‘बर्की एकादशी’को मुख्य दिन आज, दनुवार समुदायले विशेषरुपमा मनाउँदै « Khabarhub

‘बर्की एकादशी’को मुख्य दिन आज, दनुवार समुदायले विशेषरुपमा मनाउँदै


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – आदिवासी दनुवार समुदायले मनाउने ‘बर्की एकादशी’ बिहीबारदेखि सुरु भएको छ। यो पर्व दनुवार समुदायको बाहुल्य रहेको कमला खोँच क्षेत्रमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ।

पर्वको पहिलो दिन पराम्पराअनुसार किशोरी तथा महिलाहरू आआफ्नो टोलको मुखिया अधिकारीको घरमा भेला भएर नदीमा नुहाउन गएका थिए। नदीबाट अम्खोरामा जल लिएर सिधै दिवारमा पुगे। त्यहाँ पाँच फन्का घुम्दै जल चढाए। अगरबत्ती जलाए। नरिवल, छकडा, मिस्री प्रसादका रूपमा चढाए। अम्खोरा शीरमा बोकी लाइनमा घर फर्किए।

गोष्ठा ‘मुखिया अधिकारी’ घरमा रितिअनुसारको विधि गरेर व्रत प्रारम्भ गरिएको दुधौली नगरपालिका–३ खुट्टेपानीकी सविना अधिकारी दनुवारले जानकारी दिए। समूहमा नदीमा नुहाई शुद्ध वस्त्र पहिरिएर पवित्र भई देवारमा पूजा गरिएको उनले बताए। उनका अनुसार एकादशी व्रत गर्नेले आज साँझमा एक छाक साकाहारी भोजन गर्छन्। सब्जीमा तोरीको साग खाने चलन रहेको उनको भनाइ छ।

पर्वको द्रोस्रो दिन अर्थात् पर्वको मुख्य दिन अघिल्लो दिनको विधि पुनः दोहोर्‍याइन्छ। देवारमा पूजा गरेर घर फर्किंदा बाटोमा भेटिएकालाई प्रसाद बाँड्दै हिँड्ने चलन छ। यस दिन बर्तालुहरु घरमा भेटिँदैनन्। रिना अधिकारी दनुवारले भनिन्, “यो दिन आफन्त, चिनेका साथीहरूको घरमा पुगेर नरिवल, छकडा, चक्लेट, मिस्री दिने चलन छ।”

यसदिन जथाभावी बस्न नहुने र बसिहाल्न परेमा मुखिया अधिकारीले दिएको चामलले भूमिको पूजा गरेर मात्र बस्नुपर्ने रीतिथिति रहेको उनले बताइन्। उनका अनुसार यस दिन दिनभर निराहार रातभर जाग्राम बस्ने पराम्परा छ।

पर्वको तेस्रो अर्थात अन्तिम दिन नुहाई अमला वा ल्वाङ, सुकुमेल टोकेर नदीमा फालिन्छ। यसलाई पारन गरेको भन्ने चलन छ। त्यसपछि बर्तालुहरु घर फर्किन्छन्। दाइ वा भाइले एकादशी गरेको हो ? भनेर पाँच पटक सोध्छन्। बर्तालुले विधिवत्रूपमा व्रत सम्पन्न गरेको हूँ भनेपछि मात्र दही चिउरा खाने चलन रहेको उनले बताइन्। अन्य खानेकुरा तथा अन्न यसको भोलिपल्ट मात्र खान हुने बर्तालुहरु बताउँछन्।

यसरी विधिपूर्वक व्रत बसेमा आफू र परिवारलाई सुख, शान्ति मिल्ने जनविश्वास रहेको दनुवार समुदायकी अगुवा मुसो अधिकारी दनुवारले बताइन्। “बर्की एकादशी दनुवार जातिले महत्वका साथ मनाउँछन्। विधिपूर्वक कठोर व्रत बस्छन्। यसो गर्दा सबैलाई शान्ति मिल्ने विश्वास गरिन्छ”, उनले भनिन्। यस पर्वको अवसरमा दुधौली नगरपालिकाले बर्सेनि एक दिन बिदासमेत दिँदै आएको छ। यस वर्ष पनि पर्वको मुख्य दिन कात्तिक १८ गते सार्वजनिक बिदा दिइएको नगरप्रमुख दिनेशकुमार अधिकारी दनुवारले जानकारी दिए।

नगरपालिकामा दनुवार समुदायको बाहुल्य रहेको र यो जातिले बर्की एकादशी मुख्य पर्वको रूपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइने गरिएको उनको भनाइ छ। ‘स्थानीय सरकारले पनि सार्वजनिक बिदा दिन पाउने प्रावधानअनुसार बिदा दिएका हौँ”, उनले भने। यसैको अवसरमा दनुवार जागरण समिति, सिन्धुलीले शुक्रबार दनुवार सांस्कृतिक महोत्सवको आयोजना गर्दैछ। दनुवार समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले बर्की एकादशी तथा चौथो दनुवार सांस्कृतिक महोत्सवको आयोजना गरिएको अध्यक्ष नारायण अधिकारी दनुवारले बताए।

उनका अनुसार महोत्सवमा विशेष झाँकीका साथमा बर्की नाच प्रदर्शन गरिने छ। साथै दनुवार समुदायको वेशभूषामा बर्तालु महिलाद्वारा र्‍याली प्रर्दशनलगायत स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने छ।

नेपालमै पहिलो पटक विसं २०७५ मा दुनपा–६ पर्साहमा दनुवार जागरण समिति सिन्धुलीले पहिलो महोत्सव सञ्चालन गरेको थियो। कोभिड कहरका कारण एक वर्ष रोकिएको यस प्रकारको कार्यक्रमलाई यस वर्षदेखि पुनः निरन्तरता दिइएको आयोजकले जनाएको छ। अति सीमान्तकृत दनुवार जातिको मौलिक कला, संस्कृति, संस्कारको संरक्षण र सम्वद्र्धनका लागि बर्सेनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइन खोजिएको अध्यक्ष नारायणले बताए।

कार्यक्रम आयोजनाको गर्नका लागि दुधौली नगरपालिकाको कार्यालयसँग आवश्यक बजेटको माग गरिएको पनि उनले बताए। नगरप्रमुख दिनेशकुमार अधिकारी दनुवार जातिको वास्तविक संस्कार, पराम्परा डिजे बाजाको कारण लोप हुँदै गएकोमा चिन्तित छन्। सरकारी बजेट डिजेबाजा बजाएर उफ्रिनलाई नदिइने उनले बताए।

“दनुवार जातिको संस्कार, संस्कृति, पराम्परा झल्किने तथा दनुवारको पहिचान बचाउने खालका कार्यक्रमभन्दा पनि डिजेबाजा बजाएर उफ्रिने संस्कारको विकास बढ्दै गएको छ। यसले जातीय रुपमा राम्रो सन्देश पनि जाँदैन”, उनले भने, “दनुवार जातिको सबैभन्दा लोकप्रिय पर्व बर्की एकादशीको अवसरमा सोही समुदायको वास्तविक यथार्थ झल्काउने, सांस्कृतिक पहिचान बचाउने तथा प्रवद्र्धन गर्ने खालका कार्यक्रम आयोजकले गरेमा थोर, बहुत सम्बोधन हुन्छ।”

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : ४३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित