत


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । अन्तिम चरणका कामहरु भइरहेको आयोजनाको निर्माण आगामी असारभित्र सक्ने लक्ष्य राखिएको छ । 

आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना (हेडवक्र्स)को निर्माण सम्पन्न भएको छ । हाल हेडवक्र्स क्षेत्रको प्रोटेक्सन कार्य भइरहेको छ । ७.२ किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी कंक्रिट लाइनिङको काम भइरहेको छ । विद्युतगृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्वान, जेनेरेटर, नियन्त्रण कक्षका उपकरणहरू जडान भइरहेको छ । विद्युतगृहबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर २२० केभी प्रसारण लाइनका टावरहरू निर्माण सम्पन्न भएको छ । तार तान्न बाँकी रहेको छ । 

२०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी महाभूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, २०७७ असारमा निर्माणस्थल भोटेकोसी नदी एवं आसपासको क्षेत्रमा आएको बाढी-पहिरो र कोभिड-१९को महामारीको चपेटामा आयोजना परेको थियो । 

प्राकृतिक विपत्ति र सिभिल एण्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको थियो । तर, करिब दुई वर्षको अवधिमा ठेकेदार कम्पनीले उत्साहजनक रुपमा काम गरी आयोजनालाई निर्माण सम्पन्न हुने अवस्थामा पुर्‍याएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 

कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजनाको प्रवर्द्धक मध्य भोटेकोसी जलविद्युत् कम्पनीका अध्यक्ष सुभाष कुमार मिश्र, प्रमुख कार्यकारी अधिकृत (सिईओ) रामगोपाल सिवाकोटीसहितको टोलीले निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको छ । 

टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनीहरू र परामर्शदातासँग छलफल गरी ४ महिनाभित्र सम्पन्न गर्ने गरी बाँकी रहेका कामलाई तीव्रता दिन निर्देशन दिएको छ । कार्यकारी निर्देशक घिसिङले प्राकृतिक प्रकोपको चपेटामा परेर करिब करिब बन्द अवस्थामा पुगिसकेको आयोजनाको हालको निर्माण प्रगति सन्तोषजनक देखिएको बताए ।

कम्पनीका सिइओ सिवाकोटीले ठेकेदार कम्पनीको कार्यसम्पादनमा सुधार आएकाले आगामी असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखी सोहीबमोजिम एकीकृत तालिका बनाएर काम भइरहेको बताए । ठेकेदार कम्पनीका प्रतिनिधिहरूले कुनै समस्या नआएमा तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने काम गरिरहेको बताएका थिए । 

आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो । इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिज हाइड्रोले गरिरहेको छ ।

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो ।  आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ।१५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ रहेको छ । निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ । 

कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरुमध्येमा प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कं. लि.को १, नेपाल अरनिको हाइड्रोपावर कम्पनी लि.को १, सिन्धु इन्भेष्टमेण्ट कम्पनी प्रा.लि.को १ र सिन्धु भोटेकोशी हाइड्रोपावर लि.को १ प्रतिशत सेयर रहेको छ । 

४९ प्रतिशत साधारण शेयरधनी समुहमा(कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५,ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीको १० र सर्वसाधारणको १५ प्रतिशत सेयर) रहेका छन् । कम्पनीले  साधारण सेयर निश्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरू १० लाख ७५ हजार छन् । 

आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुनेछ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १ : ४२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित